images
images
  • प्रधानमन्त्री उद्धार कोषमा सशस्त्र प्रहरीको साढे १५ करोड, मृतकका परिवारलाई तत्कालै २५ लाख

    काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि सशस्त्र प्रहरी कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रूपैयाँ योगदान गर्ने निर्णय गरेको छ ।

    सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको अध्यक्षतामा बिहीबार बसेको परामर्श समितिको बैठकले राहत कोषमा रकम जम्मा गर्नेदेखि बाढीमा परी ज्यान गुमाएका आफ्ना कर्मचारीका परिवारलाई तत्कालै २५/२५ लाख रूपैयाँ राहत उपलब्ध गराउने समेत निर्णय गरेको हो ।

    निर्णयअनुसार भोटेकोशी बाढीमा मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई राष्ट्रसेवकका तर्फबाट १५ लाख रूपैयाँ, राहतसम्बन्धी कार्यविधिअनुसार ५ लाख र सशस्त्र प्रहरी बल नेपाल विपद् प्रकोप राहत कोषबाट थप ५ लाख गरी कूल २५ लाख रूपैयाँ उपलब्ध गराइने छ ।

    यस्तै, मृतक कर्मचारीले कल्याण कोषबाट लिएको र भुक्तानी गर्न बाँकी सम्पूर्ण ऋण मिनाहा गरिने तथा उनका सन्ततिलाई पायक पर्ने नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म अध्ययनका लागि शैक्षिक शुल्क छुट दिइने निर्णय भएको छ ।

    बैठकले मृतक कर्मचारीका परिवारका एक–एक जना सदस्यलाई सीपमूलक तालिम दिने र बाढीमा ज्यान गुमाएका कर्मचारीको स्मृतिमा उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने निर्णयसमेत गरेको छ ।

    बाढीमा परी ज्यान जोगाउन सफल पाँच जना सशस्त्र प्रहरी कर्मचारीलाई जनही ५० हजार रूपैयाँ राहत दिइनेछ भने बाढीका कारण कर्मचारीका आश्रित परिवारका सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति १ लाख रूपैयाँ उपलब्ध गराइनेछ ।

    त्यस्तै, बाढी प्रभावित अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा १ लाख, घरबारविहीन भएमा १ लाख तथा आंशिक भौतिक क्षति भएका र घाइतेलाई ५० हजार रूपैयाँसम्म राहत उपलब्ध गराउने निर्णय भएको छ ।

    बैठकले भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यलाई प्राथमिकताका साथ प्रभावकारी रूपमा निरन्तरता दिने निर्णय पनि गरेको छ ।

    यस्ता छन् बैठकका निर्णयहरू–

    – मिति २०८३ भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदिको बाढीमा परेर दिवंगत हुनुभएका सशस्त्र प्रहरी कर्मचारीहरू, अन्य सुरक्षाकर्मीहरू लगायत सम्पूर्ण मृतकहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो दु:ख तथा समवेदना व्यक्त गर्ने र उक्त घटनामा परी घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने ।

    – खोज¸ उद्धार तथा राहत कार्यलाई प्राथमिकताका साथ प्रभावकारी रूपमा निरन्तरता दिने ।

    – सशस्त्र प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरूले १५ दिनको, नायव महानिरीक्षक र वरिष्ठ उपरीक्षकले १२ दिनको, उपरीक्षक, नायव उपरीक्षक र निरीक्षकहरूले १० दिनको, जुनियर अधिकृतहरूले ७ दिनको, वरिष्ठ हवलदार देखि जवान सम्मले ५ दिनको र सशस्त्र प्रहरी परिचरले ३ दिनको तलब बराबरको रकम योगदान गर्ने र सो रकमबाट सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवकहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रकम योगदान गर्ने । बि.ओ.पि. टिमुरे र सुरक्षा बेस मैलुङमा कार्यरत रही सोही दिनको बाढीमा परी ज्यान जोगाउन सफल भएका सशस्त्र प्रहरी कर्मचारीहरूको हकमा रकम कट्टा नगर्ने ।

    – मृतक सशस्त्र प्रहरी कर्मचारीहरूका आश्रीत परिवारलाई राष्ट्रसेवकहरूको तर्फबाट तत्काल रु. १५ लाख र सशस्त्र प्रहरी कर्मचारीहरूको मृत्यु भएमा निजको हकवाला/आश्रीत परिवारलाई उपलब्ध गराउने राहत सम्बन्धी कार्यविधि, २०७९ बमोजिम रु ५ लाख तथा सशस्त्र प्रहरी बल, नेपाल विपद् प्रकोप राहत कोष सञ्चालनसम्बन्धी मापदण्ड, २०८१ बमोजिम रु. ५ लाख समेत थप गरी कूल २५ लाख रकम उपलब्ध गराउने ।

    – मृतक कर्मचारीहरूले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिहरूलाई पायक पर्ने नेपाल ए.पी.एफ. स्कुलमा कक्षा १० सम्मको अध्ययनको लागि शैक्षिक शुल्क छुट गर्ने ।

    – सशस्त्र प्रहरी कर्मचारीका आश्रीत परिवारका सदस्य सोही बाढीका कारण मृत्यु भएमा राहत स्वरूप प्रतिव्यक्ति रु. १ लाख उपलब्ध गराउने ।

    – सोही बाढीको कारणबाट मृत्यू भएका सशस्त्र प्रहरी कर्मचारीहरूको स्मृतिमा संगठनको तर्फबाट उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने ।

    – मृत्यू भएका सशस्त्र प्रहरी कर्मचारीहरूका आश्रीत परिवारका १/१ जना सदस्यहरूलाई सिपमुलक तालिम प्रदान गर्ने ।

    – सोही दिनको बाढीमा परी ज्यान जोगाउन सफल भएका पाँच जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई राहत स्वरूप जनही रु. ५० हजारका दरले उपलब्ध गराउने ।

    – बाढी प्रभावित अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा १ लाख घरवारविहीन भएमा १ लाख र आंशिक रूपमा भौतिक संरचनाको क्षति भएको तथा घाइतेलाई रु. ५० हजार सम्म उपलब्ध गराउने ।

    एउटै व्यक्तिबाट दैवी प्रकोप उद्धार कोषमा डेढ अर्बभन्दा बढी सहयोग, को हुन् ती मनकारी ?

    भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या १२५९ पुग्यो, सम्पर्कबिहीनको सङ्ख्या कति ?

    प्रतिक्रिया दिनुहोस्
    images
    images