images
images
  • प्रतिभाको कर्मचारीतन्त्र सुधारमा सोविताको रोक, ५५ फाइल कानुन मन्त्रालयको दराजमा बन्द

    काठमाडौं– कर्मचारीतन्त्र सुधारसँग प्रत्यक्ष जोडिएको संघीय निजामती सेवा ऐन संशोधनसम्बन्धी फाइल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको ५५ दिन बितिसक्दा पनि अघि बढ्न नसकेको स्रोतहरूले बताएका छन् ।

    यसले लामो समयदेखि प्रतिक्षामा रहेको कर्मचारीतन्त्र सुधार प्रक्रिया थप अन्योलमा परेको छ ।

    सरकारी स्रोतका अनुसार सम्बन्धित मन्त्रालयबाट आवश्यक प्रक्रिया पूरा गरी कानून मन्त्रालयमा पुगेको फाइल हालसम्म अन्तिम कानुनी राय र सहमतिका लागि रोकिएको छ ।

    यसबीच कानून मन्त्रालयभित्र नेतृत्व तहमा देखिएको मतभेद र समन्वय अभावका कारण प्रक्रिया सुस्त बनेको चर्चा प्रशासनिक वृत्तमा छ ।

    संघीय निजामती सेवा ऐन लामो समयदेखि नबन्दा कर्मचारी व्यवस्थापन, सरुवा, बढुवा, वृत्ति विकास, संघ–प्रदेश–स्थानीय तहबीचको कर्मचारी समायोजन तथा प्रशासनिक स्थायित्वका विषय प्रभावित हुँदै आएका छन् ।

    कर्मचारी संगठनहरूले पनि ऐनलाई यथाशीघ्र टुंग्याउन सरकारसँग पटक–पटक माग गर्दै आएका छन् ।

    प्रशासनविद्हरूका अनुसार ऐनमा भइरहेको ढिलाइले केवल कर्मचारी मात्र नभई सार्वजनिक सेवा प्रवाह, संघीय शासन प्रणालीको प्रभावकारिता तथा प्रशासनिक सुधारसमेत प्रभावित हुने जोखिम बढेको छ ।

    यद्यपि कानून मन्त्रालयका अधिकारीहरूले भने फाइल नियमित प्रक्रियामै रहेको र आवश्यक कानुनी परीक्षण भइरहेको बताएका छन् ।

    मन्त्रालयले ढिलाइ हुनुका वास्तविक कारणबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

    सरकारले कर्मचारीतन्त्रलाई समयानुकूल, उत्तरदायी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै आएको भए पनि महत्वपूर्ण कानुनी सुधारका फाइलहरू लामो समयसम्म अल्झिँदा सरकारको कार्यसम्पादन क्षमतामाथि नै प्रश्न उठ्न थालेको छ ।

    यस विषयमा सम्बन्धित मन्त्रालयहरूले स्पष्ट धारणा सार्वजनिक गरी प्रक्रिया छिटो टुंग्याउने अपेक्षा कर्मचारी वृत्त तथा सरोकारवालाहरूले गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images