डा. हेमसागर बराल र डा. चारुदत्त मिश्र
वन्यजन्तुको संसारमा- मानव कल्पनालाई गहिरोसँग छुने बिरालो परिवारे जस्ता समूह (Cats Family) थोरै मात्र छन् । प्राचीन समयदेखि नै बिरालाका जाति-प्रजातिले दन्त्यकथा र लोक संस्कृतिका माध्यमबाट हाम्रा परम्परागत मान्यता, धर्म र कलामा आफ्नो दरिलो उपस्थिति दर्शाउँदै आएका छन् । प्राचीन मिश्रमा पुजिने गरेका आकृति, गुफाका भित्तामा अंकित प्रारम्भिक कलाकारिता र युद्धमा साहसको प्रतीकका रूपमा प्रस्तुत गरिने मुखौटा आदिले पनि वन-बिराला र मानवबीचको सम्बन्ध जनाउँछन् । यिनको जीवनशैली स्वतन्त्र, गर्विलो र शान्त तर अनपेक्षित साहस एवं विजयी स्वभावको संयोजनलाई नै आकर्षणको मुख्य कारण मान्न सकिन्छ ।
तर यस्तो सहज पहिचानले कहिलेकाहीं भ्रम पनि सिर्जना गर्न सक्छ, किनकि ‘जंगली बिरालो’ भन्ने शब्दभित्र असाधारण विविधता लुकेको हुन्छ । विज्ञहरूका अनुसार संसारभर जंगली बिरालाका करीब ४० वटा प्रजाति पाइन्छन्, जुन अन्टार्कटिका र अस्ट्रेलियाबाहेक सबै महादेशमा फैलिएका छन् । यी ४० प्रजातिभित्र सिंह (समूहमा बस्ने र शिकार गर्ने यो एकमात्र बिरालो हो) देखि एसियाको सानो, एक्लै बस्ने खियाथोप्ले बिरालोसम्म पर्छन् । बिरालाहरूले आफूमा दक्षिण-पूर्वी एसियाका सिमसार क्षेत्रमा माछा समात्न, अफ्रिकी घाँसेमैदानमा कुनै पनि स्थलचर जनावरभन्दा छिटो दौडिन र पृथ्वीका सबैभन्दा चिसा तथा अग्ला भूभागहरूमा समेत बाँच्न सक्ने क्षमता विकास गरेका छन् । सबैभन्दा ठूलो वन बिरालोको प्रजाति- बाघकै कुरा गरौं- जसले बंगालको समुद्रतटीय वनदेखि भूटान, भारत र नेपालको हिमालयको काखसम्म अनि विश्वकै सबैभन्दा चिसो क्षेत्र साइबेरियामा समेत साम्राज्य फैलाएर आफ्नो अद्भुत अनुकूलन क्षमता प्रदर्शन गरेको छ ।
विश्वका ‘ठूला बिरालाहरू’ (Big Cats) को श्रेणीमा बाघ, सिंह, ज्यागुआर, चितुवा, चिता र हिउँचितुवा पर्दछन् । यी ठूलामध्येको सबैभन्दा सानो, सबैभन्दा दुर्लभ र सम्भवतः सबैभन्दा कम थाहा भएको प्राणी हो- हिउँचितुवा (Snow Leapard) । मध्य तथा दक्षिण एसियाका उच्च पहाडी क्षेत्रमा पाइने यो प्रजातिले आफू शिकार गर्ने स्थलमै अदृश्य हुनसक्ने अद्भूत छलावरण (Camouflage) क्षमताका कारण ‘पर्वतको प्रेत’ भन्ने उपनाम पनि पाएको छ । हिउँले ढाकिएका कठोर र उच्च पहाडी भूभागमा शासन गर्ने आनीबानीका कारण कतिले चाहिं यसलाई ‘हिमालकी रानी’ भनेर सुन्दर उपमा पनि दिएका छन् । हाम्रो वृत्तान्त यही जीव र पृथ्वीको तेस्रो ध्रुव मानिने हिमाली भूभागको सेरोफेरोमा रहने छ ।
हिउँचितुवा र मानवको सहयात्रा
हिउँचितुवा र मानवको सम्बन्ध अत्यन्त पुरानो छ- हामी दुवै आजको स्वरूपमा विकसित हुनुभन्दा धेरै अघिदेखिको । करीब ३५ लाख वर्षअघि, जुन समयमा हिउँचितुवा र बाघ एउटै साझा पूर्वजबाट छुट्टिंदै आआफ्नो बाटोमा अघि बढिरहेका थिए र हिउँचितुवाहरू हिमाली टाकुराका छेउछाउमा अनुकूलन हुँदै थिए, । ठीक यसै समयमा हाम्रो मानव वंश पनि एक निर्णायक मोडमा आइपुगेको थियो । प्रारम्भिक मानवहरू (hominins), रूखमा बस्ने ‘अस्ट्रालोपिथिसिन’ पूर्वजहरूबाट अलग भई जमीनमा पहिलो पाइला टेक्दै थिए । यसरी दुई फरक प्रजातिका यी दुई जीवहरू विकासका यात्राहरूमा समानान्तर रूपमा अघि बढे- एउटा हिमशृङ्खलाको काखमा भने अर्को भोटका पठार र खुला मैदानमा । जसरी हिउँचितुवाहरूले पातलो वायुमण्डल र अक्सिजन कम भएको हावामा पनि बाँच्न सक्ने आनुवंशिक गुणहरू आफूमा विकास गरे, त्यसरी नै मानवका नजिकका नातेदार ‘डेनिसोभन’ (हराइसकेका)ले पनि भोटका पठारमा त्यस्तै अनुकूलता विकास गरेका थिए ।
मानव र हिउँचितुवा बीच केवल समानान्तर जीव विकासको यात्रा मात्र होइन, हजारौं वर्षको सहअस्तित्व पनि साझा छ । अल्ताईदेखि टिएन-सानसम्मका उच्च हिमाली क्षेत्रका चट्टानमा कुँदिएका कलाकृति र पुरातात्विक स्थलहरूमा हिउँचितुवाका आकृतिहरू पाइन्छन्, जसले यी दुई प्राणी बीचको शताब्दीऔं पुरानो ऐतिहासिक र सांस्कृतिक सम्बन्ध दर्शाउँछन् । भोट क्षेत्रका उच्च हिमाली पठारमा मानवको उपस्थिति ३० हजार वर्षभन्दा अघिदेखि देखिन्छ । त्यहाँ पशुपालन गरी जीविकोपार्जन गर्ने मानव बस्तीहरूको इतिहास करीब ८ हजार २०० वर्ष पुरानो छ ।
हिउँचितुवाको बाक्लो तर फिक्का फुस्रो रङको भुत्लाले चट्टानी भीरसँग उत्कृष्ट छलावरण (camouflage) दिन्छ- जसले गर्दा यसलाई देख्न अत्यन्त कठिन हुन्छ । हिउँचितुवाले आफ्नो जीउको लम्बाइभन्दा १०औं गुणासम्म लामो फड्को मार्न सक्छ ।
ठूला मांसाहारी जनावरहरूसँगको सम्बन्ध झैं, मानव र हिउँचितुवा बीचको सम्बन्ध पनि सधैं जटिल र दोधारे रह्यो । एकातिर घरपालुवा जनावरमाथि आक्रमण गरेका कारण प्रतिशोधमा हिउँचितुवाहरु मारिए, अर्कातिर शक्ति, साहस र हिमाली भन्ज्याङ एवं देउरालीका रक्षकका रूपमा तिनले समुदायको आस्था पनि पाए, पुजिए । बौद्ध र बोन परम्परामा हिउँचितुवालाई ‘हिमालका संरक्षक आत्मा’ का रूपमा व्याख्या गरिन्छ र एक यस्तो जीव जसलाई देख्नु मात्र पनि अहोभाग्यको प्रतीक मानिन्छ
आज हिउँचितुवा र मानव दुवै एक गम्भीर दोबाटोमा उभिएका छन् । यो अद्भूत जीव कलियुग अर्थात् मानवयुग (एन्थ्रोपोसिन) भरि जीवित रहिरहन्छ कि रहँदैन भन्ने कुरा अन्ततः मानवले आफ्नो जीवनलीलाको निरन्तरताबारे कस्तो निर्णय गर्छ भन्नेमा निर्भर छ । एसियाका उच्च हिमाली भागमा रहेका हिउँचितुवा र मानव दुवैको सहअस्तित्वको निरन्तरता अनिवार्य छ । यी दुवै प्रकृति र संस्कृतिका अभिन्न अंग हुन् ।
भिरालो संसारको जीवन
एसियाका उच्च हिमालहरूको प्रतिनिधित्व हिउँचितुवाले जति अरू कुनै जीव प्रजातिले गर्दैन । समुद्र सतहबाट ३ हजारदेखि ५ हजार ५०० मिटरसम्मको उचाइमा बस्ने यो जीव चिसो, भिरालो, चट्टानी र कठोर भूगोलमा उत्कृष्ट रूपमा अनुकूलित पारिस्थितिक प्रणालीको एक शीर्षस्थ शिकारी हो । यसको वासस्थान मध्य एसियाको किर्गिस्तानदेखि उत्तरमा रूस र मंगोलिया, पूर्वमा चीनको युनानसम्म र दक्षिणमा भारत, नेपाल, भूटान हुँदै चीनको स्वशासित तिब्बतसम्म फैलिएको छ । रीरको बनोट हेर्दा यो जीव प्रकृतिको एक इन्जिनियरिङ-चमत्कार जस्तो देखिन्छ । आकारमा सानो भए पनि यसको नाकको भित्री