काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दुवाडीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ ।
एलपी ग्यासको आपूर्ति सहज बनाउन नसकेको भन्दै तत्कालीन उद्योगमन्त्री गौरीकुमारी यादवले भदौ २५ मा राजीनामा दिएपछि सचिव दुवाडीको पनि सरुवा भएको हो ।
गत असार ३० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उद्योग मन्त्रालयमा सरुवा भएका दुवाडी करिब दुई महिनामै मन्त्रालयबाट बाहिरिएका हुन् ।
असोज २ गतेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा भएका रुद्रसिंह तामाङलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ ।
दुवाडी उद्योग सचिव रहेकै समयमा लामो समयदेखि एलपी ग्यासको आपूर्ति असहज बनेपछि उनको कार्यक्षमतामाथि संसद् तथा सार्वजनिक रूपमा प्रश्न उठेको थियो ।
भदौ २४ गते प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा पनि ग्यास आपूर्ति व्यवस्थापनबारे मन्त्री यादव र सचिव दुवाडीमाथि सांसदहरूले प्रश्न गरेका थिए ।
यसैबीच, नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहले ग्यास आपूर्ति सहज बनाउन भारतबाट दैनिक आपूर्ति बढाउने पहल अघि बढाएका छन् ।
नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनलाई केही दिनका लागि दैनिक १६० बुलेट ग्यास पठाउन आग्रह गरेको थियो ।
मन्त्री साहले दसैँ, तिहार र छठका बेला ग्यास, चिनी लगायत अत्यावश्यक वस्तुको अभाव हुन नदिने बताएका छन् ।
उपत्यकामा दैनिक ५० हजार सिलिन्डर ग्यास आपूर्ति गर्ने प्रतिबद्धता उद्योगीबाट प्राप्त भएको र त्यसको दैनिक अनुगमन भइरहेको उनको भनाइ छ ।





















