images
images
  • चालु आर्थिक वर्षको चार महिनामा वैदेशिक व्यापार ३३.३३ प्रतिशतले बढ्यो, ६ खर्ब ६८ अर्ब नाघ्यो व्यापार घाटा

    काठमाडाैं । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म) को वैदेशिक व्यापार सम्बन्धी तथ्यांक अनुसार नेपालको कुल वैदेशिक व्यापार, आयात, निर्यात र व्यापार घाटा सबै सूचकमा उल्लेख्य वृद्धि भएको छ ।

    समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार ३३.३३ प्रतिशतले बढेर ९ खर्ब ३७ अर्ब २४ करोड ४५ लाख रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँ रहेको थियो ।

    चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले वैदेशिक बजारबाट ८ खर्ब ३ अर्ब ९ करोड ८७ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँको तुलनामा ३१.७७ प्रतिशतले बढी हो । आयातमा भएको यस तीव्र वृद्धिका कारण देशको कुल व्यापार घाटा २९.६५ प्रतिशतले बढेर ६ खर्ब ६८ अर्ब ९५ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

    गत आर्थिक वर्षको सोही अवधिमा नेपालको व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ रहेको थियो । यद्यपि, कुल वैदेशिक व्यापारमा आयातको हिस्सा गत वर्षको ८६.७० प्रतिशतबाट थोरै घटेर ८५.६९ प्रतिशतमा झरेको छ भने आयात-निर्यात अनुपात ६.५२ बाट सुधार भई ५.९९ पुगेको छ ।

    यसै अवधिमा नेपालको वस्तु निर्यात भने उत्साहजनक रूपमा बढेको छ। साउनदेखि कात्तिकसम्म नेपालबाट कुल १ खर्ब ३४ अर्ब १४ करोड ५८ लाख रुपैयाँ बराबरका वस्तुहरू वैदेशिक बजारमा निर्यात भएका छन्, जुन गत आर्थिक वर्षको ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँको तुलनामा ४३.४८ प्रतिशतको फराकिलो वृद्धि हो । निर्यातमा भएको यस सुधारसँगै कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि १३.३० प्रतिशतबाट बढेर १४.३१ प्रतिशत पुगेको छ ।

    भन्सार विभागको तथ्यांक अनुसार समीक्षा अवधिमा नेपालमा आयात भएका प्रमुख १० वस्तुहरूबाट मात्र सरकारले १ खर्ब ८८ अर्ब ८० करोड ८० लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ । कुल आयातको शीर्ष स्थानमा क्रुड भटमासको तेल रहेको छ, जसको ६२ अर्ब ८१ करोड ३९ लाख रुपैयाँ बराबरको ३५ करोड ४५ लाख लिटरभन्दा बढी आयात भएको छ ।

    इन्धनतर्फ ५९ अर्ब २८ करोड ३४ लाख रुपैयाँ बराबरको ३ लाख ४९ हजार किलोलिटर डिजेल र ३४ अर्ब ४२ करोड ८० लाख रुपैयाँ बराबरको २ लाख ३९ हजार किलोलिटर पेट्रोल आयात भएको छ, जसबाट क्रमशः १३ अर्ब ९९ करोड रुपैयाँ र १० अर्ब ५९ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ ।

    यसका साथै २९ अर्ब ४७ करोड ११ लाख रुपैयाँको एलपीजी ग्यास, २२ अर्ब २६ करोड ९७ लाख रुपैयाँ बराबरको फलामजन्य कच्चा पदार्थ, र २० अर्ब ६८ करोड ३३ लाख रुपैयाँ बराबरका ८ लाख ७१ हजार थान स्मार्टफोन आयात भएका छन् ।

    त्यस्तै २० अर्ब ३१ करोड ५७ लाख रुपैयाँको रसायिक मल, १२ अर्ब ९ करोड रुपैयाँभन्दा बढी भन्सार राजस्व दिलाउने २० अर्ब ३१ करोड २३ लाख रुपैयाँ बराबरका ९ हजार ४८ थान विद्युतीय सवारी साधन, १३ अर्ब ५३ करोड २१ लाख रुपैयाँको हवाइ इन्धन र १२ अर्ब ५४ करोड ४७ लाख रुपैयाँ बराबरको डी.ए.पी. मल आयात भएको छ ।

    अर्कोतर्फ, नेपालबाट वैदेशिक बजारमा निर्यात हुने वस्तुहरूको सूचीमा प्रशोधित भटमासको तेल अग्रस्थानमा रहेको छ । समीक्षा अवधिमा २५ करोड ४१ लाख किलोग्रामभन्दा बढी भटमासको तेल निर्यात भई ६१ अर्ब ३४ करोड ९१ लाख रुपैयाँ स्वदेश भित्रिएको छ ।

    त्यसैगरी ३ अर्ब ८९ करोड ६६ लाख रुपैयाँ बराबरको १ लाख ११ हजार वर्गमिटर उनी गलैँचा तथा कार्पेट र ३ अर्ब ४४ करोड ३ लाख रुपैयाँ बराबरको १९ लाख ६२ हजार किलोग्राम बडे अलैँची निर्यात भएको छ ।

    यसका साथै ३ अर्ब ३१ करोड ९७ लाख रुपैयाँको जुटको कपडा, २ अर्ब ७८ करोड ४९ लाख रुपैयाँको प्रशोधित सूर्यमुखीको तेल, २ अर्ब ६९ करोड ७२ लाख रुपैयाँको पाम ओलीन, २ अर्ब ५९ करोड ३२ लाख रुपैयाँका फेल्टका सामग्री, २ अर्ब ३० करोड ६५ लाख रुपैयाँको पोलिएस्टर धागो, १ अर्ब ८७ करोड ८६ लाख रुपैयाँको सिङ्गल यार्न र १ अर्ब ७६ करोड ८८ लाख रुपैयाँ बराबरको चाउचाउ तथा पास्ता वैदेशिक बजारमा निर्यात भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images