images
images
  • प्रधानमन्त्री शाहको भारत भ्रमणमा ठूला पूर्वाधार योजना, रेल र हवाई सम्पर्क विस्तार मुख्य प्राथमिकता

    काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच रेल तथा हवाई सम्पर्क विस्तार, आर्थिक सहायता, जलविद्युत् आयोजना र सीमापार पूर्वाधार विकासका विषयमा छलफल हुने भएको छ । भ्रमणलाई धार्मिक पर्यटनदेखि व्यापार र ऊर्जा सहकार्यासम्मका क्षेत्रमा नयाँ पहल गर्ने अवसरका रूपमा हेरिएको छ ।

    भ्रमणका क्रममा रामायण सर्किटअन्तर्गत जनकपुरधाम–अयोध्या रेलसेवा उद्घाटन गर्ने तयारी गरिएको छ । नेपाल र भारतका दुई धार्मिक तथा ऐतिहासिक सहरलाई रेलमार्गबाट जोड्दा धार्मिक पर्यटन र जनस्तरको सम्बन्ध थप विस्तार हुने विश्वास गरिएको छ । जनकपुरदेखि अयोध्यासम्म सीधा हवाई उडान सञ्चालन गर्ने प्रस्ताव पनि अघि सारेको छ ।

    आर्थिक सहयोगतर्फ नेपालले भारतसँग दुई अर्ब अमेरिकी डलरभन्दा बढीको सहायता प्रस्ताव गरेको छ । यसमा एक अर्ब डलरभन्दा बढी सहुलियतपूर्ण ऋण तथा भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र सिद्धार्थ राजमार्ग स्तरोन्नतिका लागि पाँच–पाँच सय मिलियन डलर अनुदान मागिएको छ । सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डलाई ७५ किलोमिटर लामो छ लेनको एक्सप्रेस–वे बनाउने र सुरुङ निर्माण गर्ने प्रस्तावसमेत छ । यद्यपि, सहयोग रकम भारतबाट स्वीकृत भइसकेको छैन ।

    हवाई सम्पर्क विस्तार पनि भ्रमणको महत्त्वपूर्ण एजेन्डा बन्नेछ । नेपालगञ्जबाट दिल्ली, पोखराबाट दिल्ली, मुम्बई, हैदराबाद र बैंगलोर तथा भैरहवाबाट विभिन्न भारतीय सहरमा सीधा उडान सञ्चालन गर्ने प्रस्ताव नेपालले अघि सारेको छ । पोखरा र भैरहवा विमानस्थलको सञ्चालन तथा व्यवस्थापनमा भारतीय कम्पनीको सम्भावित सहभागिता र थप हवाई प्रवेश बिन्दु उपलब्ध गराउने विषयमा पनि छलफल गर्ने तयारी छ ।

    ऊर्जा क्षेत्रमा ६ हजार ४८० मेगावाट क्षमताको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउन पानीको बाँडफाँट, लागत र लाभसम्बन्धी विवाद समाधान गर्ने विषय उठाइनेछ । पश्चिम सेती, फुकोट कर्णाली, सेती नदी–६, माथिल्लो कर्णाली र अरुण–४ लगायतका जलविद्युत् आयोजना तथा विद्युत् निर्यात विस्तारका विषय पनि छलफलमा समेटिनेछन् ।

    त्यसैगरी, रक्सौल–काठमाडौं रेलमार्गको डीपीआर तयार गर्ने र निर्माण प्रक्रिया अघि बढाउने, सिलिगुडी–चारआली पेट्रोलियम पाइपलाइन तथा दोधारा चाँदनी एकीकृत जाँच चौकी निर्माणको काम अघि बढाउने प्रस्ताव छ । पनौतीस्थित नेपाल प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान, दार्चुलाको पुल, भैरहवा एकीकृत जाँच चौकी र महाकाली नदीमाथिको मोटरेबल पुल उद्घाटन गर्ने कार्यक्रमसमेत प्रस्तावित छ ।

    व्यापार घाटा घटाउने, नेपाली वस्तुको भारतीय बजारमा पहुँच बढाउने, पारवहन तथा भन्सार प्रक्रिया सहज बनाउने र सीमा विवाद समाधान गर्ने विषय पनि भ्रमणका एजेन्डामा छन् । यसबाहेक कृत्रिम बौद्धिकता (एआई), डिजिटल कनेक्टिभिटी, खेलकुद र विकास साझेदारीका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रस्ताव नेपालले अघि सारेको छ । त्यसैगरि भारत भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ सहभागी हुने सम्भावना पनि रहेको छैन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images