काठमाडौं – शान्त पहरी (टाेकियाे)-शिक्षा, स्वास्थ्य, सीप विकास तथा रोजगारीका क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने उद्देश्यसहित काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका र जापानको ओत्सुकी सिटीबीच महत्वपूर्ण सम्झौता भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा तथा आनन्द भैरव माध्यमिक विद्यालयका प्राचार्य सरु कार्की ओत्सुकी सिटीको चारदिने भ्रमणमा रहेका बेला दुई नगरबीच सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा कात्तिक ३० गते दुवै नगरका तर्फबाट हस्ताक्षर गरिएको जनाइएको छ ।
सम्झौताअनुसार कागेश्वरी मनोहरा नगरपालिकाका युवालाई जापानी भाषा, संस्कृति तथा सीपमा आधारित व्यावहारिक तालिम प्रदान गर्ने र उनीहरूलाई जापानमा अध्ययन तथा रोजगारीका अवसर प्राप्त गर्न आवश्यक सहजीकरण र सहयोग गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । यस सहकार्यले स्थानीय युवाहरूलाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्नुका साथै उनीहरूको ज्ञान, सीप, क्षमता र आत्मनिर्भरता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
त्यसैगरी, नगरपालिकाको स्वास्थ्य सेवालाई थप गुणस्तरीय, सहज र प्रभावकारी बनाउने उद्देश्यले नगर अस्पतालको विकास, सेवा विस्तार तथा आवश्यक सहयोगका क्षेत्रमा समेत दीर्घकालीन सहकार्य गर्ने सहमति भएको छ । नगर प्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा भएको यस भ्रमण तथा सम्झौतालाई कागेश्वरी मनोहरा नगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र विकासका नयाँ सम्भावनाको खोजीका रूपमा हेरिएको छ । नगरपालिकाको विकासलाई भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नराखी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा, युवालाई स्वदेश तथा विदेशमा सम्मानजनक रोजगारी र नयाँ पुस्तालाई विश्वस्तरको ज्ञान, सीप तथा अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने लक्ष्यका साथ यो साझेदारी अघि बढाइएको हो ।
ओत्सुकी सिटीसँगको सहकार्यलाई दुई स्थानीय तहबीचको औपचारिक सम्बन्धमा मात्र सीमित नराखी शिक्षा, स्वास्थ्य, सीप विकास, रोजगारी तथा सांस्कृतिक आदानप्रदानमार्फत नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने दीर्घकालीन साझेदारीका रूपमा विकास गर्ने विश्वास लिइएको छ । यस सम्झौताले कागेश्वरी मनोहरा नगरपालिकाका युवाका लागि जापानमा अध्ययन तथा रोजगारीका सम्भावना विस्तार गर्नुका साथै नगरपालिकाको स्वास्थ्य तथा शैक्षिक क्षेत्रको विकासमा समेत नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।






















