काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई निरन्तरता दिँदै आयातमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । अमेरिकामा आयात हुने वस्तुमा लगाइने नयाँ करले चीन, युरोपेली संघ ९ईयू० र जापान, दक्षिण कोरिया तथा ताइवानसहित अन्य १२ देश तथा क्षेत्रलाई प्रभावित पार्नेछ ।
अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले यसअघि घोषणा गरेका ‘लिबरेसन डे’ ९मुक्ति दिवस० का भन्सार शुल्क गैरकानुनी ठहर गरेपछि ह्वाइट हाउसले गत मार्चदेखि अन्य देशका व्यापारिक गतिविधिबारे अनुसन्धान सुरु गरेको थियो । नयाँ प्रस्तावअनुसार चीनमाथि सबैभन्दा बढी ४० प्रतिशतसम्म भन्सार शुल्क लाग्नेछ । त्यसपछि भियतनाममाथि ३५ प्रतिशतसम्म शुल्क प्रस्ताव गरिएको छ । अन्य देश तथा क्षेत्रमाथि २० वा २५ प्रतिशत शुल्क लगाउने तयारी गरिएको छ ।
अमेरिकी व्यापार प्रतिनिधि कार्यालय ९यूएसटीआर० ले प्रस्तावित भन्सार शुल्क सार्वजनिक गर्दै सम्बन्धित देश तथा क्षेत्रका व्यापारिक अभ्यासले अमेरिकी व्यापारमा पारेको प्रभावबारे विस्तृत प्रतिवेदनसमेत सार्वजनिक गरेको छ । नयाँ भन्सार शुल्क आगामी वर्षसम्म कार्यान्वयनमा आउने अपेक्षा गरिएको छैन। त्यसअघि यस विषयमा सार्वजनिक परामर्शका विभिन्न चरण पूरा गर्नुपर्नेछ भने आवश्यक परे सुनुवाइसमेत हुनेछ ।
भन्सार शुल्क भनेको विदेशबाट आयात हुने वस्तुमा लगाइने कर हो । सामान्यतया वस्तुको मूल्यका आधारमा निश्चित प्रतिशतले यसको गणना गरिन्छ। विदेशबाट सामान आयात गर्ने व्यवसायीले यस्तो कर सरकारलाई बुझाउनुपर्छ । ट्रम्पले सहमति गरेका भन्सार शुल्कको अधिकतम सीमाका कारण प्रस्तावित केही शुल्कको वास्तविक प्रभाव भने कम हुनेछ। विभिन्न देशका लागि फरक–फरक दरसमेत लागू हुनेछन् ।
नयाँ भन्सार शुल्कबाट चीन, युरोपेली संघ, सिंगापुर, स्विट्जरल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, थाइल्यान्ड, दक्षिण कोरिया, भियतनाम, ताइवान, बंगलादेश, जापान र भारतका वस्तु प्रभावित हुनेछन् । अमेरिकी व्यापार प्रतिनिधि कार्यालयका प्रमुख जेमिसन ग्रियरले नयाँ भन्सार शुल्कले ‘अमेरिकी कामदारका लागि समान प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने र विश्व अर्थतन्त्रलाई थप दिगो दिशामा अघि बढाउने’ बताए ।
उनका अनुसार अमेरिकाका धेरै व्यापारिक साझेदारले दशकौँदेखि उत्पादन क्षेत्रलाई लक्षित गर्ने औद्योगिक रणनीति अपनाउँदै आएका छन्। त्यस्ता रणनीतिमा ज्याला तथा श्रमिकको अधिकार दबाउने अभ्याससमेत समावेश छन् । ग्रियरले ती देशहरूले व्यापार सन्तुलन आफ्नो पक्षमा पार्न बजारलाई प्रभावित गर्ने अन्य अभ्याससमेत अपनाएको र त्यसले अमेरिकी उत्पादन क्षेत्रको आधार कमजोर बनाएको आरोप लगाए । अर्थशास्त्रीहरूले भन्सार शुल्कले मुद्रास्फीति बढाउन सक्ने र व्यवसायीले बढेको लागत उपभोक्तामाथि थोपरेमा वस्तुको मूल्य महँगिने चेतावनी दिएका छन् । यसले विश्वव्यापी व्यापारसमेत प्रभावित पार्न सक्छ ।
ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा पटक–पटक भन्सार शुल्क लगाउने चेतावनी दिँदै आएका छन् र कतिपय शुल्क कार्यान्वयनसमेत गरिसकेका छन् । उनको तर्कमा यस्ता शुल्कले अमेरिकी उत्पादन क्षेत्रलाई प्रोत्साहन गर्ने र रोजगारी सिर्जना गर्नेछन् । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कमजोर नतिजा हासिल गरे पनि ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई अघि बढाउन छाडेका छैनन् ।
