काठमाडौं – सरकारले काठमाडौंउपत्यकाका नदी किनारका जोखिमयुक्त बस्तीबाट हटाएर भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारलाई शनिबारसम्म स्थान खाली गर्न निर्देशन दिएको छ । वैकल्पिक व्यवस्थापनबिनै होल्डिङ सेन्टरबाट हटाउन खोजिएपछि आश्रयविहीन बनेका परिवारको विचल्ली हुने चिन्ता बढेको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरको टोलीले बुधबार कृषि विकास बैंकको तालिम केन्द्रमा सूचना टाँस गर्दै होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको हो । प्रशासनले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र सम्बन्धित स्थानीय तहबाट प्राप्त विवरणका आधारमा सात परिवारका घरमूली वा परिवारका सदस्यको नाममा जग्गा रहेको पाइएको जनाएको छ ।
जग्गा भएको पुष्टि भएका ती सात परिवार भूमिहीन नरहने भन्दै प्रशासनले तत्काल होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको छ । त्यसका लागि भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२क र ५२ख उल्लेख गरिएको छ ।
त्यस्तै, जग्गा नभएका १२ परिवारका लागि सम्बन्धित पालिकामार्फत जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढेको र त्यसको निस्सासमेत प्राप्त भएको प्रशासनले जनाएको छ । प्रशासनले ती परिवारलाई जग्गा उपलब्ध गराउने प्रक्रियासम्बन्धी निस्सा लिन तथा सरकारले उपलब्ध गराएको घरभाडा सुविधा बुझ्न आग्रह गरेको छ ।
तर, होल्डिङ सेन्टरबाट हटाइने परिवारको स्थायी बसोबास र वैकल्पिक व्यवस्थापन सुनिश्चित नभए उनीहरू पुनः सडकमा पुग्ने जोखिम देखिएको छ । सुरक्षित आवासको व्यवस्था नहुँदै स्थान खाली गर्न दिइएको निर्देशनले सुकुम्बासी परिवारको भविष्यबारे थप प्रश्न उठाएको छ ।






















