काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनपछि पहिलो पटक बस्ने केन्द्रीय समिति बैठकमा मनोनीत केन्द्रीय सदस्य र पदाधिकारी चयनको प्रक्रिया अघि बढाउने भएको छ ।
सभापति रवि लामिछानेलाई संशोधित विधानअनुसार ५१ जना केन्द्रीय सदस्य तथा ११ जना पदाधिकारी मनोनयन गर्ने अधिकार रहेको छ ।
मनोनयनमा पार्टी स्थापनाकालदेखि सक्रिय रहेका पुराना केन्द्रीय सदस्यहरूलाई प्राथमिकता दिइने संकेत नेताहरूले दिएका छन् ।
महाधिवेशनमा प्रतिस्पर्धा नगरे पनि निरन्तर पार्टी काममा सक्रिय रहेका बसुमाया तामाङ, उपेन्द्र पाण्डे, इश्रा मुल्ला मियाँ, विष्णु श्रेष्ठ, रामकृष्ण भट्टराई, प्रभात अधिकारी, प्रमिला कुलुजु, एलिजा गुरुङलगायतका नाम चर्चामा छन् ।
त्यस्तै संस्थापन पक्ष, बालेन शाह पक्ष, पूर्व विवेकशील साझा समूह, खगेन्द्र सुनार समूह र ‘जेनजी’ अभियानका प्रतिनिधिहरूलाई समेत समेट्ने दबाब सभापतिमाथि रहेको बताइएको छ ।
बालेन पक्षलाई करिब १८ केन्द्रीय सदस्य दिने विषयमा पनि आन्तरिक छलफल भइरहेको स्रोतको दाबी छ ।
उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता, सहप्रवक्ता, कोषाध्यक्ष र सहकोषाध्यक्षसहितका रिक्त पदहरू पनि मनोनयनमार्फत भरिनेछन् ।
बैठकमा महाधिवेशन समीक्षा र सांगठनिक व्यवस्थापनका एजेण्डासमेत छलफल हुनेछ ।






















