images
images
  • बालेन समूहलाई बाइपास गर्दै रवि–विवेशील गुटबाट केन्द्रीय पदाधिकारी मनोनयन गर्दै रास्वपा

    महाधिवेशनपछि पहिलो केन्द्रीय समिति बैठक स् बालेन समूहबाहेकका पदाधिकारी मनोनयनको तयारीमा रवि

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रथम महाधिवेशन सम्पन्न भएको ३१ दिनपछि पहिलोपटक केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

    बैठक साउन १३ गते बुधबार पार्टी कार्यालयमा बस्ने तय भएको केन्द्रीय सदस्य तथा प्रधानमन्त्री बालेन्द्र शाहका नीति तथा सुशासन सल्लाहकार सुदीप ढकालले जानकारी दिए ।

    असार ७ देखि १२ गतेसम्म चितवनमा सम्पन्न महाधिवेशनबाट लामिछाने निर्विरोध सभापतिमा निर्वाचित भएका थिए ।

    महाधिवेशनले ९९ जना केन्द्रीय सदस्य र ६ जना पदाधिकारी चयन गरे पनि पार्टीको केन्द्रीय कार्यसमिति अझै पूर्ण भएको छैन ।

    पार्टी विधानअनुसार सभापतिलाई थप ११ जना पदाधिकारी र ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार छ ।

    पार्टी एकता, समायोजन र नयाँ प्रवेश गरेका नेताहरूलाई समेट्न मनोनयन कोटा राखिएको नेताहरू बताउँछन् ।

    तर, महाधिवेशन भएको एक महिना बितिसक्दा पनि लामिछानेले मनोनयनबारे अन्तिम निर्णय लिन सकेका छैनन् ।

    प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेताको जिम्मेवारी दिने सहमति भए पनि अन्य पदाधिकारीबारे निर्णय टुंगिएको छैन ।

    लामिछाने उपसभापति, महामन्त्री र १८ जना केन्द्रीय सदस्य बालेन समूहलाई दिन तयार रहेको स्रोतको दाबी छ ।

    जेनजी आन्दोलनसँग जोडिएका प्रतिनिधि, घाइते तथा सहिद परिवारका सदस्यहरूलाई पनि बालेन समूहकै कोटाबाट समेट्ने चर्चा छ ।

    पछिल्ला दिनहरूमा रवि र बालेनबीच लगातार छलफल भए पनि बालेन समूहले आफ्नो तर्फबाट नाम नपठाएकाले बुधबारको बैठकमै सबै पदाधिकारी मनोनयन हुने सम्भावना कम रहेको लामिछानेनिकट एक पदाधिकारीले बताए ।

    यद्यपि, पार्टीको दैनिक सञ्चालनका लागि प्रवक्ता र कोषाध्यक्ष भने तत्काल मनोनयन गर्ने तयारीमा सभापति लामिछाने पुगेको निकट नेताहरूको भनाइ छ ।

    हाल प्रवक्तामा केन्द्रीय सदस्य प्रमोद न्यौपाने र कोषाध्यक्षमा लीमा अधिकारीको नाम चर्चामा छ ।

    तर, अन्तिम निर्णय सार्वजनिक गरिएको छैन ।

    आगामी बैठकमा महाधिवेशनको समीक्षा, आवश्यक तर्जुमा, सांगठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन र विविध गरी पाँच वटा एजेन्डा रहने बताइएको छ ।

    एक नेताका अनुसार बैठकमा प्रवक्ता, कोषाध्यक्ष र केही केन्द्रीय सदस्यको मनोनयन प्रस्ताव आउन सक्छ, तर अन्य पदाधिकारीको निर्णय भने तत्काल नआउने सम्भावना बढी छ ।

    उता, बालेन समूहले आफ्नो भागमा परेको पदाधिकारीमा कसलाई पठाउने भन्नेबारे अझै स्पष्ट निर्णय गरेको छैन ।

    बालेनका विश्वासपात्र सुनिल लम्साल, सुदीप ढकाल र भूपदेव शाहमध्येबाट पदाधिकारी चयन हुन सक्ने चर्चा छ। त्यसैगरी गृहमन्त्री सुधन गुरुङले पनि पदाधिकारी पदमा दाबी गरिरहेको नेताहरूले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images