काठमाडौं – जलवायु परिवर्तनका कारण तीव्र गतिमा विस्तार भइरहेका र विस्फोटको उच्च जोखिममा रहेका नेपालका चार वटा हिमतालको जलसतह घटाउने आयोजना कार्यान्वयनमा गएको छ । हिमताल विस्फोटबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सरकारले ग्लोफ सञ्जीवनी आयोजना अघि बढाएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको नेतृत्वमा सञ्चालन हुने आयोजनाले हिमतालको जलसतह घटाउनुका साथै हिमाली नदी जलाधार क्षेत्रमा विपत् जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली सुदृढीकरण र स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग गर्ने लक्ष्य लिएको छ ।
काठमाडौंमा बुधबार आयोजित आयोजनाको उद्घोष कार्यशालामा जल तथा ऊर्जा आयोगका सचिव नवीनराज सिंहले पछिल्ला वर्षमा हिमबाढी र हिमताल विस्फोटका घटनाले नेपालमा ठूलो जनधनको क्षति गराइरहेको बताए । हालैको भोटेकोशी हिमबाढीबाट पाठ सिक्दै हिमतालको जलसतह घटाउने कामलाई कार्यान्वयनमा लगिएको उनले जानकारी दिए ।
“तीस वर्षको अन्तरालमा कैयौँ किलोमिटर पर सर्दै र गहिरो हुँदै गएका हिमतालको पानी घटाएनौँ भने मानवबस्ती मात्र होइन, अहिलेसम्म प्राप्त गरेको विकास पूर्वाधार पनि विस्फोटसँगै बगेर सकिनेछ,” उनले भने । चार वटा हिमतालमा मात्रै सीमित नभई अन्य जोखिमयुक्त हिमतालको जलसतह पनि छिटो घटाउन आवश्यक रहेको उनको भनाइ थियो ।
विश्व तापक्रम वृद्धिमा नेपालको योगदान नगण्य भए पनि जलवायु परिवर्तनको असर नेपाली हिमालमा अत्यधिक परेको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बरालले बताए । “हिमताल बढेर शिरमा तरबारको धार बनेर बसेको छ । जलसतह कम गर्न विभिन्न निकायसँग एकीकृत सहकार्यमा आयोजना अघि बढाइनेछ,” उनले भने।
आयोजनाका निर्देशक तथा केन्द्रका उपकार्यकारी निर्देशक डा. राजन भट्टराईका अनुसार सन् २०१८ देखि तयारी भइरहेको परियोजना अब तालक्षेत्रमै पुगेर काम गर्ने चरणमा प्रवेश गरेको हो । विगतका अध्ययनअनुसार नेपाल, भारत र चीनमा गरी ४७ वटा हिमताल कुनै पनि बेला विस्फोट हुन सक्ने उच्च जोखिममा छन् । नेपालले यसअघि सन् २००२ मा च्छोरोल्पा र सन् २०१६ मा इम्जा हिमतालको जलसतह घटाएको अनुभव हासिल गरिसकेको छ । आयोजनाले हिमताल विस्फोटबाट उत्पन्न हुने बहुप्रकोपीय जोखिम कम गर्दै आमनागरिकको जीविकोपार्जनमा सहयोग पुर्याउने लक्ष्य लिएको डा. भट्टराईले जानकारी दिए ।
मनाङको नासोङ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले हिमालका काखमा नयाँ तालहरू बन्न थालेपछि स्थानीयको जीवन जोखिममा परेको बताए । “प्राकृतिक गङ्गापूर्ण ताल सुकेपछि कृत्रिम बनाउनुपरेको छ । कतिपय हिमाली गाउँमा पानीका मुहान छैनन् । आकस्मिक बाढी र पहिरो बढेको छ,” उनले भने ।
नेपाल सरकार, ग्रिन क्लाइमेट फन्डको आर्थिक सहयोग तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम .युएनडिपी) को प्राविधिक सहकार्यमा सञ्चालन हुने आयोजनाका लागि पाँच अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । १५ वर्षे आयोजनाअन्तर्गत सन् २०२६ देखि २०३३ सम्मको पहिलो सात वर्षमा हिमतालको जलसतह घटाउने काम गरिनेछ । त्यसपछिका आठ वर्ष तल्लो तटीय क्षेत्रमा सुरक्षा, मर्मतसम्भार र व्यवस्थापन प्रणाली सुदृढीकरणमा केन्द्रित हुनेछन् ।
