images
images
  • कोरला नाकामा संसदीय समिति, पूर्वाधार नहुँदा निकासी तथा पैठारी व्यापार प्रभावित भएको व्यवसायीको गुनासो

    मुस्ताङ– प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको टोलीले नेपाल–चीन उत्तरी कोरला नाकाको स्थलगत अवलोकन गरी त्यहाँ आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउने जनाएको छ ।

    समितिका सभापति आशिष गजुरेलको नेतृत्वमा १५ सदस्यीय टोलीले नाकाको भौतिक पूर्वाधार निर्माणको सम्भाव्यता अध्ययनका क्रममा बुधबार कोरला नाकाको अवलोकन गरेको हो ।

    अवलोकनका क्रममा व्यवसायी तथा चालकले नाकामा वातावरणमैत्री पूर्वाधार, विद्युत्, इन्टरनेट, खानेपानी र शौचालयको व्यवस्था नहुँदा निकासी तथा पैठारीमा समस्या भइरहेको भन्दै समाधानका लागि पहल गर्न आग्रह गरेका थिए । न्हेचुङस्थित सीमा सुरक्षा चौकीका प्रमुख प्रकाश धितालका अनुसार व्यवसायीले सभापति गजुरेलसमक्ष आफ्ना समस्या राखेका थिए ।

    सभापति गजुरेलले कोरला नाकालाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउने बताए ।

    मुस्ताङका प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले जिल्ला प्रशासन कार्यालयको समन्वयमा पुगेको टोलीले नाका तथा लोमान्थाङ गाउँपालिका–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयको अवलोकन गरेको जानकारी दिए ।

    टोली बुधबार नै जोमसोम फर्किएको र बिहीबार काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको उनले बताए ।

    प्रमुख जिल्ला अधिकारी पोखरेलले समितिसमक्ष नाकामा सुरक्षा चुनौतीभन्दा पनि कमजोर भौतिक संरचनाका कारण मानवीय जोखिम बढी रहेको जानकारी गराएका थिए । उनले चीनतर्फको वैकल्पिक नाकाका रूपमा विकास हुँदै गएको कोरला नाकासम्मको सडक, सुरक्षा, अध्यागमन, क्वारेन्टिन र भन्सारलगायत संरचना व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

    टोलीसँगै पुगेका नेपाल उद्योग वाणिज्य महासङ्घको स्थल यातायात तथा पारवहन समितिका सदस्य एवा् ढुवानी व्यवसायी महासङ्घ नेपालका उपाध्यक्ष अरुणकुमार श्रेष्ठले नाकालाई दिगो र व्यवस्थित रूपमा सञ्चालन गर्न पूर्वाधार निर्माण आवश्यक रहेको बताए ।

    उनका अनुसार चीनतर्फ ठूला भौतिक संरचना निर्माण भइसके पनि नेपालतर्फ आवश्यक संरचना नहुँदा निकासी तथा पैठारी व्यापार प्रभावित भइरहेको छ । पूर्वाधार निर्माण भए प्रतिकूल मौसममा समेत व्यवसायी, मालवाहक कन्टेनर तथा विद्युतीय सवारीसाधनका चालकलाई सहज हुने उनको भनाइ छ ।

    सरकारले भन्सार, अध्यागमन, एकीकृत सुरक्षा चौकी र सुक्खा बन्दरगाह निर्माणका लागि कोरला नाकामा एक हजार रोपनी जग्गा प्राप्त गरिसकेको छ । केही वर्षअघि पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न अध्ययनसमेत गरिएको भए पनि हालसम्म निर्माण कार्य अघि बढ्न सकेको छैन ।

    अवलोकनमा लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टलगायत सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images