काठमाडौं– नेपाल राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा मोबाइल बैंकिङ, वेब एप्लिकेसन तथा विद्युतीय पैसामार्फत हुने कारोबारको अधिकतम सीमा हटाएको छ ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले परिपत्र जारी गर्दै ती दुई कोषमा हुने कारोबारमा यसअघि तोकिएको अधिकतम सीमा लागू नहुने व्यवस्था गरेको हो ।
यसअघि सामान्य अवस्थामा मोबाइल बैंकिङमार्फत दैनिक अधिकतम तीन लाख रुपैयाँ र वेबसाइट तथा इन्टरनेट बैंकिङमार्फत दैनिक अधिकतम २० लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था थियो ।
हाल देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले उक्त दुई कोषमार्फत आर्थिक सहयोग परिचालन गरिरहेको छ ।
ठूलो रकम सहयोग गर्न चाहने दातृ निकाय तथा नागरिकलाई सहज होस् भन्ने उद्देश्यले राष्ट्र बैंकले कारोबार सीमा हटाएको जनाएको छ ।
राष्ट्र बैंकले परिपत्रसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका विभिन्न बैंकमा रहेका खाताको विवरणसमेत भुक्तानीसम्बन्धी अनुमतिपत्रप्राप्त संस्थालाई उपलब्ध गराएको छ ।
यस व्यवस्थाले बाढी तथा पहिरो प्रभावितका लागि राहत कोषमा ठूलो रकम तत्काल र सहज रूपमा जम्मा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।























