images
images
  • बाढी प्रभावित क्षेत्रमा हैजाविरुद्धको खोप अभियान तीव्र, ५९ हजारभन्दा बढीलाई खोप

    काठमाडौं – बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट खुवाइने हैजाविरुद्धको खोप अभियान तीव्र बनाइएको छ ।

    स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा हालसम्म ५९ हजार ७३२ जनाले हैजाविरुद्धको खोप पाएका छन् ।

    प्रतिवेदनअनुसार रसुवामा १५ हजार ८१२ र नुवाकोटमा ४३ हजार ९२० जनालाई हैजाविरुद्धको खोप दिइएको छ

    रसुवाका गोसाइँकुण्ड, उत्तरगया, आमाछोदिङ्मो र कालिका गाउँपालिकामा तथा नुवाकोटका विदुर, बेलकोटगढी, किस्पाङ र तारकेश्वर गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ ।

    बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी, उद्धारकर्मी तथा घाइतेलाई टिटानस–डिफ्थेरिया खोप पनि दिइएको छ । रसुवाका चार स्थानीय तहमा ८२१ जना र नुवाकोटको विदुर नगरपालिकामा ११३ जनाले उक्त खोप लगाएका छन् ।

    बाढीपछि दादुराको आशङ्कामा आठ वटा विवरण प्राप्त भएकामा सात नमुनाको परीक्षण नकारात्मक आएको छ । एउटा नमुनाको परीक्षण नतिजा आउन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ। तीमध्ये रसुवाका छ र नुवाकोटका दुई नमुना रहेका छन् ।

    परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमका अनुसार बाढी प्रभावित क्षेत्रमा नियमित खोप सेवा, रोग निगरानी र हैजा नियन्त्रण अभियानलाई एकसाथ अघि बढाइएको छ ।

    उनका अनुसार रसुवा र नुवाकोटमा दादुराविरुद्धको एमआर खोप अभियान सञ्चालन गर्ने तयारी सुरु भएको छ । यस्तै धादिङ, गोरखा र तनहुँका बाँकी प्रभावित वडामा पनि हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images