images
images
  • इरान युद्धकै कारण मध्यावधि निर्वाचनमा हार बेहोरेको ट्रम्पको स्वीकारोक्ति

    काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा आफ्नो रिपब्लिकन पार्टीले बेहोरेको पराजयमा इरान युद्धको प्रभाव परेको स्वीकार गरेका छन् । युद्धका कारण इन्धनको मूल्य बढ्नु निर्वाचनमा पार्टीले क्षति बेहोर्नुको प्रमुख कारण रहेको उनको भनाइ छ ।

    रिपब्लिकन पार्टीले अमेरिकी संसद्का दुवै सदनमा आफ्नो बहुमत गुमाएपछि पहिलोपटक सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको टिप्पणीलाई ‘धेरै हदसम्म सत्य’ भनेका हुन् । भान्सले इरान युद्धका कारण पार्टीले निर्वाचनमा ठूलो क्षति बेहोरेको बताएका थिए ।

    बिहीबार ह्वाइट हाउसको नयाँ बलरुम निर्माणस्थलबाट सम्बोधन गरेका ट्रम्पले सुरुमा निर्वाचन परिणामबारे केही बोलेनन् । तर, पत्रकारहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले युद्ध, निर्वाचनको परिणाम र आगामी राजनीतिक प्राथमिकताबारे धारणा राखेका थिए ।

    यस क्रममा ट्रम्पले रक्षामन्त्री पीट हेगसेथलाई पदबाट हटाउने कुनै योजना नरहेको पनि स्पष्ट पारे । हेगसेथले ‘निकै राम्रो काम’ गरिरहेको उनको भनाइ थियो ।

    डेमोक्र्याटहरूसँग सहकार्य गर्न आफू तयार रहेको बताउँदै ट्रम्पले उनीहरूले सरकारका काममा अनावश्यक अवरोध सिर्जना गर्न नहुने सर्त राखे । डेमोक्र्याटहरूले ल्याउने विधेयक रोक्ने अधिकार भने आफूसँग सुरक्षित रहेको उनले उल्लेख गरे ।

    इरान युद्ध र त्यसका कारण बढेको इन्धनको मूल्यले मतदाताको असन्तुष्टि बढाएको ट्रम्पको स्वीकारोक्तिले निर्वाचनमा भएको पराजयको राजनीतिक प्रभाव अझै कायम रहेको संकेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images