images
images
  • स्वदेशी उद्योगको औसत क्षमता उपयोग ४८.१३ प्रतिशतमा सीमित : भटमास तेलको क्षमता सर्वाधिक, वनस्पति घिउको सबैभन्दा कमजोर

    काठमाडाैं । नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित आर्थिक गतिविधि अध्ययन (एकीकृत) वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३) अनुसार स्वदेशी उद्योगहरूको औसत क्षमता उपयोग घटेर ४८.१३ प्रतिशतमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ५१.४३ प्रतिशत रहेको औसत क्षमता उपयोग समीक्षा वर्षमा ३.३० प्रतिशत विन्दुले घटेको हो ।

    समीक्षा वर्षमा अध्ययनमा समेटिएका १९२ वटा उद्योगहरूमध्ये भटमासको तेल उत्पादन गर्ने उद्योगले आफ्नो कुल क्षमताको ९२.४१ प्रतिशत उपयोग गरी सर्वाधिक उत्पादन गर्न सफल भएका छन् । यसैगरी वनस्पति घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग भने सबैभन्दा कम २.३६ प्रतिशतमा सीमित भएको प्रतिवेदनमा उल्लेख छ ।

    क्षेत्रगत आधारमा उद्योग क्षमतामा देखिएको उतारचढाव

    प्रतिवेदन अनुसार विभिन्न उपक्षेत्रका उद्योगहरूको उत्पादन र क्षमता उपयोगमा मिश्रित स्थिति देखिएको छ ।

    समीक्षा वर्षमा भटमासको तेल, गहुँको पिठो, पशुदाना, बिस्कुट, चिनी, चाउचाउ, प्रशोधित चिया, मदिरा, बियर, हल्का पेय पदार्थ, धागो, पश्मिना, तयारी पोशाक (गार्मेन्ट), गलैँचा, काठ चिरान, रोजिन, रङ, इँटा, सिमेन्ट, कङ्क्रीट, घरेलु धातुका सामान, आल्मुनियम उत्पादन, ट्रान्सफर्मर र कपडाको जुत्ता उत्पादन गर्ने उद्योगहरूको क्षमता उपयोगमा वृद्धि भएको छ ।

    वनस्पति घिउ, तोरीको तेल, प्रशोधित दूध, चामल, चकलेट, चुरोट, सिन्थेटिक कपडा, जुटका सामान, प्लाइउड, कागज, औषधि (ट्याब्लेट, क्याप्सुल, ओइन्टमेन्ट, ड्राइ सिरप, लिक्विड), साबुन, प्लास्टिकका सामान, पोलिथिन पाइप, फलामको छड तथा पत्तिको सामान, स्टिलजन्य उत्पादन, जीआई तार, जीआई पाइप, बिजुलीका तार र केबुल, टायर तथा ट्युब, छालाको जुत्ता र चप्पल उत्पादन गर्ने उद्योगहरूको क्षमता उपयोग घटेको छ ।

    मधेश प्रदेशका उद्योगहरू अगाडि, कर्णालीका सबैभन्दा कमजोर

    प्रादेशिक विश्लेषणात्मक तथ्याङ्क अनुसार उद्योगहरूको औसत क्षमता उपयोगमा प्रदेशगत विविधता देखिएको छ । समीक्षा वर्षमा मधेश प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग सबैभन्दा बढी ६४.८ प्रतिशत कायम भएको छ ।

    कर्णाली प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग सबैभन्दा कम २५.५ प्रतिशतमा सीमित भएको छ । समीक्षा वर्षमा कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग अघिल्लो वर्षको तुलनामा बढेको छ भने बागमती र कर्णाली प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोगमा गिरावट आएको छ ।

    स्वदेशी उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसक्नुमा विभिन्न आन्तरिक तथा बाह्य चुनौतीहरू जिम्मेवार रहेको प्रतिवेदनले औँल्याएको छ । सडक पूर्वाधारको ढिलासुस्ती तथा कमजोर अवस्थाका कारण कच्चा पदार्थको सहज आपूर्ति र उत्पादित वस्तुको बजारीकरणमा ढुवानी लागत बढेको छ ।

    त्यस्तै, आन्तरिक बजारमा उत्पादित वस्तुको माग सोचेअनुरूप बढ्न नसक्दा उद्योगहरूले उत्पादन कटौती गर्नुपरेको अध्ययनले देखाएकाे छ ।

    साथै, भारततर्फ हुने निर्यातमा भारतीय गुणस्तर मापदण्ड प्रमाणीकरणको अनिवार्यता तथा भारतीय बजारको संरक्षणमुखी नीतिका कारण नेपालका निर्यातजन्य उद्योगहरूले समस्या भोगिरहेका छन् भने युवा तथा दक्ष श्रमिकहरूको वैदेशिक पलायनका कारण स्वदेशी उद्योगहरूमा आवश्यकता अनुसारका कामदार उपलब्ध हुन नसकेकाे समस्या पनि उस्तै संवेदनशील रूपमा देखिएकाे छ ।

    औद्योगिक विस्तारका आगामी सम्भावनाहरू

    औद्योगिक क्षमता उपयोगमा संकुचन आए पनि आगामी अवधिमा सुधार आउने सकारात्मक आधारहरू पनि प्रतिवेदनले प्रस्तुत गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूको घट्दो ब्याजदर र वित्तीय पहुँचको विस्तारले औद्योगिक कर्जा परिचालन र लगानी अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    स्वदेशी उत्पादनको प्रयोगमा सरकारी प्राथमिकता तथा सिमेन्ट, स्टिल, चिया, पेन्ट र विद्युतीय केबुलजस्ता वस्तुहरूमा देश आत्मनिर्भरतातर्फ उन्मुख हुनुलाई सकारात्मक मानिएको छ ।

    साथै, हालैका बाढी-पहिरो तथा विपद्बाट क्षतिग्रस्त पूर्वाधारहरूको पुनर्निर्माण कार्यले गति लिँदा सिमेन्ट, फलामको छड, कङ्क्रीट र खनिजजन्य उद्योगहरूको माग तथा क्षमता उपयोग बढ्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images