काठमाडौं– करोडौँ रुपैयाँको आर्थिक लेनदेन, ठगी, चेक चोरी, किर्ते हस्ताक्षर र ब्ल्याकमेलको आरोपसँगै प्रतिनिधिसभा सदस्य आशिका तामाङको नाम जोडिएपछि एक विवादास्पद प्रकरण सार्वजनिक भएको छ ।
अमेरिकामा बसोबास गर्दै आएकी कुष्मा बुढाथोकी र झापाका जीवनप्रसाद बास्कोटाबीचको आर्थिक विवादले अहिले प्रहरी र राष्ट्रिय मानवअधिकार आयोगसम्मको ध्यान तानेको छ ।
पीडित परिवारले जीवनप्रसाद बास्कोटाले क्यान्सर पीडित डम्बरबहादुर बुढाथोकीको उपचार तथा बीमा प्रक्रियाको बहानामा विश्वास जितेर करोडौँ रुपैयाँ ठगी गरेको आरोप लगाएका छन् ।
त्यति मात्र होइन, परिवारको घरबाट चेकबुक चोरी गरी किर्ते हस्ताक्षरका आधारमा चेक काटिएको र पछि त्यसैलाई आधार बनाएर धम्की तथा ब्ल्याकमेल गरिएको उनीहरूको दाबी छ ।
पीडित पक्षका अनुसार बास्कोटाले आफूलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उच्च तहको कर्मचारी भन्दै २०७७ सालतिर परिवारसँग निकटता बढाएका थिए ।
क्यान्सरबाट पीडित डम्बरबहादुरको उपचार तथा बीमा दाबी प्रक्रियामा सहयोग गर्ने आश्वासन दिँदै उनले पहिलो चरणमा २५ लाख रुपैयाँ लगेका थिए ।
सो रकम जुटाउन परिवारले सुनसमेत बिक्री गरेको दाबी गरिएको छ ।
२०७७ पुस ७ गते डम्बरबहादुरको निधन भएपछि बीमाको कागजी प्रक्रिया पूरा गर्नुपर्ने भन्दै बास्कोटाले परिवारसँग थप आर्थिक सहयोग मागेको आरोप छ ।
पीडित परिवारका अनुसार सर्लाहीस्थित जग्गा बिक्री गरेर प्राप्त रकममध्ये ३० लाख रुपैयाँ उनलाई दिइयो ।
त्यसपछि सानिमा बैंकबाट सेयर धितो कर्जा निकालेर स्वीकृत ४२ लाखमध्ये ३० लाख ५० हजार रुपैयाँ आरटीजीएसमार्फत बास्कोटाको खातामा पठाइएको बताइएको छ ।
परिवारको दाबीअनुसार विभिन्न चरणमा गरेर बास्कोटाले कुल २ करोड ८ लाख रुपैयाँ लिएका छन् ।
घटनाले नयाँ मोड तब लियो जब अमेरिका पुगेकी कुष्मा बुढाथोकीले आफ्नो निष्क्रिय बैंक खातासँग सम्बन्धित दुई वटा चेक बाउन्स भएको सूचना प्राप्त गरिन् ।
पहिलो चेक जीवनप्रसाद बास्कोटाको नाममा १ करोड ८५ लाख रुपैयाँको रहेको बताइएको छ ।
त्यसको केही समयपछि सोही चेकबुकको अर्को पानाबाट प्रतिनिधिसभा सदस्य आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक बाउन्स भएको जानकारी आएको परिवारको भनाइ छ ।
कुष्मा बुढाथोकीले आफू नेपालबाहिर रहेको अवस्थामा घरबाटै चेकबुक चोरी गरी किर्ते हस्ताक्षरका आधारमा चेक काटिएको दाबी गरेकी छन् ।
उनका अनुसार उक्त खातामा यसअघि कहिल्यै यति ठूलो रकमको कारोबार नभएको र चेकबुक कसरी बाहिर पुग्यो भन्ने विषय गम्भीर अनुसन्धानको विषय हो ।
पीडित परिवारले आशिका तामाङको नाममा चेक बाउन्स भएपछि आफूहरूलाई विभिन्न व्यक्तिमार्फत धम्कीसमेत आएको आरोप लगाएका छन् ।
परिवारका अनुसार आशिका तामाङको सचिवालयसँग सम्बन्ध रहेको दाबी गर्ने व्यक्तिले रकम नतिरे सीआईबी, इन्टरपोल तथा अन्य माध्यम प्रयोग गरेर अमेरिका रहेकी कुष्मालाई पक्राउ गराउने धम्की दिएका थिए ।
प्रहरीले प्रारम्भमा जाहेरी दर्ता गर्न आनाकानी गरेको आरोपसमेत परिवारले लगाएको छ ।
प्रहरीबाट न्याय नपाएको भन्दै उनीहरूले राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका थिए ।
आयोगले प्रहरीलाई उजुरी दर्ता गरी आवश्यक छानबिन गर्न निर्देशन दिएपछि मात्रै प्रहरीले मुद्दा दर्ता गर्ने आश्वासन दिएको पीडित पक्षको भनाइ छ ।
यता, आरोपित जीवनप्रसाद बास्कोटाले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन् ।
उनले यो विषय व्यक्तिगत आर्थिक लेनदेनसँग सम्बन्धित रहेको दाबी गर्दै ठगी, चेक चोरी, किर्ते र ब्ल्याकमेलका आरोप निराधार भएको बताएका छन् ।
बास्कोटाले खातामा रकम अभावका कारण चेक बाउन्स भएको हुन सक्ने उल्लेख गर्दै हस्ताक्षर नमिलेको भन्ने कुनै आधिकारिक निष्कर्ष बैंकले नदिएको बताएका छन् ।
साथै सांसद आशिका तामाङसँग आफ्नो कुनै सम्बन्ध, मिलेमतो वा पहुँच नभएको र उनीसँग सम्बन्धित विषयबारे आफू अनभिज्ञ रहेको उनको दाबी छ ।
प्रकरणमा सांसद आशिका तामाङको नाम जोडिनु, करोडौँ रुपैयाँको चेक बाउन्स हुनु, चेकबुक चोरी तथा किर्ते हस्ताक्षरको आरोप लाग्नु र प्रहरीले प्रारम्भिक चरणमा जाहेरी लिन अस्वीकार गरेको दाबी गरिनुले घटनालाई थप संवेदनशील बनाएको छ ।
अब प्रहरी अनुसन्धानले वास्तविकता के हो भन्ने स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।






















