images
images
  • बारीमै फूलको बजार पाएपछि किसान उत्साहित

    दमौली, तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीश्वाराका किसानलाई यस वर्ष सयपत्री फूल बिक्री गर्न बजार खोज्दै भौँतारिनुपरेन ।

    बारीमै फूल किन्न आउने ग्राहकको घुइँचो लागेपछि किसानलाई फूल बिक्रीको चिन्ता भएन ।

    आफूले उत्पादन गरेको फूल बारीबाटै बिक्री भएपछि किसान उत्साहित छन् ।

    छिम्लीश्वारा चण्डेनी फलफूल तथा तरकारी उत्पादक कृषक समूहमा आबद्ध २३ महिलाले सामूहिक रूपमा गरेको सयपत्री फूलखेतीले यस वर्ष राम्रो बजार पायो ।

    समूहले १६ रोपनी क्षेत्रफलमा लगाएको सयपत्री फूलमध्ये तिहारमा मात्रै दुई हजार ७६० किलो बिक्री भइसकेको छ ।

    फुलेका फूल सबै बिक्री भएपछि किसानमा उत्साह थपिएको समूहकी अध्यक्ष जितमाया रानाले बताए ।

    उनका अनुसार यस वर्ष उत्पादित फूल दमौली, म्याग्दे, खैरेनीटार, पोखरा र आँबुखैरेनीसम्म पुगेको छ ।

    बजारमा प्रतिकिलो रु ३०० मा फूल बिक्री गरिएको छ ।

    बारीमै आएर खरिद गर्ने ग्राहकलाई भने प्रतिकिलो रु २०० मा बिक्री गरिएको उनले बताए ।

    फूल बिक्रीका लागि बजारसम्म लैजानुपर्ने झन्झट नहुँदा किसानलाई सहज भएको छ ।

    ‘फूल उत्पादन भएपछि कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ता लागेको थियो । तर बजारको समस्या भएन । ग्राहक आफैँ बारीमा आएर फूल किन्नुभयो । सबै फूल बिक्री भयो, यसले हामीलाई निकै उत्साहित बनाएको छ,’ अध्यक्ष रानाले भने ।

    किसानले फूलका साथै माला बनाएर पनि बिक्री गरेका छन् ।

    ग्राहकको मागअनुसार फूल र माला दुवै बिक्री हुँदा आम्दानीको थप अवसर मिलेको छ ।

    तिहारको मुख्य दिनमा मात्रै नभई त्यसपछिका धार्मिक तथा सांस्कृतिक अवसरमा फूलको माग रहने भएकाले किसानले बाँकी उत्पादन बिक्री हुने अपेक्षा गरेका छन् ।

    छिम्लीश्वाराका किसानले केही वर्षअघिसम्म आफ्ना बारीमा मकै, मास र बोडीखेती गर्दै आएका थिए ।

    परम्परागत खेतीमा मिहिनेत धेरै गर्नुपर्ने भए पनि आम्दानी भने अपेक्षाअनुसार नहुने किसानको अनुभव थियो ।

    यही अवस्थालाई परिवर्तन गर्ने सोचका साथ उनीहरूले गत वर्षदेखि सामूहिक रूपमा सयपत्री फूलखेती सुरु गरेका हुन् ।

    विदेशबाट ठूलो परिमाणमा फूल आयात भइरहेको देखेपछि आफ्नै गाउँमा फूल उत्पादन गर्न सके स्थानीय बजारको माग पूरा गर्नुका साथै किसानको आम्दानी बढाउन सकिने उनीहरूको सोच थियो ।

    स्वदेशमै फूल उत्पादन गरेर बाहिरबाट आयात हुने फूलको निर्भरता घटाउने उद्धेश्यले सुरु गरिएको खेतीले उत्साहजनक परिणाम दिएको अध्यक्ष राना बताउँछन् ।

    समूहले गत वर्ष छ रोपनीमा सयपत्री फूलखेती गरेको थियो ।

    पहिलो वर्ष उत्पादन भएको फूल तिहारको समयमा सहजै बिक्री भएपछि किसानलाई खेती विस्तार गर्ने हौसला मिल्यो ।

    बजारमा फूलको माग राम्रो देखिए पनि उत्पादन कम हुँदा ग्राहकको मागअनुसार फूल पु¥याउन नसकिएको अनुभव किसानसँग थियो ।

    गत वर्षको तुलनामा झन्डै तीन गुणा क्षेत्रफलमा खेती विस्तार गरिएको छ ।

    फूलखेतीका लागि गाउँपालिकाले ७५ प्रतिशत अनुदान दिएपछि थप प्रोत्साहन मिलेको समूहका कोषाध्यक्ष सन्सरी रानाले बताए ।

    उनका अनुसार यसपटक किसानले उत्पादन गरेको फूल बारीबाटै बिक्री हुँदा ढुवानी तथा बजार व्यवस्थापनको झन्झट कम भएको छ ।

    फूल टिपेर बजार पु¥याउनुपर्ने, बिक्री नभएर बिग्रिने तथा ग्राहक खोज्दै हिँड्नुपर्ने समस्या नहुँदा सामूहिक खेतीप्रति थप आकर्षण बढेको उनले उल्लेख गरे ।

    सामूहिक रूपमा खेती गर्दा कामको बाँडफाँट गर्न, उत्पादनको हेरचाह गर्न र बिक्री व्यवस्थापन गर्न सहज भएको किसानको अनुभव छ ।

    एउटै क्षेत्रमा धेरै फूलखेती हुँदा ग्राहकलाई आवश्यकताअनुसार फूल खरिद गर्न सजिलो भएको छ ।

    परम्परागत खेतीबाट अपेक्षित आम्दानी लिन नसकेका महिलाले वैकल्पिक खेतीका रूपमा सुरु गरेको सयपत्री फूलखेती अहिले आम्दानीको राम्रो सम्भावना बोकेको व्यवसाय बनेको छ ।

    आफ्नै खेतबारीमा उत्पादन गरेको फूलले स्थानीय बजार पाउन थालेपछि उनीहरूमा व्यावसायिक खेतीप्रतिको विश्वास बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images