images
images
  • सरुवा भएको ठाउँमा नजाने कर्मचारीको तलब–भत्ता लेखा प्रमुखबाट असुल गर्ने चेतावनी

    काठमाडौं– सरुवा भएर पनि तोकिएको कार्यालयमा हाजिर नहुने कर्मचारीको समस्या बढेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कडा चेतावनी दिएको छ ।

    मन्त्रालयले मंगलबार परिपत्र गर्दै सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रमाना दिन निर्देशन दिएको छ ।

    रमाना नदिने कार्यालय प्रमुख र साबिककै कार्यालयबाट तलब–भत्ता भुक्तानी दिने लेखा प्रमुखबाट उक्त रकम असुलउपर गर्ने चेतावनीसमेत दिइएको छ ।

    निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५० अनुसार सरुवा भएको कर्मचारीले २१ दिन र बाटोको म्यादबाहेक सात दिनभित्र नयाँ कार्यालयमा हाजिर हुनुपर्छ ।

    तर, पछिल्लो समय बहाली म्याद सकिँदासमेत रमाना नदिने, विभिन्न बहानामा पुरानै कार्यालयमा राखेर काम गराउने र तलब–भत्ता भुक्तानी गर्ने प्रवृत्ति बढेको मन्त्रालयले जनाएको छ ।

    यसले स्थानीय तहमा जनशक्ति अभाव भई सेवा प्रवाहमा गम्भीर समस्या सिर्जना भएको मन्त्रालयको भनाइ छ ।

    रमाना नदिई तलब–भत्ता भुक्तानी भएको पाइएमा लेखापरीक्षणमा बेरुजु कायम गर्न महालेखा परीक्षकको कार्यालय र महालेखा नियन्त्रकको कार्यालयलाई समेत परिपत्र गरिएको छ ।

    मन्त्रालयले सरुवासम्बन्धी निर्णय कार्यान्वयन नहुने अवस्थालाई अन्त्य गर्न यो कदम चालेको जनाउँदै यसले प्रशासनिक स्थिरता र सरुवा निर्णय कार्यान्वयनमा प्रभावकारिता ल्याउने विश्वास व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images