भाग र वायुकोष ठूला हुन्छन्, जसले उच्च पहाडको चिसो हावालाई शरीर भित्र पस्नुअघि न्यानो बनाउन मद्दत गर्छन् । अफ्रिकाको उत्कृष्ट मांसाहारी जनावर चिताका पनि यस्तै विशेषता हुन्छन् । शायद उच्च हिमाली भागमा पनि ती अंगको उपादेयता उत्तिकै भएकोले त्यस्ता गुणहरू यस प्रजातिमा पनि विकास भएका हुनसक्छन् । हिउँचितुवाको बाक्लो तर फिक्का फुस्रो रङको भुत्लाले चट्टानी भीरसँग उत्कृष्ट छलावरण (camouflage) दिन्छ- जसले गर्दा यसलाई देख्न अत्यन्त कठिन हुन्छ । उसको बाक्लो भुत्लाले यसलाई हिमालको ठण्डी र सिरेटोबाट बच्न पनि मद्दत गर्छ । पछिल्तिरका लामा खुट्टाले पाखोमा ठूलो फड्को मार्न सघाउँछन् ।
हिउँचितुवाले आफ्नो जीउको लम्बाइभन्दा १०औं गुणासम्म लामो फड्को मार्न सक्छ । प्रायः शरीरको लम्बाइ बराबर लामो पुच्छर ठाडा भीरहरूमा वेगले दगुर्दा र उफ्रँदा सन्तुलन मिलाउन तथा जाडोको समयमा बर्कोले झैं नाकमुख छोपेर न्यानो प्राप्त गर्न काम लाग्छ । वनबिरालाका अरू प्रजातिभन्दा शक्तिशाली बङ्गारा र लामा दाँत भएकाले खुर भएका ठूला हिमाली जनावरहरू- नाउर, नायन, झारल आदि समात्न र जहाँ शिकार गर्यो त्यहींका त्यहीं शिकार हजम गर्न हिउँचितुवालाई सजिलो हुन्छ । ठूला र बलिया कुकुरदाँतले गर्दा हिउँले कठ्याङ्ग्रिएका आहारा पनि यिनले अरू जनावरका दाँजोमा सजिलै खान सक्छन् । हिउँचितुवा वास्तवमा ‘हिउँ’ भन्दा पनि ‘ढुङ्गा’का जीव हुन्- जसलाई भारतको अरुणाचल प्रदेशमा बोलिने दिराङ मोन्पा भाषामा ‘ताक्सिन’ अर्थात् ढुङ्गाको चितुवा भनिन्छ । यो भनाइलाई हिउँचितुवाको सही वर्णन मान्न सकिन्छ ।
शिकार र पारिस्थितिक भूमिका
हिमालमा शिकार गर्नु भनेको- लुक्ने कला, सटिकता र गुरुत्वाकर्षणलाई राम्ररी बुझ्नु र यसैमा खेल्नु हो । हिउँचितुवा- ढुकेर बस्ने र आहारा प्रजातिलाई अप्रत्याशित झम्टेर शिकार गर्ने प्राणी हो, जसले चट्टान र भिराला भूभागको आडमा शिकारलाई माथिबाट आक्रमण गर्छ । यसरी आक्रमण गर्दा ज्यानै फालौंला जस्तो गरी आहार प्रजातिसँगै भीरमा हामफाल्दै चट्टान, पहरोमा बजारिंदै, थेचारिंदै आफ्नो तौलभन्दा तीन गुणासम्म गह्रौं जनावरलाई पनि यसले सफलतापूर्वक शिकार गर्न सक्छ । यस्तोमा बाक्लो भुत्लाले ढाकेको शरीर र अत्यधिक लचकता प्रदान गर्ने हड्डीले यसलाई विशेष साथ दिएको मान्न सकिन्छ । शिकारका समयमा चोट लागे पनि यिनीहरूमध्ये प्रायः छोटो समयमै निको भई अर्को जोखिमपूर्ण शिकारका लागि तयार भइसकेका हुन्छन् । उच्च हिमाली भेगमा यसरी शिकार गरी आहार जुटाउन सक्ने क्षमता अरू जनावरमा छैन । यसलाई प्राकृतिक छनोट र अनुकूलताको एक उल्लेखनीय र विशिष्टतम उदाहरण मान्न सकिन्छ ।
हिउँचितुवा- ढुकेर बस्ने र आहारा प्रजातिलाई अप्रत्याशित झम्टेर शिकार गर्ने प्राणी हो, जसले चट्टान र भिराला भूभागको आडमा शिकारलाई माथिबाट आक्रमण गर्छ । यसरी आक्रमण गर्दा पहरोमा बजारिंदैै आफ्नो तौलभन्दा तीन गुणासम्म गह्रौं जनावरलाई पनि यसले सफलतापूर्वक शिकार गर्न सक्छ ।
