काठमाडौं – बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाई मन्दिरनजिक कोइला बोकेको ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
बिहीबार साँझ हेटौँडा–पथलैया सडकखण्डमा वीरगञ्जबाट धादिङतर्फ जाँदै गरेको ना।६ ख १४५८ नम्बरको ट्रक र हेटौँडाबाट रौतहटतर्फ आउँदै गरेको प्रदेश २–०३–००९ प ७९११ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक रौतहटको चन्द्रपुर नगरपालिका–७ नयाँबस्तीका २१ वर्षीय नन्दकिशोर दास र पछाडि सवार सर्लाहीको बसबरिया गाउँपालिका–३ का २१ वर्षीय निराजन यादव घाइते भएका थिए। दुवैलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा साँझ ६ः३९ बजे चिकित्सकले यादवलाई मृत घोषणा गरेका थिए ।
मोटरसाइकल चालक दासको दुवै हात, दुवै खुट्टा र मुखमा चोट लागेको प्रहरीले जनाएको छ। उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो। ट्रक चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ कमानेका ३० वर्षीय दीपक घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।





















