images
images
  • इरानी सैनिकको नियन्त्रणमा रहेका झाको रिहाइका लागि सरकारसँग हारगुहार

    काठमाडौं– नेपालका अमृत झाको सकुशल रिहाइका लागि उनका परिवारले सरकारसँग तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेका छन् ।

    उदयपुरको त्रियुगा नगरपालिका–११ का ३३ वर्षीय झा इरानस्थित ब्ल्याक सी मरिन एलएलसी कम्पनीमा पानीजहाज चालकका रूपमा कार्यरत छन् ।

    उनका अनुसार, दुबईबाट इरानतर्फ इन्धन लिन गएको जहाज फर्किने क्रममा उनलाई बन्दर अब्बास क्षेत्रमा इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो ।

    अमृतकी दिदी पूजा झाले दिएको जानकारीअनुसार, झालाई स्ट्रेट अफ होरमुज नजिकबाट पक्राउ गरिएको र हाल बन्दर अब्बास कारागारमा राखिएको आशंका गरिएको छ ।

    तर, पक्राउपछि उनको अवस्था र सुरक्षाबारे स्पष्ट विवरण प्राप्त हुन सकेको छैन ।

    यसै विषयमा झाका परिवारजनले सोमबार परराष्ट्रमन्त्री बलानन्द शर्मा र परराष्ट्र सचिव अमृतबहादुर राई सँग भेट गरेका थिए ।

    भेटका क्रममा उनका भिनाजु राजेशकुमार झाले इजरायल–अमेरिका आक्रमणपछिको क्षेत्रीय तनावका कारण झालाई नियन्त्रणमा लिइएको हुनसक्ने बताएका थिए ।

    परिवारजनले झाको सुरक्षा, स्वास्थ्य अवस्था र यथाशीघ्र रिहाइ सुनिश्चित गर्न इरानसँग कूटनीतिक माध्यमबाट पहल गरिदिन सरकारसँग माग गरेका छन् ।

    जवाफमा मन्त्री शर्माले आफ्नो कार्यकाल केही दिन मात्र बाँकी रहेको उल्लेख गर्दै आगामी सरकारले यस विषयलाई थप अघि बढाउने बताएका छन् ।

    साथै, परराष्ट्र मन्त्रालयले आफ्ना कूटनीतिक नियोगमार्फत झाको अवस्थाबारे जानकारी संकलन गर्ने प्रयास जारी रहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images