काठमाडौं– गगन कुमार थापाले पार्टीको सम्पूर्ण संगठनात्मक शक्ति आगामी महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने बताएका छन् ।
मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले आफूले महाधिवेशनको नेतृत्व गरिरहेको र अब यो प्रक्रिया कुनै हालतमा नरोकिने स्पष्ट पारे ।
उनले विशेष परिस्थितिमा सम्पन्न विशेष महाधिवेशनलाई लिएर कुनै पनि प्रकारको पूर्वाग्रह नराख्न नेताहरूलाई आग्रह गरे ।
‘त्यो विशेष अवस्था थियो, त्यसबाट नयाँ नेतृत्व आयो र हामी निर्वाचनमा गयौं। अब कसले भाग लियो, कसले लिएन भन्ने विषयलाई मनमा राख्ने अवस्था समाप्त भइसकेको छ,’ उनले भने ।
सभापति थापाले आगामी महाधिवेशनमा सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
कुनै समूह वा व्यक्तिलाई विगतका आधारमा विभाजन गर्ने होइन, एकताबद्ध रूपमा पार्टीलाई अघि लैजानुपर्नेमा उनले जोड दिए ।
‘मैले सभापतिको रूपमा यो अभियान अगाडि बढाएको छु, अब यो प्रक्रिया रोकिन्न,’ उनले भने, ‘सबैलाई सहभागी गराएर हामी महाधिवेशन सफल बनाउनेछौं ।’
यसअघि निर्वाचनमा पराजित भएका गगनले सभापति पदबाट राजीनामा दिएका थिए ।
उनको राजीनामा स्वीकृत नभएपछि पुनः उनै सभापतिमा फर्किएका छन् ।
उनी सभापतिमा फर्किएसँगै नियमित महाधिवेशनको बाटो खुला भएको छ ।























