काठमाडौं– मध्यपूर्वमा बढ्दो तनावबीच खाडी क्षेत्रका देशहरूले सुरक्षा सतर्कता बढाएका छन् ।
पछिल्लो घटनाक्रममा कुवेत र बहराइनले सम्भावित हमलाबारे चेतावनी जारी गर्दै नागरिकलाई सुरक्षित रहन निर्देशन दिएका छन् ।
बहराइनको गृह मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सुरक्षा अलर्ट जारी गरेको हो ।
मन्त्रालयले साइरन सक्रिय गरिएको जानकारी दिँदै नागरिकलाई शान्त रहन र नजिकको सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
साथै, आधिकारिक माध्यमबाट आउने सूचनालाई मात्रै विश्वास गर्न र सोहीअनुसार व्यवहार गर्न पनि नागरिकलाई अनुरोध गरिएको छ ।
उता, कुवेतको सेनाले सोमबार रातिदेखि मंगलबार बिहानसम्म देशमाथि मिसाइल र ड्रोनमार्फत आक्रमण प्रयास भएको जानकारी दिएको छ ।
सेनाले ‘एक्स’मार्फत सार्वजनिक सन्देश जारी गर्दै वायु प्रतिरक्षा प्रणालीले ती आक्रमणहरूलाई प्रतिकार गरिरहेको जनाएको छ ।
कुवेती सेनाले पनि नागरिकलाई सुरक्षा निकायका निर्देशन पालना गर्न र अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेको छ ।
मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण क्षेत्रीय सुरक्षामा थप चिन्ता बढेको छ ।


विश्व खबर 




















