images
images
  • शेखरलाई कांग्रेस इतरपक्षको संयोजक बनाएपछि पूर्णबहादुर रुष्ट, देउवा समूह त्याग्ने तयारी

    काठमाडौं– नेपाली कांग्रेसमा आन्तरिक विवाद चर्किरहेका बेला पूर्वउपसभापति पूर्णबहादुर खड्का पूर्वसभापति शेरबहादुर देउवा पक्षबाट अलग भएर पार्टीभित्र सहमतिको प्रयासमा जुटेका छन् ।

    देउवा समूहले समानान्तर महाधिवेशनको तयारी गरिरहेका बेला खड्का पछिल्लो समय त्यस समूहका बैठकमा सहभागी भएका छैनन् ।

    बरु उनले आफूनिकट नेताहरूसँग छुट्टै छलफल गर्दै पार्टी विभाजनको बाटोमा जान नहुने धारणा अघि सारेका छन् ।

    शनिबार खड्काले २० भन्दा बढी आफूनिकट नेतासँग छलफल गरेका थिए ।

    बैठकमा सहभागी नेता रामहरि खतिवडाका अनुसार खड्काको जोड दुईवटा महाधिवेशन नगरौँ, मिलेर अघि बढौँ भन्नेमा थियो ।

    खड्काले सभापति गगन थापासँग संवाद गरेर विवाद समाधानको पहलसमेत गर्न खोजिरहेका छन् ।

    अर्का नेता श्याम घिमिरेका अनुसार खड्का पार्टी फुटाउने पक्षमा छैनन् ।

    उनका अनुसार खड्काले रुख छोड्दिनँ र फुटेको पार्टीमा पनि जाँदिनँ भन्ने धारणा राखेका छन् ।

    खड्काले यसअघि देउवा पक्षसँग नजिक रहेका नेताहरूलाई पनि अब आफू चुनदेवीमा हुने बैठकमा सहभागी नहुने जानकारी गराएको बताइएको छ ।

    शशांक कोइरालालाई पूर्वसंस्थापन पक्षले संयोजक बनाएपछि खड्का थप असन्तुष्ट बनेको नेताहरूको भनाइ छ ।

    ८ बुँदे सहमतिमा फर्किने प्रस्ताव

    कांग्रेस विवाद समाधानका लागि यसअघि नजिक पुगेको ८ बुँदे सहमतिको आधारमा अघि बढ्न सकिने खड्का पक्षका नेताहरूको धारणा छ ।

    त्यसमा १४औँ महाधिवेशनका केन्द्रीय सदस्यलाई समेट्ने, सभापति गगन थापाको नेतृत्वमा पार्टीका विभिन्न समितिहरू गठन गर्नेलगायतका विषय समेटिएका थिए ।

    नेता शेखर कोइराला पनि देउवासहित सबै पक्षलाई समेटेर पार्टी एकताबद्ध बनाउनुपर्ने पक्षमा देखिएका छन् ।

    उनले गगन थापालाई सभापति मानेर १५औँ महाधिवेशन सहमतिमा सम्पन्न गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

    यसैबीच सभापति थापाले आइतबार शेखर कोइरालासँग भेटवार्ता गरेका छन् ।

    शेखरको सचिवालयका अनुसार भेटमा देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेकाले कांग्रेसलाई एकढिक्का बनाउनुपर्ने विषयमा छलफल भएको थियो ।

    थापाले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताएका थिए ।

    देउवा भने अझै अदालतको निर्णय पर्खँदै

    विदेशबाट फर्किएका पूर्वसभापति शेरबहादुर देउवा भने अदालतबाट आफू पक्षले आधिकारिकता पाउने दाबी गर्दै आएका छन् ।

    आफूले पार्टीसम्बन्धी जिम्मेवारी शशांक कोइरालालाई दिइसकेको भन्दै देउवाले उनीसँगै छलफल गर्न नेताहरूलाई भन्ने गरेको बताइएको छ ।

    देउवा पक्षका नेता रमेश लेखकले भने गगन थापालाई सभापति मानेर पार्टी एकता गर्न आफूहरू तयार रहेको बताएका छन् ।

    तर महाधिवेशन नरोकिए पार्टी विभाजन हुन सक्ने उनको चेतावनी छ ।

    यसरी कांग्रेसमा एकातिर देउवा पक्षले कानुनी तथा महाधिवेशनको बाटोबाट आफ्नो दाबी अघि बढाइरहेको छ भने अर्कोतिर पूर्णबहादुर खड्का र शेखर कोइरालासहितका नेताहरू सहमतिमार्फत पार्टीलाई एकताबद्ध बनाउने प्रयासमा देखिएका छन् ।

    खड्काको पछिल्लो कदमले कांग्रेसको आन्तरिक शक्ति समीकरणमा नयाँ मोड आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images