काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गम्भीर आपराधिक आरोप खेपिरहेका तथा विवादित पृष्ठभूमिका व्यक्तिलाई पार्टीमा भित्र्याएपछि उसले उठाउँदै आएको सुशासन, नैतिकता र नयाँ राजनीतिक संस्कृतिमाथि प्रश्न उठेको छ ।
गौर नरसंहार प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले मुद्दा चलाउन सिफारिस गरेका बबन सिंहलाई पार्टी प्रवेश गराइएपछि रास्वपाभित्रै असन्तुष्टि देखिएको छ ।
यसअघि पनि सांसद आशिका तामाङ, धनञ्जय रेग्मीलगायत विवादित व्यक्तिलाई पार्टीमा स्थान दिइएको भन्दै आलोचना हुँदै आएको छ ।
त्यस्तै खुट्टा बाँच्ने अभिव्यक्ति दिने पूर्वाधारमन्त्री सुनिल लम्साल, विदेशी युवतीलाई भुँडी बोकाउने रास्वपा सांसद कृष्ण कार्कीलाई कुनै कारबाही गरिएको छैन ।
राजनीतिक विश्लेषकहरूका अनुसार कुनै व्यक्ति अदालतबाट दोषी ठहर नभएसम्म निर्दोष मानिए पनि राजनीतिक दलले सार्वजनिक विश्वास र नैतिक मापदण्डलाई प्राथमिकता दिनुपर्ने हुन्छ ।
पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीका अनुसार गम्भीर आरोप लागेका व्यक्तिहरू राजनीतिक संरक्षण खोज्दै दल परिवर्तन गर्ने प्रवृत्ति बढ्दो छ ।
रास्वपाका केही नेताहरूले पनि पृष्ठभूमि मूल्यांकनलाई कडाइ गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
रास्वपाका नेताहरूले अदालतबाट दोषी ठहर नभएसम्म सदस्यता दिन मिल्ने तर्क गरे पनि पार्टीका निर्णयले नै उसको विश्वसनीयता निर्धारण गर्ने विश्लेषकहरूको भनाइ छ ।
नयाँ राजनीतिक संस्कृतिको दाबी गर्ने रास्वपाले आफ्नै सार्वजनिक प्रतिबद्धताअनुसार पारदर्शी र नैतिक निर्णय गर्नुपर्ने दबाब बढ्दै गएको छ ।






