आयोजनामा ऊर्जा मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल पर्यटन बोर्ड, चुरे तथा जोखिमयुक्त सिमसार संरक्षण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मौसम विज्ञान विभागलगायतका निकायले सहकार्य गर्नेछन् । पहिलो वर्ष चार वटा हिमतालको सर्वेक्षण, वातावरणीय प्रभाव मूल्याङ्कन र कार्ययोजना निर्माण गरिनेछ । दोस्रो वर्ष विश्वव्यापी बोलपत्र आह्वान गरी अध्ययनका आधारमा हिमतालको जलसतह घटाउने कामका लागि सम्बन्धित निकाय छनोट गरिनेछ ।
आयोजनाबाट प्रत्यक्ष रूपमा चार लाख र अप्रत्यक्ष रूपमा २० लाख गरी करिब २४ लाख जनसङ्ख्यालाई लाभ पुग्ने अनुमान गरिएको डा. भट्टराईले जानकारी दिए । आयोजनाले सरकारी संस्थाको जलवायु जोखिम अनुगमन क्षमता बढाउने, जलवायु सूचना उत्पादन गर्ने तथा योजना र निर्णय प्रक्रियामा आवश्यक दक्षता विकास गर्नेछ । सुधारिएको अनुगमन प्रणाली र विस्तारित पूर्वसूचना प्रणालीमार्फत हिमताल विस्फोट तथा हिमबाढीको जोखिममा रहेका समुदायलाई समयमै सूचना उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
क्लाइमेट इन्भेस्टमेन्ट प्रिन्सिपल तथा ग्रिन क्लाइमेट फन्ड सचिवालयका डा. बापुन फखरुद्धिनले सर्वसाधारणलाई जलवायुजन्य प्रकोपबारे जागरुक बनाउने कार्यक्रम पनि आयोजनामा समावेश रहेको बताउए । नेपालस्थित युएनडिपीका आवासीय प्रतिनिधि क्योको योकोसुकाले प्रकृतिमा आधारित समाधानमार्फत जोखिमयुक्त नदी जलाधार क्षेत्रमा जीविकोपार्जन, पूर्वाधार र तल्लो तटीय पारिस्थितिक प्रणालीको सुरक्षा गर्न आयोजना सहयोगी हुने बताए ।
नेपालका हिमालमा विगत छ दशकयता हिउँ पग्लने क्रम ६५ प्रतिशतले बढेको र हिमालमा हिउँको मात्रा २३ प्रतिशतले घटेको तथ्याङ्क रहेको आयोजनाका निर्देशक डा. भट्टराईले जानकारी दिए । कोशी नदी जलाधार क्षेत्रमा मात्रै ४२ वटा हिमताल बनेका छन् । तीमध्ये नौ वटा अति जोखिमयुक्त रहेको उनले बताए ।
आयोजनाअन्तर्गत सङ्खुवासभाको तल्लो वरुण, सोलुखुम्बुको लुम्डिङ च्छो र होङ्गु टु तथा मनाङको डोना हिमतालको जलसतह घटाइनेछ । यी चारमध्ये सबैभन्दा ठूलो र गहिरो हिमताल तल्लो वरुण हो । दुई वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस तालको गहिराइ २०५ मिटर छ । सन् १९९० सम्म ०.६४ वर्ग किलोमिटर रहेको तालको क्षेत्रफल तीव्र रूपमा बढेर दोब्बरभन्दा बढी भएको छ । यसको जलसतह तीन मिटर घटाइने ऊर्जा मन्त्रालयका सहसचिव सुशील आचार्यले जानकारी दिए ।
होङ्गु टु हिमताल एक वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । लुम्डिङ च्छो सन् १९६२ मा ०.२० वर्ग किलोमिटर क्षेत्रफलमा रहेकोमा अहिले ०.७७ वर्ग किलोमिटरभन्दा बढी फैलिएको छ । होङ्गु टु हिमतालको क्षेत्रफल पनि विगतमा ०.४६ वर्ग किलोमिटर रहेकोमा अहिले उल्लेख्य रूपमा बढेको छ । त्यस्तै, मनाङको ठुलागी र तल्लो डोना हिमताल सन् १९९० मा ०.७२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएका थिए । त्यसयता बढेर करिब एक वर्ग किलोमिटर पुगेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले जानकारी दिए ।
हिमतालको जलसतह घटाउने, जोखिम अनुगमन गर्ने र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने काम एकीकृत रूपमा अघि बढाइएमा हिमाली क्षेत्रदेखि तल्लो तटीय बस्तीसम्म हिमबाढीबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने आशा गरिएको छ ।






















