काठमाडौं – नेपालमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा आठ लाख ७१ हजार १३३ थान स्मार्टफोन आयात भएको छ । भन्सार विभागको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार स्मार्टफोन आयातमा २० अर्ब ६८ करोड ३३ लाख ९४ हजार रुपैयाँ बाहिरिएको छ । स्मार्टफोन आयातबाट सरकारले तीन अर्ब ८५ करोड ८२ लाख रुपैयाँ भन्सार तथा अन्य राजस्व संकलन गरेको छ । चार महिनाको अवधिमा भएको कुल स्मार्टफोन आयातमध्ये सबैभन्दा ठूलो हिस्सा चीनको रहेको छ ।
तथ्याङ्कअनुसार चीनबाट मात्रै सात लाख ५९ हजार ३३६ थान स्मार्टफोन आयात भएको छ । चीनबाट आयात गरिएका स्मार्टफोनको मूल्य १६ अर्ब २४ करोड २५ लाख रुपैयाँभन्दा बढी छ । यसले नेपालको स्मार्टफोन बजारमा चिनियाँ उत्पादनको बलियो उपस्थिति रहेको देखाउँछ ।
त्यस्तै, भारतबाट एक लाख छ हजार ३९४ थान स्मार्टफोन आयात भएको छ । भारतबाट आयातित स्मार्टफोनको मूल्य तीन अर्ब ९० करोड रुपैयाँभन्दा बढी रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । चीन र भारतबाट मात्रै आठ लाख ६५ हजार ७३० थान स्मार्टफोन आयात भएको छ । यो कुल स्मार्टफोन आयातको करिब ९९ प्रतिशत हो । बाँकी स्मार्टफोन अमेरिका, जापान, अस्ट्रेलिया, मलेसियालगायतका देशबाट आयात भएको छ ।
स्मार्टफोनको बढ्दो प्रयोगसँगै नेपालमा यसको आयातमा ठूलो रकम बाहिरिने गरेको छ । मोबाइल तथा डिजिटल प्रविधिमा उपभोक्ताको निर्भरता बढ्दै जाँदा स्मार्टफोन नेपालको वैदेशिक व्यापारको महत्वपूर्ण आयातित वस्तुका रूपमा देखिएको छ ।






















