images
images
  • मेची भन्सारले कात्तिकमा लक्ष्यभन्दा १० प्रतिशत बढी राजस्व उठायो

    काठमाडौं – पूर्वी नाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिक महिनामा राजस्व संकलन लक्ष्यभन्दा १० प्रतिशत बढी गरेको छ । कार्यालयका सूचना अधिकारी मांकल राईका अनुसार कात्तिकमा एक अर्ब ३५ करोड १३ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन भएको छ । उक्त महिनाका लागि एक अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । यसअनुसार कार्यालयले लक्ष्यको ११० प्रतिशत राजस्व संकलन गरेको हो ।

    चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा भने कार्यालयले राजस्व संकलनको लक्ष्य पूरा गर्न सकेको थिएन । साउनमा एक अर्ब ४३ करोड ५० लाख रुपैयाँ लक्ष्य रहेकामा एक अर्ब २७ करोड ९८ लाख ३७ हजार रुपैयाँ संकलन भएको थियो ।

    त्यस्तै, भदौमा एक अर्ब ६४ करोड रुपैयाँ लक्ष्य निर्धारण गरिएकामा एक अर्ब ५५ करोड ३५ लाख ३८ हजार रुपैयाँ राजस्व उठेको थियो । असोजमा एक अर्ब ८४ करोड ५० लाख रुपैयाँ लक्ष्य रहेकामा एक अर्ब ८३ करोड ७३ लाख ९८ हजार रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ ।

    भारतको पश्चिम बंगालस्थित पानीट्यांकीसँग सीमा जोडिएको काँकडभिट्टा नाकाबाट मुख्य रूपमा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास, मट्टीतेल, तयारी पोसाक, सुपारी, सिमेन्टको क्लिंकर, सुती कपडा, खरानी, फलामजन्य अवशेष, चामल, कनिका, ग्लेज टायल, स्नेहक तेल, मोबिल, मोटरका ब्याट्री र प्लास्टिकका ट्युब आयात हुने गरेका छन् ।

    यस नाकाबाट भारत, चीन, बंगलादेश र भुटानलगायत मुलुकसँग व्यापार हुँदै आएको छ । काँकडभिट्टा नाकाबाट चिया, अलैँची, अदुवा, अम्लिसो, मुसुरो दाल, भेनियर सिट, चोकर, आलस, खयरको कत्था, जडीबुटी, फलामे संरचना, सुठो र प्लाइउड निर्यात हुने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images