काठमाडौं– रसुवामा आएको बाढीपछि नुवाकोटको तादी खोला (देवीघाट)मा निर्माण भइरहेको एक्रोब्रिज सम्पन्न भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तले सामाजिक सञ्जालमा एआईबाट बनाइएको तस्वीर सेयर गरेका छन् ।
पन्तले उक्त तस्वीरसँगै नेपाली सेना, सडक विभाग तथा प्राविधिक टोलीले रातदिन खटेर पुल निर्माण गरिरहेको भन्दै प्रशंसा गरेका थिए ।
तर, वास्तविकतामा पुल अझै निर्माणाधीन अवस्थामा रहेको छ ।
नुवाकोटका पत्रकार रामहरि न्यौपानेले पुलको पछिल्लो तस्वीर सार्वजनिक गर्दै नियमित काम भए निर्माण सम्पन्न हुन अझै केही दिन लाग्ने बताएका छन् ।
उनले विपद्को समयमा एआईबाट तयार गरिएको तस्वीरमार्फत पुल बनिसकेको गलत सन्देश नदिन आग्रह गरेका छन् ।
पन्तसँगै रास्वपाका केही नेता तथा कार्यकर्ताले पनि सोही एआई तस्वीर सामाजिक सञ्जालमा सेयर गरेका थिए ।
गृहमन्त्री सुधन गुरुङले समेत तस्वीर सेयर गर्दै पुल अन्तिम चरणमा पुगेको बताएका थिए ।
पछि उनले उक्त तस्वीर हटाएका छन् ।
नेपाली सेनासहितको प्राविधिक टोलीले पुल निर्माणको काम तीव्र गतिमा अघि बढाइरहेको छ ।
पुल पूर्ण रूपमा सञ्चालनयोग्य हुन अझै करिब ३–४ दिन लाग्ने बताइएको छ ।






