तर हिउँचितुवाको भूमिका केवल शिकार गर्ने मात्र होइन । यिनलाई संरक्षण गर्न सकिएमा यो पारिस्थितिक प्रणाली अन्तर्गत रहने धेरैजसो प्रजातिको पनि स्वतः संरक्षण हुनाले हुनसक्छ । यसरी हिउँ चितुवाले एक छाता प्रजातिका रूपमा नाउर, नायन, झारल, आइबेक्स जस्ता खुर भएका आहार प्रजातिहरूको सङ्ख्या सन्तुलनमा राख्छन् । यदि नियमित शिकार नहुने हो भने यिनै शाकाहारी जनावरहरूको सङ्ख्या अनियन्त्रित ढंगमा बढ्छ र अत्यधिक चरिचरनले वनस्पति र माटोमा गम्भीर क्षति पुग्छ; फलस्वरुप भूक्षयीकरण, पहिरो र वातावरणीय असन्तुलन जस्ता दुर्घटना निम्तिन सक्छन् । हिउँचितुवाको उपस्थितिले त्यस क्षेत्रको घाँस र वनस्पतिहरूको पुनर्जीवनमा सहयोग गर्छ- जसले अन्ततः माटोको संरक्षण, जलस्रोतको स्थायित्व र सम्पूर्ण पारिस्थितिक प्रणालीको स्वास्थ्य राम्रो बनाउनमा प्रत्यक्ष योगदान पुर्याउँछ । यसकारण, हिउँचितुवा हराएर जानु भनेको त्यसको असर पूरै पारिस्थितिक शृंखलामा पर्नु हो ।
जोखिममा परेको जीव
अद्भूत क्षमता र अदम्य शक्ति, अब्बल र अनुकूलित शरीर हँुदाहुँदै पनि हिउँचितुवाहरू थुप्रै कारणले गर्दा जोखिममा परेका छन् । उच्च हिमाली क्षेत्रहरू जैविक रूपमा कम उत्पादनशील हुन्छन्- अर्थात् कम वनस्पति, कम शिकार, कम स्रोत । त्यसैले त्यहाँ हिउँचितुवाहरू पनि अत्यन्त कम घनत्वमा पाइन्छन्- प्रायः प्रति १०० वर्ग किमिमा एकभन्दा कम । हिउँचितुवाको एउटा पोथीलाई आफ्नो अधिकार क्षेत्र स्थापित गर्नका लागि करीब १०० वर्ग किमि भूमि चाहिन्छ भने भालेलाई त्यसको दोब्बर । यसको अर्थ हो, यी जनावरहरूको संरक्षण गर्न यिनलाई केवल संरक्षित क्षेत्रभित्र मात्रै सीमित गर्नु पर्याप्त हुँदैन- मानवसँगको साझा भूगोल अर्थात् सामुदायिक वन, खेतबारी र गाउँसम्मको विस्तृत क्षेत्रमा पनि यिनको संरक्षण आवश्यक हुन्छ ।
हिउँचितुवाको प्रजनन ढिलो हुन्छ- पोथीले दुई वर्षमा एक पटक मात्र बच्चा जन्माउँछ, र एक पटकमा १ देखि ३ वटा सम्म । हालको अनुमान अनुसार संसारमा जम्मा ४ हजारदेखि ६ हजार ५०० वटा हिउँचितुवा बाँकी छन् । नेपालमा हालसालै गरिएको अध्ययनको आँकडाले यहाँ हिउँचितुवाको वासस्थान लगभग ३० हजार वर्ग किमी रहेको र त्यसमा ३९७ वटा हिउँचितुवा भएको देखाउँछ । सङ्ख्या सानो भएकाले र आनुवंशिक विविधता कम रहेको हुनाले पनि यो प्रजाति जोखिममा रहेको पाइन्छ । यस्ता प्रजातिहरू कुनै पनि ठूलो विपद्, महामारी वा वासस्थान विनाशबाट एकदमै छिटो र बढी प्रभावित हुनसक्छन् ।
संकटका स्रोत र कारण
परम्परागत जोखिमहरू- जस्तै, घरपालुवा पशुको क्षति भएपछि प्रतिशोधमा मानिसद्वारा हिउँचितुवा मारिनु, अत्यधिक चरिचरनले यिनको वासस्थान क्षय हुनु र आखेटोपहारका लागि अवैध शिकार हुनु हो । तर हिउँचितुवाको सन्दर्भमा, आजको सबैभन्दा ठूलो र बढ्दो चुनौती भनेको जताततै पूर्वाधारको तीव्र विस्तार हो । सडक, रेलमार्ग, जलविद्युत् आयोजना र खानीहरूको उत्खननले हिउँचितुवाको वासस्थानलाई विखण्डित गर्दैछन् । यस्ता पूर्वाधारहरूले हिउँचितुवाको आवतजावत रोक्छन्, यिनको विचरण क्षेत्रको खण्डीकरण गर्छन् र अन्ततोगत्वा मानव-वन्यजन्तु द्वन्द्व बढाउँछन् ।
