images
images
  • तिहारमा मादलको माग घट्यो, सङ्कटमा परम्परागत पेसा

    काठमाडौं – कुनै समय तिहार नजिकिँदै गर्दा मादल बनाउने कालीगढलाई भ्याइनभ्याइ हुन्थ्यो । नयाँ मादल बनाउन र पुराना मर्मत गर्न ग्राहकको भीड लाग्थ्यो । तर अहिले अवस्था फेरिएको छ । मादल बनाउने कालीगढ फुर्सदिला छन् भने बजारमा नयाँ मादल पाउनसमेत मुस्किल हुन थालेको छ ।

    ओखलढुङ्गाको ठूलाछापका नीरकाजी विशङ्खेले यो परिवर्तन नजिकबाट अनुभव गरेको छ । उनले करिब ५६ वर्षदेखि मादल बनाउने र मर्मत गर्ने काम गर्दै आएको छ । कुनै समय तिहारको सिजनमा सयौँ मादल बनाउने र मर्मत गर्ने उनलाई अहिले मुस्किलले केही मादल मात्रै आउँछन् ।

    “पहिले मादलको काम मनग्यै हुन्थ्यो । अहिले मादल खासै छैनन् । नयाँ मादल पनि बनाउने गरेको छैन,” उ भन्छन्, “मेहनतअनुसारको आम्दानी हुन छाडेपछि नयाँ मादल बनाउन छाड्यौँ । अहिले पुराना मादल मर्मत गरेर पेसा धानिरहेका छौँ।”

    नीरकाजीका अनुसार पहिले तिहारको समयमा मादल बनाउने कामबाट डेढ लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्थ्यो । कुनै वर्ष दुईदेखि तीन लाख रुपैयाँसम्म कमाइ हुने गरेको उ.सम्झन्छन् । पोहोरसम्म पनि ७० देखि ८० हजार रुपैयाँसम्म आम्दानी हुने गरेकामा यस वर्ष त्यो अवस्था छैन । अहिले मादलको कामबाट हुने आम्दानी २५ देखि ३० हजार रुपैयाँमा सीमित भएको उनको भनाइ छ ।

    ठूलाछापमा मादल बनाउने चार–पाँच घर छन् । तर सबैको अवस्था उस्तै छ । नयाँ मादल बनाउनेभन्दा पुराना मर्मत गर्ने काम बढी हुन थालेको छ । नीरकाजीका अनुसार पुरानो मादलमा खरी मात्रै लगाएको दुई हजार रुपैयाँ, दुवैपट्टिको ताल फेरेको चार हजार रुपैयाँ र एकपट्टिको ताल फेरेको तीन हजार रुपैयाँ लिने गरिएको छ ।

    मादल बनाउने पेसा खुम्चिनुमा ग्राहकको अभावसँगै कच्चा पदार्थ जुटाउन कठिन हुनु पनि प्रमुख कारण बनेको छ । मादल बनाउन गाईगोरु, राँगा र बाख्राको छाला तथा उपयुक्त काठ आवश्यक पर्छ । तर अहिले गाईगोरुको छाला सहजै पाउन छाडेको कालीगढहरूको अनुभव छ । गाउँमा गाईगोरु घट्दै जानु र सामुदायिक वनबाट काठ ल्याउन कठिन हुनुका कारण नयाँ मादल बनाउन झन् समस्या भएको उनीहरू बताउँछन् । छाला नपाउँदा राँगा र बाख्राको छाला प्रयोग गरेर काम चलाउनुपर्ने अवस्था छ ।

    मादल बनाउने पेसामा आएको सङ्कट नीरकाजीको मात्रै अनुभव होइन । ८० वर्षीय कालीबहादुर विशङ्खेले १२ वर्षको उमेरदेखि मादल बनाउन थालेको थियो । बाल्यकालमा सिकेको सीपलाई जीवनभर निरन्तरता दि.एका उनलाई पनि पहिलेको व्यस्तता अहिले सम्झनामा सीमित भएको छ ।

    कुनै समय तिहारमा २० देखि २२ वटासम्म नयाँ मादल बनाउने गरेको उ सम्झन्छन् । बिक्री नभए अर्को हप्ता बजार लगेर बेच्ने गरिन्थ्यो । मर्मतका लागि आउने ग्राहक पनि उत्तिकै हुन्थे । अहिले भने नयाँ मादल बनाउने काम लगभग बन्द भएको छ । उनले बनाएका तीनवटा साना मादल बिक्री हुने आशामा घरमै राखिएको छ ।

    “अहिले नयाँ मादल बनाएकै छैन । तीनवटा साना मादल बनाएर राखेको छु,” उ भन्छन्, “बिक्री भए त हुन्थ्यो, नभए दुःख मात्रै हुन्छ ।”

