काठमाडौं – नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तारको सम्भावना बढेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको यस सहमतिले लामो समयदेखि भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनमा देखिँदै आएको हवाई मार्गसम्बन्धी अवरोध हटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सहमतिअनुसार काठमाडौं–भैरहवा–लखनउ (बी–३४५) हवाई मार्गलाई एकतर्फीबाट दुईतर्फी बनाउने प्रक्रिया अघि बढाइएको छ । यसअघि उक्त हवाई मार्ग प्रयोग गरेर भैरहवाबाट उडान तथा अवतरण गर्न व्यावहारिक कठिनाइ रहँदै आएको थियो । दुईतर्फी सञ्चालनको व्यवस्था कार्यान्वयनमा आएमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन सहज हुनुका साथै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई थप विकल्प उपलब्ध हुनेछन् ।
यद्यपि, सहमतिलाई कार्यान्वयनमा लैजान प्राविधिक पक्ष, उडान सञ्चालन प्रक्रिया र आवश्यक व्यवस्थापनबारे थप छलफल गर्नुपर्नेछ । त्यसैले सहमतिपछि तत्काल नियमित अन्तर्राष्ट्रिय उडान सुरु भइसकेको अर्थमा बुझ्न नहुने सरोकारवालाको भनाइ छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले हवाई मार्ग दुईतर्फी बनाउने सहमतिलाई भैरहवा र समग्र लुम्बिनी क्षेत्रको आर्थिक विकासका लागि सकारात्मक उपलब्धिका रूपमा लिनुपर्ने बताए । अन्तर्राष्ट्रिय उडान विस्तार हुँदा पर्यटन, उद्योग, व्यापार तथा होटल व्यवसायमा प्रत्यक्ष प्रभाव पर्ने उनको भनाइ छ । विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सके यस क्षेत्रको आर्थिक गतिविधि थप चलायमान बन्ने उहाँले अपेक्षा गरे ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष सागर अधिकारीले हवाई पहुँच विस्तारले लुम्बिनी आउने विदेशी पर्यटकको आवागमन सहज बनाउन सक्ने बताए । भारतका विभिन्न सहरबाट पर्यटकलाई भैरहवा हुँदै लुम्बिनी ल्याउन सकिने सम्भावना बढ्ने उनको भनाइ छ । विमानस्थल सञ्चालनलाई प्रभावकारी बनाउन उडान सेवा, पर्यटकीय प्याकेज र यातायात व्यवस्थापनलाई पनि सँगसँगै अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक सुरज घिमिरेले हवाई मार्ग विस्तारलाई लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटनसँग जोडेर हेर्नुपर्ने बताउनुभयो । बुद्धको जन्मस्थल लुम्बिनीलाई भारतका बोधगया, सारनाथ, कुशीनगर र श्रावस्तीजस्ता बौद्धस्थलसँग जोडेर धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न सकिने उनको भनाइ छ ।
भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार हुन सके नेपाल आउने पर्यटकलाई लुम्बिनीसहित कपिलवस्तुको तिलौराकोट, देवदह र रामग्रामजस्ता ऐतिहासिक तथा पुरातात्त्विक स्थलसम्म पुर्याउन सहज हुनेछ । यसबाट पर्यटन व्यवसायसँगै स्थानीय होटल, यातायात, कृषि तथा अन्य सेवा क्षेत्रमा रोजगारी र आम्दानीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै लुम्बिनीलाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने अपेक्षा गरिएको थियो । तर, नियमित अन्तर्राष्ट्रिय उडानको निरन्तरतामा देखिएका चुनौतीका कारण विमानस्थलले अपेक्षित गति लिन सकेको छैन । विमानस्थल सञ्चालनमा पूर्ण क्षमता उपयोग हुन नसक्दा यस क्षेत्रको पर्यटन र आर्थिक विकासमा समेत अपेक्षित लाभ प्राप्त हुन सकेको छैन ।
यस्तो अवस्थामा नेपाल–भारतबीच भएको पछिल्लो सहमतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके भैरहवा विमानस्थलको उपयोगिता बढ्नुका साथै लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहयोग पुग्ने देखिन्छ । त्यसका लागि हवाई मार्ग सञ्चालनको प्राविधिक प्रक्रिया टुङ्ग्याउने, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्ने र पर्यटकीय पूर्वाधार तथा सेवाको विस्तारलाई सँगसँगै अघि बढाउनुपर्ने देखिन्छ ।






