नेपालको विशेषगरी उच्च पहाडी र हिमाली क्षेत्रमा सडक सञ्जाल विस्तार, जलविद्युत् आयोजनाहरूको निर्माण, यार्सागुम्बा संकलनको दबाब र पर्यटनको अनियन्त्रित वृद्धि- हिउँचितुवा संरक्षणमा नयाँ चुनौतीका रूपमा देखा परिरहेका छन् । यार्सागुम्बा खोज्ने हजारौं मानिसको भीडले हिउँचितुवाको शान्त वासस्थानलाई खल्बल्याउँछ । साथै यार्सागुम्बा खोज्न जानेहरूले बिहान-बेलुकाको छाक टार्नका लागि व्यापक रूपमा स्थानीय वन्यजन्तुहरूको शिकार गर्ने कुरा पनि समाचारमा आएका छन् । यस भेकमा नियमन गर्ने संस्थाहरूको प्रायः अनुपस्थितिका कारण जीविकोपार्जनका यस्ता माध्यम र संरक्षण दुवै गलत दिशामा जान सक्छन् ।
विभाजित भूगोल र सीमापारका चुनौती
हिउँचितुवाको वासस्थान- अफगानिस्तान, भुटान, चीन, भारत, कजाखस्तान, किर्गिस्तान, मङ्गोलिया, नेपाल, पाकिस्तान, रूस, ताजिकिस्तान र उज्बेकिस्तान गरी १२ देशमा फैलिएको छ । यिनको वासस्थानको ठूलो भाग (हिउँचितुवाको विश्व वासस्थानको करीब एक तिहाइ) अन्तर्राष्ट्रिय सीमाको १०० किमिभित्रै पर्छ- र यी सीमाहरूमा प्रायः द्वन्द्व, राजनीतिक तनावपूर्ण सम्बन्धको स्थिति विद्यमान छ ।
तर, राजनैतिक रूपमा खडा भएका अप्राकृतिक सीमाहरू जनावरले चिन्दैनन् । तारबार, सडक र पर्खालका अवरोधले उनीहरूको स्वाभाविक आवतजावत रोक्छ, जसले प्राकृतिक रूपमा हँुदै आएको आनुवंशिक आदानप्रदानलाई सीमित बनाउँछ र उपप्रजातिहरूको आनुवंशिक विविधता कम गराई प्रजाति नै लोप हुने खतरा बढाउँछ । जुन हिउँचितुवा आज एउटा देशको संरक्षण क्षेत्रमा सुरक्षित छ, भोलि सीमा काट्दा त्यो देशको कानूनले नभेट्ने ठाउँमा पुग्न सक्छ । यसैले हिउँचितुवा- संरक्षण अनिवार्य रूपमा एक अन्तर्राष्ट्रिय सीमापार समन्वय र संरक्षणको प्रतीक हो- जहाँ विज्ञान, कूटनीति र समुदायको समन्वय एकैसाथ हुनुपर्छ । अन्तर्राष्ट्रिय हिउँचितुवा संरक्षण सञ्जाल (Snow Leopard Network-SLN) र हिउँचितुवा एवम् पारिस्थितिक प्रणाली संरक्षणका लागि मन्त्रीस्तरीय सचिवालय (Global Snow Leopard & Ecosystem Protection Program-GSLEP) जस्ता अन्तर्राष्ट्रिय संयन्त्रहरूले यही काम गर्दैछन् ।
मंगोलियाको गोबी प्रदेशको तोस्त क्षेत्रमा हाम्रो टोलीले दुई दशकभन्दा बढी समयदेखि हिउँचितुवाको अध्ययन गर्दै आएको छ । यहाँका अर्ध-वयस्क हिउँचितुवाले मंगोलियाभित्रै उत्तरतर्फ र नगिचै रहेका हिमाली क्षेत्रहरूमा पुग्न ठूलो खुल्ला भूभाग पार गर्न सक्छन् । तर यसको विपरित दक्षिणतर्फ भने चीनसँगको सीमामा लगाइएको तारबारले गर्दा तिनको त्यसतर्फको आवतजावत रोकिदिन्छ । यसले गर्दा चीनको भित्री मंगोलिया प्रान्तमा रहेका हिउँचितुवासँग आनुवंशिक आदानप्रदान हुन पाउँदैन ।
