images
images
  • जेनजी आन्दोलन : रवि लामिछानेसँगै जेलब्रेक गरेका ३ हजार ५५६ कैदी–बन्दी अझै फरार

    काठमाडौं– जेनजी आन्दोलनका क्रममा रास्वपा सभापति रवि लामिछानेसँगै २०८२ भदौ २४ गते देशभरका कारागार तथा बाल सुधारगृहबाट भागेका ३ हजार ५५६ कैदीबन्दी र थुनुवा अझै सम्पर्कविहीन छन् ।

    कारागार व्यवस्थापन विभागको गत साउनसम्मको तथ्यांकअनुसार त्यस दिन कारागारबाट १३ हजार ५८५ जना भागेकामा १० हजार २९ जना पक्राउ परेका वा कारागार फर्किएका छन् ।

    बाल सुधारगृहबाट भागेका ९४८ मध्ये ७०६ जना मात्रै फर्किएका छन् ।

    कारागारबाट भाग्नेमा १२ हजार ७६० नेपाली र ८२५ विदेशी नागरिक थिए ।

    विदेशीमध्ये २२० जना मात्रै पक्राउ परेका छन् ।

    सबैभन्दा धेरै सुनसरीको झुम्का कारागारबाट १ हजार ७३३ जना भागेका थिए ।

    त्यसमध्ये १ हजार ३८२ जना फर्किएका छन् ।

    ललितपुरको नख्खु कारागारबाट भागेका १ हजार १९३ मध्ये ९२१ जना मात्रै फर्किएका छन् ।

    फरारमध्ये केही पुनः अपराधमा संलग्न भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    हत्या, बलात्कार प्रयास, चोरी तथा लुटपाटलगायत घटनामा संलग्न केही व्यक्तिलाई प्रहरीले पछिल्लो एक वर्षमा पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार फरार कैदीबन्दीको विवरण देशभरका प्रहरी कार्यालयमा पठाएर खोजी जारी राखिएको छ ।

    प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा खोजी तथा पक्राउ कार्यदलसमेत गठन गरिएको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

    जेनजी आन्दोलनका क्रममा कारागारमा आगजनी, तोडफोड र प्रदर्शन भएपछि प्रशासनले नियन्त्रण गुमाउँदा देशभरबाट ठूलो संख्यामा कैदीबन्दी बाहिरिएका थिए ।

    त्यसको एक वर्ष बितिसक्दा पनि हजारौँ कैदीबन्दी कारागारबाहिरै छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images