काठमाडौं- नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहणका लागि संघीय संसद् सचिवालयले तयारी पूरा गरेको छ ।
सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाका अनुसार शपथ र सभाका प्रारम्भिक बैठकका लागि आवश्यक तयारी पूरा भएको हो ।
उनका अनुसार मुख्य हल निर्माण नहुँदासम्मका लागि बहुउद्देश्यीय हललाई नै प्रयोग गरिनेछ ।
त्यसका लागि आवश्यक कुर्सी, साउन्ड सिस्टम, भिडियो सिस्टमलगायत व्यवस्थापन भइसकेको उनले बताए । त्यस्तै, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ वटै दलका लागि संसदीय सचिवालयसमेत उपलब्ध गराइसकेको कोइरालाले बताए ।
नवनिर्वाचित सांसदहरूको शपथ भोलि १२ गते सोही बहुउद्देश्यीय हलमा हुँदै छ । संसद् सचिवालयका अनुसार मंगलबारसम्म ३८ जनाले मातृ भाषामा शपथ लिन दर्ता गराइसकेका छन् भने बुधबार यो संख्या अझ थपिन सक्ने जनाइएको छ ।
यस पटक संस्कृतसँगै, मैथिली, भोजपुरी, डोटेलीलगायत भाषामा सांसदहरूले शपथ लिँदै छन् ।
कामचलाउ हिसाबमा बहुउद्देश्यीय हल तयार गरिए पनि संयुक्त सदन सञ्चालनका लागि भने समस्या पर्न सक्ने सचिवालयको आकलन छ ।
तर, हाल व्यवस्थापन गरिएका कुर्सीको ग्याप कम गरेर थप कुर्सी व्यवस्थापन गरेर भए पनि बैठक सञ्चालन गर्नुपर्ने बाध्यता रहेको सहायक प्रवक्ता कोइराला बताउँछन् ।
‘संयुक्त सदनमा राष्ट्रपतिज्यूले मात्र सम्बोधन गर्ने र सभामुखले धन्यवाद ज्ञापन गर्ने र अन्य सांसदले बोल्नुनपर्ने भएकाले कुर्सी थप गरेर भए पनि बैठक सञ्चालन गर्न सकिन्छ भन्ने छ,’ कोइरालाले भने ।
२०६५ मा सिंहदरबारबाट बाहिरिएको थियो संसद्
पहिलो संविधानसभा चुनावपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ ।
गत २१ फागुनको चुनानवबाट गठित प्रतिनिधिसभाको बैठक अब सिंहदरबारस्थित निर्माणाधीन आफ्नै भवनमा बस्नेछ ।
२८ चैत, २०६४ मा भएको चुनावबाट ६०१ सदस्यीय संविधानसभा गठन भएपछि पुरानो संसद् ९ग्यालरी बैठक० भवन साँघुरो भएकाले संसद्को अधिवेशन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको थियो ।
संविधानसभाअघिसम्म भने संसद् बैठक सिंहदरबारस्थित ग्यालरी बैठक भवनमै बस्दै आएको थियो । नेपालको संसदीय इतिहास (२०१६ साल) त्यही भवनबाट सुरु भएको थियो ।
राष्ट्रियसभाको बैठक भने यसअघि गत माघ ४ गतेदेखि नै अस्थायी रूपमा सिंहदरबारस्थित कृषि समितिको बैठक कक्षमा बस्दै आएको छ ।
संघीय संसद् सचिवालयले संविधानसभा बैठकका लागि २०६५ जेठदेखि भाडा र कर्मचारी परिचालनसहित वार्षिक ५ करोड ६० लाख रुपैयाँ तिर्ने गरी बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिसँग सम्झौता गरेको थियो ।
प्रत्येक वर्ष १० प्रतिशतका दरले भाडा वृद्धि भई पछिल्लो समय गत असोजसम्म आइपुग्दा वार्षिक १६ करोड ५० लाख रुपैयाँ पुगेको थियो ।
सचिवालयले संसदीय गतिविधिका लागि समितिको १५३ रोपनी क्षेत्रफलमा रहेका मुख्य सभाहलसहित ८ वटा विभिन्न हल, विशिष्ट कक्ष, पार्किङ, बगंँचालगायत, त्यसभित्रका सम्पूर्ण क्षेत्र प्रयोग गर्दै आएको थियो ।
तर, गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन ध्वस्त भएपछि संसद् सचिवालयले गत असोजदेखि एकतर्फी रूपमा उक्त सम्झौता रद्द गरिसकेको छ ।
६ वर्षमा पनि बनिसकेन भवन
सिंहदरबारस्थित पुतली बगैँचामा १ असोज, २०७६ मा नयाँ संसद् भवनको शिलान्यास गरिएको थियो ।
सहरी विकास तथा भवन निर्माण विभागका अनुसार भवनको अधिकांश काम सकिएको छ भने केही प्राविधिक काम बाँकी छ ।
तर, पूर्ण रूपमा निर्माण नभइसकेको र मुख्य हल पनि निर्माण बाँकी नै रहेकाले संसद् सचिवालयले सोही भवनको बहुउद्देश्यीय हल तत्कालका लागि प्रयोग गर्नेछ ।
सचिवालयका अनुसार मुख्य हल तयार हुन केही समय लाग्ने भएपछि तत्कालका लागि वैकल्पिक व्यवस्था गरी शपथ ग्रहण र प्रारम्भिक बैठकका लागि वैकल्पिक हलको व्यवस्था गरिएको छ ।
भवन निर्माण विभागका अनुसार संसद् भवनको सिभिल निर्माणतर्फ करिब साढे ५ अर्ब हाराहारी खर्च हुने अनुमान छ भने इन्टेरियरका लागि थप २ अर्ब ३४ करोड लागत अनुमान छ ।
१५१ रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भइरहेको नयाँ संसद् भवन तयार भएपछि संघीय संसद्का सम्पूर्ण गतिविधि यहीँबाट सञ्चालन हुनेछन् ।
यसमा प्रतिनिधिसभा र राष्ट्रियसभाका भवन, अतिविशिष्ट कक्ष र अन्य कार्यालयलगायत १२ भवन हुनेछन् । संसद् भवनभित्र मुख्य भवन ८ वटा छन् ।
भवनभित्र ३५० सिट क्षमताको संयुक्त लबी हुनेछ भने सानाठुला गरी १० वटा संसदीय दलका कार्यालय हुनेछन् । साथै ४ अतिरिक्त विशिष्ट कक्ष, २ संसद् सचिवालय भवन, संसद् लाइब्रेरीलगायत संरचना निर्माण गरिएको छ । -पत्रपत्रिकाबाट























