images
images
  • जुडोको ‘टिम म्यानेजर’ बनेर टोकियो ओलम्पिकमा जाँदै वामदेवपत्नी तुलसा

    काठमाडौं । शुक्रबारदेखि सुरु हुने टोकियो ओलम्पिकमा नेपालले चार खेलमा पाँच खेलाडी उतार्दै छ । उनीहरूसँग चार प्रशिक्षक पनि छन् । तर, व्यवस्थापकका नाममा १५ खेल पदाधिकारी टोकियो जाँदै छन् । त्यसरी जानेमा एमाले नेता वामदेव गौतमकी पत्नी तुलसा थापा पनि छिन् । सांसदसमेत रहेकी उनले जुडोको ‘टिम म्यानेजर’ बनेर टोकियो सयर गर्नेछिन् ।

    नेपालले जुडोसँगै सुटिङ, पौडी र आर्चरीमा प्रतिस्पर्धा गर्दै छ । तर, टोकियो जानेमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र एनओसीका पदाधिकारी धेरै छन् । एनओसीबाट आठ, परिषद्बाट तीन र मन्त्रालयबाट सचिव केदार न्यौपाने टोकियो जाँदै छन् । उनी एनओसीको अट्याचीका रूपमा सहभागी हुनेछन् ।

    तुलसा थापा नेपाल कबड्डी संघकी अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटी (एनओसी)की सचिव पनि हुन् । उनीसँगै जुडोको ‘टिम म्यानेजर’का रूपमा नेपाल तेक्वान्दो संघका अध्यक्ष तथा एनओसीका सदस्य प्रकाशशमशेर राणा पनि टोकियो जाँदै छन् । जब कि तेक्वान्दोमा नेपाल सहभागी नै छैन ।

    त्यस्तै, राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष तथा एमाले कार्यकर्ता पीताम्बर तिम्सिना एथलेटिक्सको टिम म्यानेजरका रूपमा टोकियो पुगेका छन् । एनओसीका सहमहासचिवसमेत रहेका उनी लामो समयदेखि अमेरिकामा बस्दै आएका थिए । त्यतैबाट उनी टोकियो पुग्नेछन् ।

    एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य भने ओलम्पिकमा कोभिड लाइसेन्स अफिसरका रूपमा सहभागी हुँदै छन् । उनी टोकियो पुगिसकेका छन् । त्यस्तै, एनओसीका अर्का उपाध्यक्ष तथा फेन्सिङ संघका अध्यक्ष सुनीलकुमार श्रेष्ठ सुटिङका ‘टिम म्यानेजर’ बनेका छन् । एनओसीका सदस्य तथा बक्सिङ संघका अध्यक्ष राम अवाले पौडीको ‘टिम म्यानेजर’का रूपमा जाँदै छन् ।

    परिषद्का सदस्यद्वय सुभाष श्रेष्ठ र सम्पन्न श्रेष्ठ प्रशासनिक सदस्यका रूपमा सहभागी बन्दै छन् । नेपाली टोलीको मेडिकल सदस्यका रूपमा नविशमानसिंह प्रधान जाँदै छन् । त्यस्तै, टोकियोस्थित नेपाली दूवातासका कर्मचारी प्रेम बराल र रूपेश डंगोललाई पनि एनओसीले आफ्नो कोटामा अटाएको छ ।

    नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले आफू टर्कीमा रहेका वेला एनओसीले तुलसा र राणालाई व्यवस्थापकका रूपमा पठाउने निर्णय गरेको बताए । ‘म जुडोको इभेन्ट्समा टर्कीमा रहेका वेला एनओसीले यस्तो निर्णय गरेछ । यो राम्रो होइन । यसमा मैले विरोध जनाएको थिएँ,’ उनले भने, ‘हाम्रो खेलमा मात्र होइन, अन्य खेलमा पनि यस्तै भएको छ ।’

    यसअघि सन् १९८८, २००८, २०१२ तथा २०१६ को ओलम्पिकमा जुडो खेलमा जुडोकै पदाधिकारी ‘टिम म्यानेजर’का रूपमा गएको बज्राचार्यले बताए । अहिले जुडोको ‘टिम म्यानेजर’ भएर टोकियो जाने तयारीमा रहेका थापा र राणालाई आफूले जुडोका सामान्य नियम सिकाएको उनले बताए । ‘तपाईंहरू जुडोको टिम म्यानेजर भएर जाँदै हुनुहुन्छ । खेलका सामान्य नियम पनि नजाने देशकै बेइज्जत हुन्छ । त्यसैले न्यूनतम जानकारी त राख्नैपर्छ भनेर मैले उहाँहरूलाई जुडोका केही नियम सिकाएको छु,’ बज्राचार्यले भने ।

    एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको आमन्त्रित सदस्यका रूपमा सहभागी भएका छन् । अध्यक्ष श्रेष्ठले ३६ घन्टाको यात्रापछि मंगलबार टोकियो पुगेको भन्दै सामाजिक सञ्जालमा फोटो राखेका छन् । त्यस्तै, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल नेपाली टोलीका सेभ द मिसनका रूपमा गत साता नै टोकियो पुगिसकेका छन् । गत महिना मात्रै उनी कुवेतमा सम्पन्न २०२२ को कतार विश्वकपअन्तर्गत एसियन छनोटमा नेपाली राष्ट्रिय टोलीकै सदस्यका रूपमा सहभागी भएका थिए ।

    राष्ट्रिय खेलकुद कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले राज्यको कोष दुरुपयोग गर्दै खेल पदाधिकारी टोकियो गइरहेको बताए । उनले १ साउनमा विज्ञप्ति जारी गर्दै पदाधिकारीका नाममा घुमफिरमा राज्यकोषको दोहन गर्ने कार्य गलत भएको बताएका छन् । ‘सम्बन्धित खेलका व्यक्ति चयन हुनुपर्ने र असम्बन्धित संघका पदाधिकारीलाई टिम म्यानेजरका रूपमा जापान पठाउनु निन्दनीय र घृणित कार्य हो,’ उनले भनेका छन् ।

    एनओसीका महासचिव श्रेष्ठले सबैलाई अनुभव सँगाल्ने उद्देश्यले नै सदस्यहरूलाई पालैपालो लगिएको बताए । ‘चार–चार वर्षमा ओलम्पिक आउँछ, गइसकेकाले यसपटक मौका पाउँदैनन्,’ उनले भनेका छन् । परिषद् स्रोतका अनुसार ओलम्पिक कमिटीले नै नेपाली टोलीका सेभ द मिसनसहित अन्य १४ जना पदाधिकारीको भ्रमण भत्ता निकासा गर्न निवेदन पेस गरेको छ । प्रत्येक पदाधिकारीको खर्च कम्तीमा सातदेखि नौ लाखसम्म हुने स्रोतको भनाइ छ ।

    ओलम्पिकमा सहभागी खेलाडी :
    कल्पना परियार (सुटिङ), सोनिय भट्ट (जुडो), सरस्वती चौधरी (एथलेटिक्स), गौरिका सिंह (पौडी), एलेक्जान्डर गडिगाड शाह (पौडी)

    प्रशिक्षक स् असिम यादव (सुटिङ), सूर्यनारायण चौधरी (जुडो), इन्द्राकुमारी मल्ल (एथलेटिक्स), शंकर कार्की (पौडी)

     

    प्रतिक्रिया दिनुहोस्

    images
    Bishwokhar.com: News from Nepal
    images