दुई दशकअघि तोस्तको पूरै क्षेत्र खानी उत्खननका लागि छुट्याइएको थियो । तर स्थानीय समुदाय र मंगोलियामा रहेको हाम्रो टोलीको लामो प्रयासपछि, सन् २०१६ मा तोस्त-तोसोनबुम्बा एक आरक्षका रूपमा स्थापना भयो । करीब ८ हजार वर्ग किलोमिटर क्षेत्रफल भएको यो आरक्षको अहिले समुदाय र सरकारी निकायहरू मिलेर व्यवस्थापन गर्दै आएका छन् । यहाँ हिउँचितुवाको संख्या अहिले दोब्बर भएको छ । हालसालै मात्र यो क्षेत्रलाई युनेस्कोले बायोस्फेयर रिजर्भ (Biosphere Reserve) को मान्यता पनि दिएको छ । यसले गर्दा यो स्थानलाई राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय कानूनबाट पनि थप संरक्षण प्राप्त भएको छ । तर पनि निर्धक्क भएर बस्ने र चैनको सास फेर्ने छुट भने हामीलाई छैन, किनभने विकासको नाममा गरिने विश्वव्यापी होडबाजी यहाँ पनि उस्तै छ ।
पृथ्वीको तेस्रो ध्रुवः एक संकटापन्न पारिस्थितिक प्रणाली
हिउँचितुवा एसियाका ठूला हिमाली प्रणालीहरू- हिमालय, पामिर, काराकोरम, हिन्दुकुश, टिएन–सान, अल्ताई र भोटका विशाल पठारको साझा पहिचान हो । हिमाली भेग र भोटका पठारलाई ‘पृथ्वीको तेस्रो ध्रुव’ पनि भनिन्छ, किनकि पृथ्वीका उत्तर र दक्षिण ध्रुवपछि यसभेगमा सबैभन्दा बढी हिउँ जमेको छ । यहाँका पर्वत शृंखला- गङ्गा, ब्रह्मपुत्र, मेकोङ, यान्जे र सिन्धु लगायत एसियाका प्रमुख नदीहरूको उद्गम स्थल हुन्, जसले दुई अर्बभन्दा बढी मानिसलाई खानेपानी, सिंचाइ, जलविद्युत् र अन्य सेवा उपलब्ध गराउँछन् । हिउँचितुवा- आर्कटिक र अन्टार्कटिका बाहिरको सबैभन्दा ठूलो हिउँको भण्डार अर्थात् करीब ७ हजार ट्रिलियन लिटर ताजा पानी समेट्ने विशाल हिमनदीहरूको छेउछाउमा बस्छन् ।
हालको अनुमान अनुसार संसारमा जम्मा ४ हजारदेखि ६ हजार ५०० वटा हिउँचितुवा बाँकी छन् । नेपालमा हालसालै गरिएको अध्ययनको आँकडाले यहाँ हिउँचितुवाको वासस्थान लगभग ३० हजार वर्ग किमी रहेको र त्यसमा ३९७ वटा हिउँचितुवा भएको देखाउँछ ।
तर दुर्भाग्य, यही क्षेत्र विश्वको अरू भूभागभन्दा बढी तीव्र गतिमा तातिरहेको छ- विश्व औसतभन्दा झन्डै तीन गुणा बढीले । हिमनदीहरू अत्यधिक रूपमा पग्लिरहेका छन्, हिमतालहरू बन्ने र फुट्ने क्रम (Glacial Lake Outburst Flood- GLOF) बढेको छ । यी कारणले गर्दा आइलागेको अतिरिक्त वातावरणीय जोखिम नेपाल, भारत, पाकिस्तान र भुटानका तल्ला भेगका बस्तीहरूमाथि बढाइरहेको छ । उदाहरणका लागि, नेपालमा रहेको गंगापूर्णा हिमनदी, जसले एक समय मस्र्याङ्दी नदीको स्रोत क्षेत्रमा सुन्दर दृश्य दिन्थ्यो, यो हिमनदी हाम्रै जीवनकालभित्र एक किलोमिटरभन्दा बढी माथि सरेको छ र त्यसको ठाउँमा एक अस्थिर र जोखिमपूर्ण नयाँ हिमताल बनेको छ ।
त्यसैगरी सन् २०१३ मा भारतको केदारनाथ उपत्यका, उत्तराखण्डमा चोरबारी ताल फुटेर आएको बाढीले करीब ६ हजार मानिसको ज्यान लिएको थियो । यस्ता घटना हालका वर्षहरूमा झन्झन् बढिरहेका छन् । यही समयमा जलवायु परिवर्तनको चरम असर पनि तीव्र हुँदै गएको छ । मंगोलियामा गर्मी बढिरहेको भए पनि, जाडोको अन्त्यतिर हुने ‘सेतो जड’ (white dzud) भनिने अत्यन्तै चिसो र अत्यधिक मात्रामा हिमपात हुने घटना पहिलेभन्दा धेरै देखा पर्न थालेका छन् । सन् २०२४ को एउटै जड ले त्यहाँ करीब ८० लाख गाईवस्तुको मृत्यु गरायो, जुन मंगोलियाको कुल पशुधनको १० प्रतिशतभन्दा बढी हो । अन्य वर्षहरूमा लामो खडेरीले पनि दुःख दिएको देखिन्छ ।
