images
images
  • रसुवागढी र तातोपानी बन्द हुँदा कोरलाबाट २ महिनामै ३ अर्ब राजस्व

    काठमाडौं – नेपाल–चीन व्यापारका लागि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको मुस्ताङको कोरला नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामै ३ अर्ब ७ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

    रसुवागढी र तातोपानी नाका अवरुद्ध भएपछि कोरला नाकाबाट व्यापारिक गतिविधि बढ्दा राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको हो ।

    गत भदौ १० गतेको बाढीले रसुवागढीस्थित भन्सार कार्यालयसहित सडक तथा अन्य पूर्वाधारमा क्षति पुर्‍याएपछि नाका पूर्ण रूपमा अवरुद्ध छ। यस्तै, चीनले तातोपानी नाकासमेत अस्थायी रूपमा बन्द गरेपछि नेपाल–चीन स्थलगत व्यापारको ठूलो हिस्सा कोरला नाकातर्फ केन्द्रित भएको हो ।

    कोरला भन्सार कार्यालयका अनुसार चालु आवको साउनमा २६ करोड ३९ लाख रुपैयाँ र भदौमा २ अर्ब ८१ करोड ५४ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

    नाकाबाट साउनमा ५७ वटा र भदौमा ६९७ वटा गरी दुई महिनामा ७५४ वटा कन्टेनर नेपाल भित्रिएका छन् । कन्टेनरबाट मात्रै ९६ करोड ६२ लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

    त्यस्तै, कोरला नाकाबाट साउनमा १०० र भदौमा १ हजार २५३ गरी दुई महिनामा १ हजार ३५३ वटा विद्युतीय सवारीसाधन ९ईभी० नेपाल भित्रिएका छन्। ईभी आयातबाट मात्रै २ अर्ब ११ करोड ३१ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयको तथ्यांक छ ।

    रसुवागढी र तातोपानी नाका सञ्चालनमा नहुँदा कोरला नाका नेपाल–चीन स्थलगत व्यापारको प्रमुख वैकल्पिक मार्ग बनेको छ । पछिल्लो समय नाकाबाट कन्टेनर तथा विद्युतीय सवारीसाधनको आयात बढेसँगै राजस्व संकलनसमेत तीव्र रूपमा बढेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images