ट्रम्पले अमेरिकाको व्यापार घाटा घटाउने प्रयाससमेत गरिरहेका छन् । व्यापार घाटा भनेको अन्य देशबाट अमेरिकाले खरिद गर्ने वस्तुको मूल्य र ती देशलाई अमेरिकाले बिक्री गर्ने वस्तुको मूल्यबीचको अन्तर हो । सिंगापुर म्यानेजमेन्ट विश्वविद्यालयकी अर्थशास्त्र प्राध्यापक चाङ पाओ–लीका अनुसार नयाँ भन्सार शुल्क ट्रम्पले सन् २०२५ को अप्रिलमा घोषणा गरेको ‘लिबरेसन डे’ शुल्कको तुलनामा अमेरिकी कानुनअन्तर्गत ‘अझ बलियो कानुनी आधार’ मा आधारित छन् । यसअघि ट्रम्पले आपत्कालीन राष्ट्रपतीय अधिकार प्रयोग गरेर भन्सार शुल्क लगाएका थिए। तर ती शुल्कलाई पछि अदालतले खारेज गरेको थियो । अहिलेको नयाँ कदम भने विदेशी व्यापारिक अभ्यासलाई सम्बोधन गर्न भन्सार शुल्क लगाउने अमेरिकी व्यापार प्रतिनिधि कार्यालयको अधिकारमा आधारित रहेको चाङले बताइन् ।
नयाँ शुल्कविरुद्ध पनि कानुनी चुनौती आउन सक्ने सम्भावना रहे पनि यस्ता शुल्क लामो समयसम्म कायम रहन सक्ने ऐतिहासिक उदाहरण रहेको उनको भनाइ छ । अमेरिकालाई विदेशी व्यापारिक अभ्यासको अनुसन्धान गर्न र आवश्यक परे जवाफी कदम चाल्न अनुमति दिने कानुन ‘सेक्सन ३०१’ अन्तर्गत ट्रम्पको पहिलो कार्यकालमा लगाइएका धेरै भन्सार शुल्क उनका उत्तराधिकारी जो बाइडेनको प्रशासनकालमा पनि कायम रहेका थिए ।
यद्यपि, क्यापिटल इकोनोमिक्सका उत्तर अमेरिका प्रमुख अर्थशास्त्री स्टेफन ब्राउनले पछिल्लो भन्सार शुल्क घोषणालाई बाहिर देखिएजति चिन्ताजनक नभएको बताएका छन् । उनका अनुसार नयाँ शुल्कले यसअघि गर्मीयाममा घोषणा गरिएका शुल्कलाई मूलतः प्रतिस्थापन गर्नेछन् । ब्राउनले आफ्नो विश्लेषणमा भनेका छन्, ‘प्रभावकारी भन्सार शुल्कको दरमा हुने वृद्धि हामीले पूर्वानुमान गरेको भन्दा केही कम हुने देखिन्छ। यद्यपि, नयाँ शुल्कले वस्तुको मूल्यमा सामान्य वृद्धि गराउनेछ ।’
नयाँ शुल्क लाग्ने वस्तुको संख्या सीमित भएकाले अतिरिक्त भन्सार शुल्कको समग्र भार पनि कम हुने उनको भनाइ छ । नयाँ भन्सार शुल्कको घोषणापछि प्रभावित देश तथा क्षेत्रहरूले ट्रम्प प्रशासनको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । यसैबीच, अमेरिकी कामदारलाई असर पुर्याउने ‘हानिकारक व्यापारिक अभ्यास’ भइरहेको आरोप लगाउँदै वासिङ्टनले ब्राजिलबाट आयात हुने वस्तुमा १० प्रतिशत भन्सार शुल्क लगाउने प्रस्ताव पनि गरेको छ । यो छुट्टै अनुसन्धानको हिस्सा हो । ब्राजिल सरकारले अमेरिकी कदमप्रति ‘आक्रोश’ व्यक्त गरेको छ । डिजिटल व्यापारलगायतका विषयमा आफ्ना नियम परिवर्तन गर्न दबाब दिने उद्देश्यले यस्तो कदम चालिएको ब्राजिलको भनाइ छ ब्राजिलबाट अमेरिकामा बिक्री हुने तयारी अवस्थाका विमान र चिनीमा समेत शुल्क लगाउने प्रस्ताव गरिएको छ ।
राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको कार्यालयले भनेको छ, ‘ब्राजिल यस्ता धम्कीका अगाडि झुक्ने छैन ।’
युरोपेली आयोगले पनि अमेरिकाको नयाँ भन्सार शुल्क प्रस्ताव अस्वीकार गरेको छ । आयोगले अमेरिकाले यस्तो कदम चाल्नुको कारणबारे अनुसन्धान गर्ने जनाएको छ । यसअघि भएको सहमतिअनुसार भन्सार शुल्क १५ प्रतिशतमा सीमित हुनुपर्ने आयोगको भनाइ छ ।
भियतनामका उपप्रधानमन्त्री बुई थान सोनले प्रस्तावित नयाँ भन्सार शुल्क अमेरिका र भियतनामबीचको द्विपक्षीय आर्थिक तथा व्यापारिक सहकार्यको वास्तविकतासँग मेल नखाने बताएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नयाँ अमेरिकी भन्सार शुल्कलाई ‘राजनीतिक हेरफेर’ को संज्ञा दिएका छन् । चीनले आफ्नो आन्तरिक उपभोगभन्दा बढी वस्तु उत्पादन गरिरहेको भन्ने अमेरिकी दाबीलाई उनले ‘झुटो’ बताएका छन् । नयाँ भन्सार शुल्क घोषणाले विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीचको तनाव थप बढाउने सम्भावना छ । यी दुई देशबीच व्यापार विवादसँगै कृत्रिम बौद्धिकता ९एआई० प्रविधिमा प्रतिस्पर्धासमेत जारी छ ।
दुवै देश यसअघि एकअर्काविरुद्ध भन्सार शुल्क बढाउने प्रतिस्पर्धामा उत्रिएका थिए। अहिले भने उक्त व्यापार युद्ध अस्थायी रूपमा रोकिएको छ । गत साता ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भए पनि दुई देशले व्यापार युद्ध रोक्ने सहमतिबारे कुनै घोषणा गरेनन् । उक्त अस्थायी युद्धविरामको अवधि आगामी जनवरी १० मा समाप्त हुँदैछ ।






