पृथ्वीको तेस्रो धु्रव क्षेत्रभरि नै बाली उत्पादन घटिरहेको, पशुमा रोग बढिरहेको र पहिले कम जोखिम मानिने क्षेत्रमा पनि नयाँ रोगजन्य जीवाणुहरू देखा पर्ने घटनाहरू बढिरहेका छन् । जलवायु परिवर्तनको प्रत्यक्ष असर हिउँचितुवाको वासस्थानमाथि पर्छ । तापक्रम बढ्दै जाँदा वृक्षरेखाको सीमा माथि सर्छ, जसले हिउँचितुवाको प्राकृतिक वासस्थान घटाइदिन सक्छ । सन् २१०० सम्ममा हिउँचितुवाको हाल विद्यमान उपयुक्त प्राकृतिक वासस्थान ३० प्रतिशतसम्म नष्ट हुनसक्ने भनी अनुसन्धानहरूले देखाएका छन् ।
हिउँचितुवा अनुसन्धान र संरक्षणमा प्रविधिको प्रयोग
आज संरक्षणमा नयाँ प्रविधिहरूको प्रयोग पनि व्यापक रूपमा बढ्दै गएको छ । वन्यजन्तुको तस्वीर खिच्ने स्वचालित क्यामेरा, भूउपग्रह सूचनायुक्त दूरमापन (satellilte telemetry), डीएनएको विश्लेषण र कृत्रिम बुद्धिमता (एआई) मार्फत हिउँचितुवाको पहिचान र अनुगमन गर्ने काम अहिले धेरै विश्वसनीय र प्रभावकारी भएको छ । हिउँचितुवाको अनुहार र शरीरमा रहेका बुट्टाको बनोट पहिचान गरेर फरक-फरक जनावर छुट्याउन सक्ने एआईमा आधारित प्रणाली अहिले प्रचलनमा आइसकेको छ ।
तर प्रविधिहरूको जतिसुकै विकास भए पनि अन्ततोगत्वा संरक्षण कार्यलाई सफल बनाउन मानवीय आस्था, विश्वास र सहकार्य जरूरी हुन्छ । जुन किसानले आफ्नो चौपाया हिउँचितुवाले मारेपछि क्षतिपूर्ति पाउँछ, ऊ प्रतिशोधको पछि लाग्दैन । जुन समुदायले हिउँचितुवामा आधारित पर्यटनबाट आम्दानी पाउँछ, त्यो समुदाय स्वयं संरक्षकका रूपमा रूपान्तरित हुन्छ । यस्ता कुरा हामी सबैले बुझनुपर्छ ।
संरक्षणका उपाय
हिउँचितुवाको भाग्य- हाम्रो आफ्नै भाग्यसँग अटुट रूपमा गाँसिएको छ । यदि यी हिमाल ताते, हिमनदी पग्लिए र पारिस्थितिक सन्तुलन बिग्रियो भने- अन्ततः त्यसको अत्यधिक मूल्य मार गरिबीको रेखामुनि रहेका करोडौं मानिसले नै चुकाउनुपर्छ । तसर्थ, समय छँदै निम्न उपायतिर ध्यान जानु सबैको हितमा हुनेछः
क. जलवायु परिवर्तनको गति नियन्त्रणः वैश्विक तापक्रम सीमित गर्नु हिउँचितुवाको वासस्थान बचाउने सबैभन्दा महत्वपूर्ण कदम हो ।
ख. समुदायको उत्थानशीलताः स्थानीय समुदायलाई वन्यजन्तु संरक्षणबाट प्रत्यक्ष लाभ पुग्नुपर्छ, उहाँहरूलाई बोझको भारी दिएर होइन ।
ग. जलवायुमैत्री पूर्वाधारः वन्यजन्तुको आवतजावतलाई ध्यानमा राखेर विकासका पूर्वाधारको डिजाइन गर्नुपर्छ । विज्ञको सल्लाहले वातावरण र वन्यजन्तुको दिगो संरक्षण र पूर्वाधारको दीर्घकालीन स्थायित्वको सुनिश्चितता गर्दछ ।
घ. स्थानीय अधिकार र लाभको सुनिश्चितताः संरक्षणका प्रत्येका निर्णय प्रक्रियामा स्थानीय ज्ञान र आवाजको पहुँच र सम्मान हुनुपर्छ ।
संरक्षण भनेको केवल वन्यजन्तु जोगाउनु होइन- यो त परम्परागत जीवनशैली, ऐतिहासिक संस्कृति, जलस्रोतको भण्डार र मानिसको आफ्नै सन्ततिको भविष्यको निरन्तरताको सोच पनि हो ।
आशा उज्ज्वल भविष्यको
