काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ६० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्ने भएको छ । केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले ३० दिन अवधिका लागि निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम सङ्कलन गर्न लागेको हो ।
राष्ट्र बैंकले आज प्रकाशित गरेको सूचनाअनुसार बोलकबोलमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले आज अपराह्न ३ बजेसम्म नेपाल राष्ट्र बैंकको अनलाइन बोलकबोल प्रणालीमार्फत बोल पेश गर्नुपर्नेछ ।
निक्षेप सङ्कलनको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । सङ्कलित निक्षेपको साँवा तथा ब्याज असोज ३० गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँले भाग जाने गरी आह्वान गरिएको कुल रकमसम्म बोल पेश गर्न सकिनेछ ।
निक्षेप सङ्कलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलमा उल्लेख गरिएको सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिइनेछ । त्यसपछि आह्वान गरिएको रकम पूरा नहुन्जेल क्रमशः बढी ब्याजदर उल्लेख भएका बोललाई बाँडफाँट गरिनेछ ।
समान ब्याजदरमा कुल आह्वान रकमभन्दा बढी माग परेमा त्यस्ता बोललाई अनुपातका आधारमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।
‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्था सहभागी हुन पाउने
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र उक्त बोलकबोलमा सहभागी हुन पाउनेछन् ।
बोलकबोलमा सहभागी संस्थाले आफूले जम्मा गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गर्नुपर्नेछ । स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित संस्थाको नेपाल राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरी लिइनेछ ।
सङ्कलित निक्षेपका लागि छुट्टै खाता खोली रकम जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ । भुक्तानी मितिमा निर्धारित ब्याजसहितको निक्षेप रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नेपाल राष्ट्र बैंकस्थित खातामा जम्मा गरिनेछ ।
राष्ट्र बैंकका अनुसार यसरी सङ्कलन गरिएको निक्षेपलाई सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा गणना गर्न पाइने छैन । यद्यपि राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात तथा तरलता अनुपातमा भने गणना गर्न सकिनेछ ।
सङ्कलित निक्षेपको भुक्तानी मितिअघि सम्बन्धित बोलवालालाई रकम फिर्ता गर्न वा समयअगावै भुक्तानी गर्न नपाइने व्यवस्था गरिएको छ ।


विश्व खबर 



















