काठमाडौं – जेरुसेलम, इजरायलका न्यायाधीशहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध लगाइएका घुस खोरीसम्बन्धी आरोप फिर्ता लिन अभियोजनकर्ताहरूलाई सुझाव दिएका छन् । यसले आफ्नो राजनीतिक अस्तित्व जोगाउन सङ्घर्ष गरिरहेका कार्यवाहक प्रधानमन्त्री नेतान्याहुलाई राहत मिल्ने सम्भावना छ । न्यायाधीशहरूले पहिलो मुद्दामा दोषी ठहर हुने सम्भावना निकै कम रहेको भन्दै महान्यायाधिवक्तालाई पुनर्विचार गर्न आग्रह गरेका हुन् । उक्त मुद्दामा सकारात्मक सञ्चारमाध्यमको समाचार प्रकाशन गराउन नेतान्याहुले सरकारी सुविधा उपलब्ध गराएको आरोप छ ।
न्यायाधीशहरूले दोस्रो भ्रष्टाचार मुद्दामा नेतान्याहुको कार्य आपराधिक आचरणको दायरामा पर्ने वा नपर्ने भन्ने विषयमा पनि प्रश्न उठाएका छन् । तेस्रो मुद्दामा भने अभियोजनकर्ताहरूलाई अभियोजन सम्झौता ९प्ली बार्गेन० का लागि पहल गर्न सुझाव दिएका छन् ।नेतान्याहुले आफूमाथिका सबै आरोप निरन्तर अस्वीकार गर्दै आएका छन् । बुधवार उनले आफ्नो विरुद्धको मुद्दा ‘तत्काल’ अन्त्य गर्न माग गरे । टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले भने, ‘मेरो, मेरो परिवार र मेरो छोराका लागि १० वर्षको भयानक पीडा भएको छ ।’
उनले थपे, ‘घृणा फैलाउने १० वर्ष लामो अभियानले आत्मालाई नै चोट पुर्याएको छ।’ नेतान्याहुविरुद्ध सन् २०१९ मा पहिलो पटक औपचारिक अभियोग दर्ता गरिएको थियो । पछिल्लो समय इजरायल र गाजाबीच भएको युद्धलगायतका कारण अदालतको सुनुवाइ लम्बिएको छ । अहिले गम्भीर प्रश्न उठाइएको मुद्दा ‘केस ४,०००’ हो । यसमा इजरायलको सबैभन्दा ठुलो दूरसञ्चार कम्पनीका प्रमुख सेयर धनी र नेतान्याहुबीच कथित ‘पारस्परिक लाभको सम्झौता’ भएको आरोप छ । दुवै पक्षले कुनै पनि गलत काम नगरेको दाबी गर्दै आएका छन् ।
अत्यन्त असामान्य कदम चाल्दै जेरुसेलम जिल्ला अदालतका न्यायाधीशहरूको इजलासले बुधवार इजरायलकी महान्यायाधिवक्ता गाली बहराभ–मियारालाई अदालतमा उपस्थित हुन बोलाएको थियो । इजरायली सञ्चारमाध्यमका अनुसार न्यायाधीश रिभ्का फ्रिडम्यान–फेल्डम्यानले महान्यायाधिवक्तालाई भनिन्, ‘दोषी ठहर हुने सम्भावना निकै कम छ । यति कम कि यस विषयमा पुनर्विचार गर्नुपर्ने अवस्था छ ।’
न्यायाधीशहरूले दोस्रो मुद्दा ‘केस २,०००’ मा पनि नेतान्याहुको गतिविधि आपराधिक ठहर हुने आधारबारे शङ्का व्यक्त गरेका छन् । उक्त मुद्दामा अर्का एक सञ्चारमाध्यमका प्रभावशाली सञ्चालकसँग नेतान्याहुले कथित रूपमा पारस्परिक लाभको सम्झौता गरेको आरोप छ । तेस्रो मुद्दा ‘केस १,०००’ मा भने न्यायाधीशहरूले दोषी ठहर हुन सक्ने सम्भावनालाई खुला राखेका छन् । यस मुद्दामा अस्ट्रेलियाका एक अरबपतिबाट चुरोट ९सिगार० र स्याम्पेन उपहार पाएपछि नेतान्याहुले ती अरबपतिको हितमा काम गरेको आरोप लगाइएको छ ।
यद्यपि, सार्वजनिक हितलाई ध्यानमा राख्दै मुद्दा अघि बढाउने प्रक्रियाबारे पुनर्विचार गर्नुपर्ने न्यायाधीशहरूले महान्यायाधिवक्तालाई बताएका छन् । महान्यायाधिवक्ता बहराभ–मियाराले न्यायाधीशहरूको सुझावमाथि विचार गर्ने बताएकी छन् । नेतान्याहु इजरायलमा बहालवाला प्रधानमन्त्री रहेकै अवस्थामा आपराधिक मुद्दाको सामना गर्ने पहिलो प्रधानमन्त्री बनेको ६ वर्ष भइसकेको छ ।
उनले आफू राजनीतिक प्रतिशोधको सिकार भएको दाबी गर्दै आएका छन् । बुधवार उनले आफूमाथिका ‘कपोलकल्पित मुद्दा’ अहिले आफैँ कमजोर हुँदै गएको बताए ।
गाजामा युद्ध चलिरहँदा नेतान्याहु सत्तामै रहे र आउनीविरुद्धका मुद्दाहरू अदालतमा अघि बढिरहे । तर द्वन्द्वका कारण उत्पन्न सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै न्यायाधीशहरूले सुनुवाइको सङ्ख्या घटाउन सहमति जनाएका थिए । नेतान्याहुविरुद्धका आरोपले इजरायली राजनीतिमा ठुलो हलचल ल्याएका छन् र पहिलेदेखि नै गहिरिएको राजनीतिक विभाजनलाई थप चर्काएका छन् । आउनीविरुद्धको मुद्दा चलिरहेकै समयमा नेतान्याहु नेतृत्वको सरकारले विवादास्पद तथा व्यापक न्यायिक सुधारका कार्यक्रम अघि बढाएको थियो ।
उनका राजनीतिक विरोधीहरूको आरोपमा जेल जाने डरले प्रधानमन्त्रीका रूपमा नेतान्याहुको निर्णय क्षमतामा असर पारेको छ । सत्ता टिकाइराख्न उनी अतिवादी दक्षिणपन्थी गठबन्धनका साझेदारहरूमाथि झन् निर्भर बनेका छन् । पछिल्लो घटनाक्रमले नेतान्याहुलाई राजनीतिक रूपमा थप बल पुर्याउने देखिएको छ । गत महिना भएको अनिर्णयका आमनिर्वाचनपछि उनका राजनीतिक प्रतिद्वन्द्वी गादी आइजेनकोट नयाँ गठबन्धन सरकार गठन गर्ने प्रयासमा छन् ।
नेतान्याहुको संसदीय गठबन्धनले उनका प्रतिस्पर्धीको तुलनामा बढी सिट जिते पनि दुवै पक्षले स्पष्ट बहुमत हासिल गर्न सकेनन् । इजरायलका राष्ट्रपतिले नयाँ सरकार गठनका लागि पहिलो अवसर आइजेनकोटलाई दिएका छन् । यसैबिच, नेतान्याहुविरुद्ध गाजामा युद्ध अपराध तथा मानवताविरुद्धको अपराध गरेको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले जारी गरेको पक्राउ पुर्जी अझै कायम छ । नेतान्याहुले यी आरोपसमेत अस्वीकार गर्दै आएका छन् ।






















