काठमाडौं – नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न ४२औँ वार्षिक साधारण सभा बोलाएको छ ।
बैंकले असोज २२ गते बिहीबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा साधारण सभा आयोजना गर्ने भएको हो । सभा बिहान साढे ९ बजे सुरु हुनेछ ।
सभाले बैंकको हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश रहेको बैंकले जनाएको छ ।
यसअनुसार बैंकले शेयरधनीलाई कुल १५.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सभामा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावसमेत पेस हुनेछ । त्यस्तै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति सम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा छलफल हुनेछ ।
त्यसैगरी, ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरका शेयरधनीलाई चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
सभाले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचन गर्नेछ । लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारणलगायतका प्रस्तावसमेत सभामा पेस हुनेछन् ।
असोज १३ गतेसम्म शेयर कायम हुनुपर्ने
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
यसअनुसार असोज १३ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहेका शेयरधनीहरूले बैंकको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।


विश्व खबर 



















