images
images
  • सरकारविरुद्ध, राजसंस्था पुनर्स्थापना र आफूलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित दर्जनौं समूह आन्दोलित

    काठमाडौं– काठमाडौंको माइतीघर अहिले नागरिकका पीडा, अधिकार र अपेक्षा सुनाउने मुख्य आन्दोलनस्थल बनेको छ ।

    थापाथलीदेखि नयाँ बानेश्वर जोड्ने करिब ५० मिटर सडक क्षेत्रमा हाल १७ समूह नियमित आन्दोलनमा छन् ।

    लघुवित्त र सहकारीपीडित, डायलाइसिस खर्च माग्ने, जातीय विभेदविरुद्ध उभिएका, जबर्जस्ती करणीपीडित, जेनजी आन्दोलनका थुनुवाको रिहाइ माग्ने, राजसंस्था समर्थकदेखि आफूलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग राख्ने समूहसम्म यहाँ सक्रिय छन् ।

    कतिपयले टेन्ट टाँगेर महिनौँदेखि धर्ना दिइरहेका छन् भने केही दैनिक केही घण्टा प्रदर्शन गरेर फर्किन्छन् ।

    अधिकांश माग न्याय, राहत, विभेद अन्त्य, बचत फिर्ता, उपचार खर्च, दोषीमाथि कारबाही र सरकारी सुनुवाइसँग सम्बन्धित छन् ।

    आन्दोलनकारीहरूको गुनासो एउटै छ, सरकारले उनीहरूको आवाज सुनेको छैन ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार २७ जेठयता १४ देखि १७ समूहले माइतीघर क्षेत्रमा नियमित आन्दोलन गरेका छन् ।

    सुकुम्बासी, आवासीय चिकित्सक र नेपाल पत्रकार महासंघ पनि आफ्ना माग पूरा नभए आन्दोलन थप सशक्त बनाउने तयारीमा छन् ।

    माइतीघर अहिले केवल सडक होइन, राज्यसँग संवाद खोजिरहेका असन्तुष्ट नागरिकहरूको प्रतीक बनेको छ ।

    धर्नामा बसेकाहरू कसको के माग ? 

    १. जबर्जस्ती करणी (जक)पीडित (८ चैत ०८२ देखि)– आरोपी कर्ण मल्ललाई कारबाही ।

    २. देविका खनाल (२६ वैशाखदेखि)– २२ फागुन ०८१ मा सुनसरीको रामधुनी नगरपालिका– ३ मा दुर्घटना गराएको आरोप लागेका इनरुवा नपा– ६ का वडाध्यक्ष सुमन थापालाई कारबाही ।

    ३. जकपीडित (२६ वैशाखदेखि)– आरोपी प्रमोद मैनालीलाई कारबाही ।

    ४. देवसरा भण्डारी, नवराज गुरुङ, अञ्जना श्रेष्ठ (३२ वैशाखदेखि)– जेन–जी आन्दोलनका थुनुवा मुक्त गर्नुपर्ने ।

    ५. रमिला कार्की (९ जेठदेखि)– सुमेरु सहकारीका सञ्चालकलाई पक्राउ ।

    ६. लक्ष्मी सिंह (२६ जेठदेखि)– डायलाइसिस खर्च चाहियो ।

    ७. जकपीडित (२७ जेठदेखि)– शिशुको जन्मदर्ता र राहत माग ।

    ८. माया पाण्डे (२७ जेठदेखि)– राजसंस्था, हिन्दुराष्ट्र माग ।

    ९. उमाकुमारी महतो (२८ जेठदेखि)– ठगीमा निर्मला मैनाली र निसान मैनालीलाई कारबाही ।

    १०. कृष्णमाया उप्रेती (२९ जेठदेखि)– नेत्रप्रसाद तिमेल्सेनाबाट पीडित भएकाले न्याय चाहियो ।

    ११. डा. रोशनी नेपाली (२९ जेठदेखि)– बादी समुदायलाई अपमानित गरेको भन्दै लालीबजार फिल्मविरुद्ध ।

    १२. रेखा हमाल (२९ जेठदेखि)– कालुराम चौधरीलाई राष्ट्रपतिले दिएको आममाफीविरुद्ध ।

    १३. दीपा नेपाली (२९ जेठदेखि)– जातका कारण कोठा नदिने प्रवृत्तिविरुद्ध ।

    १४. गणेश गिरी (२९ जेठदेखि)– आफूलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने ।

    १५. पुष्पमाया कार्की (२९ जेठदेखि)– सञ्चालक पंकज बस्नेतबाट होमस्टेबाट निकालिएको भन्दै धर्ना ।

    १६. मनिराम ज्ञवाली (१२ साउनदेखि)– लघुवित्तपीडितलाई न्याय देऊ ।

    १७. कुशलभ केसी (१२ साउनदेखि) सबै सहकारी बचतकर्ताको रकम फिर्ता गर ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images