images
images
  • नबिल एसएसई फेलोसिपको सातौं समूह र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

    काठमाडौं – नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौं समूह तथा नबिल एसएसई सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ ।

    बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएको दुवै कार्यक्रमका लागि भदौ ३० गतेदेखि आवेदन खुला गरेको हो । इच्छुक नेपाली नागरिकले आगामी असोज २६ गते अर्थात् १२ अक्टोबर २०२६ सम्म आवेदन दिन सक्नेछन् ।

    १८ वर्ष उमेर पूरा भएका र नवीन उद्यमशील सोच भएका नेपाली नागरिकले आवेदन दिन सक्ने बैंकले जनाएको छ । छनोट भएका सहभागीले कार्यक्रममा कम्तीमा ९० प्रतिशत उपस्थिति कायम गर्नुपर्नेछ ।

    बैंकका अनुसार महिला, युवा, गरिब, वञ्चित तथा सीमान्तकृत समुदायका प्रतिबद्ध उद्यमीलाई कार्यक्रममा सहभागी हुन विशेष प्रोत्साहन गरिनेछ । दिगो उद्यम निर्माण, रोजगारी सिर्जना तथा समुदायमा आर्थिक अवसर विस्तार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन हुँदै आएको बैंकले जनाएको छ ।

    नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले प्रतिबद्ध उद्यमी पहिचान गरी उनीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै ज्ञान, सञ्जाल र उद्यमशीलता प्रणालीसँग जोड्ने उद्देश्यले नयाँ समूहका लागि आवेदन खुला गरिएको बताए ।

    बैंकका अनुसार नबिल एसएसईका फेलोसिप तथा सर्टिफिकेट कोर्समार्फत हालसम्म १ हजार ५८० जनालाई उद्यमशीलता सम्बन्धी तालिम प्रदान गरिएको छ ।

    तालिम प्राप्त सहभागीबाट ३१८ वटा उद्यम स्थापना भई १९ हजार ३०३ जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी तथा जीविकोपार्जनका अवसर सिर्जना भएको बैंकको दाबी छ ।

    फेलोसिप कार्यक्रमका हालसम्मका ६ समूहबाट ११३ जना प्रशिक्षित भएका छन् । उनीहरूमध्येबाट ९३ वटा फेलोको नेतृत्वमा सञ्चालित उद्यम रहेको बैंकले जनाएको छ । सर्टिफिकेट कोर्सबाट भने १ हजार ४६७ जना सहभागी लाभान्वित भएका छन् भने २२५ वटा उद्यम स्थापना भएका छन् ।

    सन् २०२१ मा संस्थागत सामाजिक उत्तरदायित्वको पहलका रूपमा स्थापना भएको नबिल एसएसईले आकांक्षी तथा विद्यमान उद्यमीलाई व्यवसाय विकासका लागि आवश्यक ज्ञान, सीप, स्रोत, सञ्जाल तथा वित्तीय पहुँचका अवसर उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।

    त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन हुने नबिल एसएसई फेलोसिप ६ महिनाको उद्यम विकास कार्यक्रम हो । यसले सहभागीलाई उद्यम विकास, सुदृढीकरण तथा विस्तारका लागि आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गर्नेछ।

    त्यस्तै, नबिल एसएसई सर्टिफिकेट कोर्स करिब तीन महिनाको व्यवहारिक उद्यमशीलता विकास कार्यक्रम हो । यसमा विद्यार्थी, आकांक्षी उद्यमी, प्रारम्भिक चरणका संस्थापक तथा सञ्चालनमा रहेका सूक्ष्म र साना उद्यमीलाई लक्षित गरिएको छ ।

    यस वर्ष सर्टिफिकेट कोर्स देशभरका १० शैक्षिक कार्यान्वयन साझेदार संस्थामार्फत सञ्चालन हुनेछ । कोशी प्रदेशमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, मधेश प्रदेशमा वीरगञ्ज पब्लिक कलेज र मोनास्टिक सेकेन्डरी इंग्लिश बोर्डिङ स्कुल, बागमती प्रदेशमा क्याम्पियन कलेज र बुढानीलकण्ठ स्कुल, लुम्बिनी प्रदेशमा दिव्यज्योति बहुमुखी क्याम्पस, क्षितिज इन्टरनेशनल कलेज र कोहलपुर मोडल कलेज, कर्णाली प्रदेशमा सुर्खेत मोडल कलेज तथा सुदूरपश्चिम प्रदेशमा सुदूरपश्चिमाञ्चल एकेडेमीमार्फत कार्यक्रम सञ्चालन हुने बैंकले जनाएको छ ।

    कार्यक्रम तथा आवेदन प्रक्रियासम्बन्धी थप जानकारी नबिल बैंक र नबिल एसएसईका आधिकारिक माध्यम तथा सम्बन्धित शैक्षिक साझेदार संस्थाबाट प्राप्त गर्न सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images