images
images
  • बर्डफ्लुले कीर्तिपुरमा मरे दर्जनौं काग, कुखुराको मासु नखान निर्देशन

    काठमाडौं- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा एक सातायता दर्जनौं कागहरू मृत भेटिए ।

    एकैसाथ ठुलो संख्यामा काग मरेका भेटिएपछि पशुस्वास्थ्य विभागले परीक्षण ग¥यो । ती कागहरू बर्डफ्लु संक्रमित रहेको पुष्टि भएको छ ।

    कीर्तिपुर नगरपालिका तथा पशुस्वास्थ्य विभागको संयुक्त टोलीले त्रिवि परिसरमा मृत भेटिएका कागहरू संकलन गरी माटोमा पुर्न थालेको छ । मंगलबार मात्र ६८ वटा काग बटुलेर गाडिएको छ ।

    ‘त्यहाँ अझै धेरै संख्यामा मरेका काग भेटिएका छन् । सबै एकैदिन संकलन गर्न सकिएन । भोलि पनि यो काम जारी राख्छौं,’ नगरपालिकाकी पशुसेवा प्रमुख सुशीला गैरेले भनिन् ।

    एक साताअघि स्थानीय व्यक्तिले त्रिविको वीरेन्द्र राज्याभिषेक उद्यानमा कागहरू मरेको खबर दिएका थिए । विसं २०३१ सालमा निर्मित सो उद्यान कुल ४ सय ३२ रोपनी जमिनमा फैलिएको छ ।

    सरसफाइ अभियन्ताहरूले गत पुसमा ठुला रुख र झाडीले ढाकेको उक्त उद्यानका झाडी फाँडेर सफा गरेका थिए ।

    त्यसपछि विद्यार्थी छहारीमा बसेर पढ्ने तथा समतल ठाउँमा क्रिकेट खेल्न प्रयोग भइरहेको थियो ।

    त्यही क्षेत्रमा १० वटा मृत काग भेटिएपछि पशुसेवा विभागको प्रयोगशालामा पुर्‍याएको गैरेले बताइन् ।

    परीक्षणबाट बर्डफ्लु पुष्टि गरेपछि नगरपालिका र पशुसेवा विभागको टोलीले मंगलबार मरेका कागहरू संकलन गर्ने निर्णय गरेको थियो ।

    साथै सोही स्थानमा अन्य पक्षी मृत भेटिएमा तिनको पनि नमुना संकलन गर्ने निर्देशन टोलीलाई दिइएको थियो ।

    सुरक्षा सामग्री र जनशक्ति जुटाएर मंगलबार दिउँसो ३ बजेदेखि मृत काग संकलन सुरु गरिएको थियो ।

    संकलित मृत कागलाई उद्यानभित्रै सुरक्षित स्थलमा डोजरको सहायताले ठुलो खाल्डो खनी विसर्जन गरिएको थियो ।

    पशुुसेवा विभाग र कीर्तिपुर नगरपालिकाले सो कार्यका लागि आवश्यक संक्रमणप्रतिरोधी पोसाक (पिपिई) तथा संकलनका लागि प्रयोग हुने अन्य सामान उपलब्ध गराइएको थियो ।

    साथै जैविक सुरक्षाका अन्य उपायसमेत अपनाइएको जानकारी पनि गैरेले दिइन् । काग संकलनमा संलग्नहरूका अनुसार, उद्यानमा अन्य चरा भने त्यसरी मरेको भेटिएको छैन ।

    ‘खुला स्थानमा जताततै उड्ने भएकाले कुखुराको बर्डफ्लुभन्दा कागबाट फैलिने संक्रमण नियन्त्रण जटिल हुन्छ,’ उनले भनिन् ।

    खोरमा पालिएका कुखुरामा यसको संक्रमण हुन सक्ने जोखिमलाई कम गर्न चुना आदि छर्किनेलगायत सावधानी अपनाइएको छ ।

    कीर्तिपुर नगरपालिका क्षेत्रमा कुखुराका दाना ओसारपसार नगर्न सार्वजनिक सूचनासमेत जारी गरेको छ ।

    पशुसेवा विभागका वरिष्ठ पशुचिकित्सक मुकुल उपाध्यायले मृत कागमा एचफाइएन १ र एचनाइन गरी दुवैखालको बर्डफ्लु भाइरस देखिएको बताए ।

    डुलुवा पक्षीमा पर्ने कागमा फिरन्ते चराहरूबाट बर्डफ्लु संक्रमण फैलिएको हुनसक्ने उनको अनुमान छ । केही वर्षअघि काठमाडौंको बेलायती राजदूतावास परिसरमा पनि यसैगरी कागमा संक्रमण देखिएको उपाध्याय बताउँछन् ।

    यस्तो समस्या विभिन्न समयमा देखिने र अरू चरालाई सार्ने जोखिम पनि उत्तिकै रहेको छ ।

    ‘त्यसैले कुखुरा, बट्टाइ वा कालिजपालक किसानहरूलाई जंगली चराचुरुंगी, कुकुर वा बिराला जान नसक्ने गरी खोरको व्यवस्थापन गर्न तथा खुला ढंगले चराचुरुंगी नपाल्न आग्रह गरिएको छ,’ उनले भने ।

    संक्रमण भयो भन्दैमा अन्यत्रका पनि कागलाई खोजीखोजी मार्नेजस्ता काम भने गर्न नहुने उपाध्याय बताउँछन् ।

    साथै मरेका कुखुरा वा पंक्षी बंगुरलाई खुवाउने वा कुन स्रोतबाट आएको भन्ने थाहा नभई सस्तो पाएकै भरमा कुखुराको मासु उपभोग नगर्न पनि उनले आग्रह गरे । -पत्रपत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images