    पुर्खाबाट सिकेको सीप नयाँ पुस्तामा हस्तान्तरण नहुनु पनि यो पेसा सङ्कटमा पर्नुको अर्को कारण हो । ठूलाछापकै धनबहादुर बैराङ्गी सार्कीले बुबा र बाजेबाट मादल बनाउने सीप सिकेको हो । तर उनका सन्तानले भने यो पेसालाई निरन्तरता दिएका छैनन् ।

    “बाबुबाजेले गरे, त्यही काम हामीले पनि सिक्यौँ,” उ. भन्छन्, “अहिले छोराछोरी अलि हुर्केपछि बाहिरतिर लाग्छन् । यो काममा हात लगाउँदैनन् ।”

    खेतीपातीसँगै मादल बनाउने काम गरेर जीविका चलाउँदै आएका धनबहादुर अहिले नियमित काम नपाउँदा समस्यामा छन् । पहिले दैनिकजसो काम पाइने गरेकामा अहिले महिनामा दुई–तीन दिन मात्रै काम पाउने अवस्था रहेको उ बताउछन् । काम पाएको दिन पाँच सयदेखि एक हजार रुपैयाँसम्म कमाइ भए पनि नियमित आम्दानी नहुँदा परिवार चलाउन कठिन भएको उनको भनाइ छ । तिहारको समयमा मादल मर्मत गरेर पाँचदेखि सात हजार रुपैयाँसम्म कमाइ हुने गरेको उ बताउछन्।

    मादलको प्रयोग घट्नुमा आधुनिक प्रविधिको विस्तारलाई पनि कालीगढहरूले कारण मानेका छन् । पहिले चाडपर्व, उत्सव र जमघटमा मादल बजाउने चलन व्यापक थियो । गाउँघरमा मादलको तालमा गीत गाउने र रमाइलो गर्ने गरिन्थ्यो । अहिले भने डेक र मोबाइलबाट गीत बजाउने चलन बढेको छ । मादल बजाउने मानिस र यसको प्रयोग घटेसँगै नयाँ मादल किन्ने ग्राहक पनि कम भएका छन् ।

    ठूलाछापकै लगने सार्कीले पनि यो परिवर्तन अनुभव गरेका छन् । उनका अनुसार कुनै समय मादल बनाउने काममा उनको घरमा मात्रै १२–१४ जना मानिस संलग्न हुन्थे। तिहारमा दुई सातासम्म कामको चाप हुन्थ्यो। अहिले भने ग्राहक नै आउन छाडेका छन्।

    “पहिले लाखभन्दा बढी कमाइ हुन्थ्यो। अहिले मान्छे नै आउँदैनन्। बजारमा लगेर के गर्नु रु गाडीभाडा खर्च गरेर लगे पनि बिक्री हुँदैन,” उहाँ भन्नुहुन्छ।

    स्थानीय कालीगढले बनाएका मादललाई बजारमा पाइने अनलाइन मादलले पनि प्रतिस्पर्धामा पारेको उहाँको भनाइ छ। बजारमा आकर्षक देखिने मादल पाइए पनि स्थानीय कालीगढले बनाउने मादलको जस्तो खरीको आवाज र गुणस्तर नहुने उहाँको दाबी छ। मादलको मौलिक आवाज निकाल्न खरी लगाउने र त्यसलाई मिलाउने सीप महत्त्वपूर्ण हुने भएकाले यसमा लामो अनुभव आवश्यक पर्ने उ बताउछन्।

    मादल बनाउने पेसा सङ्कटमा पर्नुका पछाडि एउटै कारण छैन। यसको प्रयोग र माग घट्नु, विद्युतीय उपकरणको बढ्दो प्रयोग, कच्चा पदार्थको अभाव, बजारमा बाहिरबाट आउने मादलसँगको प्रतिस्पर्धा र नयाँ पुस्ताको अन्य पेसाप्रतिको आकर्षणले परम्परागत सीपलाई कमजोर बनाउँदै लगेको छ ।

    कालीगढका लागि मादल बनाउनु आम्दानीको माध्यम मात्रै होइन, पुर्खाबाट प्राप्त सीप र जीवन गुजार्ने आधार पनि हो। तर अहिले यही पेसाबाट परिवार चलाउन कठिन हुन थालेको छ। नेपाली लोकसंस्कृति र चाडपर्वसँग गहिरो सम्बन्ध राख्ने मादलको प्रयोग घट्दै जाँदा यसलाई बनाउने सीपसमेत लोप हुने जोखिम बढेको छ ।

    कुनै समय तिहारमा कामको चाप थेग्न नसक्ने कालीगढ अहिले ग्राहकको प्रतीक्षामा छन् । यही अवस्था कायम रहे मादल बनाउने पेसा मात्रै होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परागत सीपसमेत हराउने चिन्ता उनीहरूमा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images