आशा जीवितै छ र त्यो अहिले भइरहेका काममा देखिन्छ, सिद्धान्तमा मात्र होइन । हिउँचितुवाको संरक्षण निंति यो जीव पाइने १२ वटा देशहरू बीचको सहकार्य Global Snow Leopard Ecosystem Protection Program (GSLEPP) ले हिउँचितुवालाई शान्ति र बहुपक्षीय सहकार्यको जीवन्त प्रतीक बनाएको छ- यस्तो जनावर, जसको संरक्षणका लागि आपसमा शत्रुवत् व्यवहार गरिरहेका मुलुकहरू समेत एउटै टेबलका दायाँ-बायाँ बस्न तयार छन्, सहकार्यको उत्कृष्ट उदाहरण बनेर संरक्षणको खाका समेत कोरेका छन् ।
भारतको हिमाचलप्रदेशको स्पिति उपत्यकामा, जहाँ हिउँचितुवाप्रति भय र केही घृणा थियो, तीन दशक लामो अथक् प्रयासपछि आज यिनीहरू स्थानीय जनताका लागि पर्यटन र आम्दानीको स्रोत बनेका छन् । यहाँ उल्लेखनीय विषय के छ भने महिलाहरू स्वयं संरक्षण अभियानको अग्रपंक्तिमा नेतृत्व गर्दैछन्- होमस्टे चलाउँदै, गाइड र समुदायको संरक्षण दूत बन्दै ।
त्यसैगरी हाम्रा टोलीहरूले किर्गिस्तान, मंगोलिया, नेपाल र पाकिस्तान लगायत धेरै अन्य देशका हिउँचितुवाका वासस्थान नगिचका आदिवासी तथा स्थानीय समुदायहरूसँग साझेदारी गर्दै हस्तकला, तरकारी र फलफूल खेतीका लागि आधुनिक प्रविधि, दुग्ध उत्पादन, मौरीपालन, बीमा कार्यक्रम तथा पशुधनको खोप र संरक्षण जस्ता स्थानीय उद्यममार्फत आयका स्रोतहरूको विविधीकरण र जीविकोपार्जनको दिगोपनलाई सुदृढ बनाउन सहयोग गरेका छन् । जलवायुजन्य विपद्का बेला उनीहरूलाई अन्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराएर पनि सहयोग गरिएको छ । यी सबै पर्याप्त छैनन्, तर यी साना प्रयासहरूले पनि हिउँचितुवाको संरक्षणप्रति उनीहरूको सद्भाव र समर्थन प्राप्त गर्न महत्वपूर्ण योगदन पुर्याएको छ । नेपाल लगायतका देशहरूमा समुदायमा आधारित संरक्षणले हिउँचितुवा र मानव बीचको सहअस्तित्वलाई यथार्थमा रूपान्तरित गरेको छ । आज हिउँचितुवा पाइने देशहरूमा ६० हजार वर्ग किमिभन्दा बढी क्षेत्रमा स्थानीय समुदायहरूले स्वतस्फूर्त रूरुपमा आफैं संरक्षणको नेतृत्व गरिरहेका छन्- सरकार वा अन्तर्राष्ट्रिय संस्थाको सहयोगको प्रतीक्षा नगरी र त्यसको भर नपरी ।
यही यथार्थमा हाम्रो उज्ज्वल भविष्यको आशा लुकेको छ । पृथ्वीको तेस्रो ध्रुवका यी मूक रक्षक- हिउँचितुवा र उनीहरूको नजिकमा बस्दै आएका मानव समुदायहरू, दुवैले मिलेर यो जटिल कलियुग पार गर्न सक्छन् । तर त्यसका लागि हाम्रो इच्छाशक्ति र साझा प्रतिबद्धता चाहिन्छ- आज र अहिलेदेखि नै ।
(अन्तर्राष्ट्रिय हिउँचितुवा ट्रष्ट (ISLT) का संरक्षण निर्देशक डा. बराल- संरक्षण तथा पारिस्थितिकीविद् हुन् । उनले नेपालको जैविक विविधताको संरक्षणका लागि सहभागितामूलक विशेष संरक्षण स्थान (Special Conservation Sites) तथा भविष्यका लागि रूख (Trees for Tomorrow) जस्ता नवीन कार्यक्रमहरूको सुरुआत गरेका छन् ।)
(अन्तर्राष्ट्रिय हिउँचितुवा ट्रष्ट (ISLT) का कार्यकारी निर्देशक डा. मिश्र- (Ethical Conservation Alliance) का महासचिव तथा भारतको नेचर कन्जरभेसन फाउन्डेशनका सह-संस्थापक हुन् । उनी समुदाय-केन्द्रित संरक्षण, अनुसन्धान र नीतिनिर्माणका क्षेत्रमा संलग्न छन् ।)
–‘शिक्षक मासिक’ भदौ २०८३ बाट साभार






















