काठमाडौं– नेपाली कांग्रेस विभाजनको डिलमा पुगेको छ ।
सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवाले छुट्टाछुट्टै अपिल जारी गर्दै फरक–फरक मितिमा हुने महाधिवेशनमा सहभागी हुन आग्रह गरेपछि विभाजनको धरातल फैलिएको हो ।
गत पुस २७–३० मा भएको विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेपछि विवाद सुरु भएको थियो ।
निर्वाचन आयोगले थापा समूहलाई मान्यता दिएपछि देउवा समूह सर्वोच्च अदालत गएको थियो ।
सर्वोच्चले आयोगकै निर्णय सदर गरेपछि देउवा समूह पुनरवलोकनमा गएको छ, जुन विचाराधीन छ ।
थापा समूहले असोज ३ बाट वडाअधिवेशन सुरु गरी असोज १६–१९ मा १५औँ महाधिवेशन गर्ने मिति घोषणा गरेको छ ।
देउवा समूहले असोज १५ बाट वडाअधिवेशन सुरु गरी मंसिर २१–२३ मा महाधिवेशन गर्ने तयारी गरेको छ ।
थापाले असोज ३ बाट सुरु हुने अधिवेशनमा सहभागी हुन आह्वान गरेका छन् ।
देउवाले असोज १५ बाट सुरु हुने अधिवेशनमा लाग्न र थापा समूहको अधिवेशनमा सहभागी नहुन अपिल गरेका छन् ।
देउवाले संस्थापनको कार्यतालिका एकपक्षीय र विधि–विधानविपरीत भएको बताएका छन् ।
देउवा समूहका डा.शशांक कोइरालाले पदको सौदाबाजी नहुने बताउँदै पार्टीको भविष्य केन्द्रमा राखेर समाधान खोज्नुपर्ने बताएका छन् ।
इतर समूहले चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरी महाधिवेशनको तयारी गरिरहेको छ ।
संस्थापन पक्षका प्रवक्ता देवराज चालिसेले अधिवेशन स्थगित नहुने बताएका छन् ।
देउवा समूहका दीपक खड्काले भने पार्टी मिल्ने सम्भावना सकिएको र दुई महाधिवेशन हुने विषय टुंगिएको बताएका छन् ।
अदालतको फैसला आउँदासम्म दुवै अधिवेशन सम्पन्न भइसक्ने भएकाले त्यसपछिको अवस्था अन्योलपूर्ण छ ।
गत भदौ २३÷२४ को जेनजी आन्दोलन पश्चात् कांग्रेसमा शेरबहादुर देउवा र गगन थापाको समूहले बेग्लाबेग्लै कार्य गर्दै आएका छन् ।


विश्व खबर 



















