images
images
  • जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक नगर्ने निष्कर्षमा सरकार, अब बालेनकै भर

    काठमाडौं- चौतर्फी दबाबबीच अन्तरिम सरकार अन्ततः जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक र कार्यान्वयन नगर्ने निष्कर्षमा पुगेको छ ।

    गत २३ र २४ भदौको घटना जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले गत २४ फागुनमा बुझाएको प्रतिवेदनलाई सरकारले गत १ चैतमा ग्रहण गरेको थियो ।

    मन्त्रिपरिषद् बैठक बसेर प्रतिवेदन ग्रहण र सार्वजनिक गर्ने संकल्प गरेको सुशीला कार्की नेतृत्वको सरकार प्रतिवदन नै सार्वजनिक नगर्ने निष्कर्षमा पुगेको हो ।

    प्रधानमन्त्रीका रूपमा शपथग्रहण गरेलगत्तै कार्कीले निर्वाचन गराउने मूल कार्यभारसँगै भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय संयन्त्र बनाउने र जेनजी आन्दोलन छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने बाचा गरेको थियो ।

    तर, प्रतिवेदन ग्रहण गरेको सरकारले सार्वजनिक र कार्यान्वयन दुबैबाट हात झिकेको छ ।

    प्रधानमन्त्री सचिवालयका अनुसार चुनाव गराउने कार्यभारसँगै सरकारले गत १ चैतको मन्त्रिपरिषद् बैठकमा गरेका निर्णयबाहेक ‘अब थप निर्णय नगर्ने’ भनेको हो ।

    गत १ चैतको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रतिनिधिसभा सदस्य नियुक्तिका लागि सिफारिस गर्ने, प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्राकृतिक संरक्षण कोषको अध्यक्ष नियुक्ति गर्नेजस्ता दूरगामी नीतिगत निर्णय गरेको थियो ।

    सरकारले कार्की आयोगको प्रतिवेदन भने ग्रहण गर्ने मध्यमार्गी भाषा प्रयोग गरेर पन्छिँदै आएकोमा नयाँ सरकार गठनका बेला भएको बहानामा कार्यान्वयन नगर्ने भनेको हो ।

    कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी अभियन्ताले सडकबाट दैनिक दबाब दिइरहेका छन् ।

    अब बालेनकै भर
    अन्तरिम सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक र कार्यान्वयन नगर्ने भनेपछि अब यही १३ चैतमा बन्ने सरकारलाई कुर्ने एकमात्र विकल्प बाँकी देखिएको छ ।

    १३ चैतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीका रूपमा शपथग्रहण गर्दै छन् । शपथग्रहण गरेकै दिन १८ सदस्यीय मन्त्रिपरिषद् गठन गरी पूर्णता दिने शाहको तयारी छ ।

    अन्तरिम सरकारले नयाँ सरकार देखाउँदै अन्तिम समय प्रतिवेदन सार्वजनिक र कार्यान्वयन नगरेपछि नयाँ बन्ने सरकारले पहिलो निर्णय नै प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र कार्यान्वयनमा लैजानुपर्ने जेनजी अभियन्ताले माग गरेका छन् ।

    रास्वपाले गरेको १०० बुँदे बाचापत्रमा समेत जेनजी आन्दोलनका लागि गठन भएको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने उल्लेख छ ।

    रास्वपाको बाचापत्रमा ‘२०८२ को भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको बल प्रयोगलगायत घटना छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख हुने सुझाव र सिफारिसलाई कार्यान्वयन गर्नेछौं,’ उल्लेख छ ।

    कार्की आयोगले अन्तरिम सरकारलाई यो प्रतिवेदन बुझाइसकेकाले रास्वपाको बाचापत्रअनुसार प्रतिवेदन कार्यान्वयन हुने आशा जागेको अभियन्ता बताउँछन् ।

    रास्वपाले बाचा पत्रमा प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता नजनाएको र कहिले सम्ममा कार्यान्वयन गर्ने भन्ने उल्लेख नगरेका कारण सडकमा खबरदारी भने निरन्तर गरिरहने उनीहरूको भनाइ छ ।

    रास्वपाका नेताहरूका अनुसार सरकार गठनको गृहकार्यसँगै आयोगको प्रतिवेदन कार्यान्वयन, मन्त्रीहरूको चयन, विगतका सरकारले गरेको राजनीतिक नियुक्तिको खारेजीलगायतका विषयमा आन्तरिक छलफल जारी छ ।

    सरकार गठन, जेनजी आन्दोलनपछि गठित आयोगको प्रतिवेदन कार्यान्वयन, विगतका सरकारले गरेका राजनीतिक प्रकृतिका नियुक्ति र ती नियुक्तिमा भएका दलीय भागबन्डालाई कसरी अन्त्य गर्ने भन्ने विभिन्न विकल्पमा छलफलमा छौं,’ रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी भन्छन्, ‘सरकार गठनसँगै एउटा निष्कर्षमा पुगेर तत्काल कार्यान्वयनमा लैजान्छौं ।’

    प्रतिवेदन किन लुकाइरहेको छ मानवअधिकार आयोग ?
    रा ष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनको दोस्रो दिन नै आन्दोलनमा भएको मानवअधिकार उल्लंघनका घटना अनुसन्धान गर्न समिति बनायो ।

    आयोग सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिले प्रतिवेदन बुझाउन ३ महिना म्याद पाए पनि चुनाव सकिएको लामो समयपछि गत शुक्रबारमात्र आयोग अध्यक्षलाई प्रतिवेदन बुझायो ।

    प्रतिवेदन ग्रहण गर्दै मानवअधिकार आयोग अध्यक्ष तपबहादुर मगरले भनेका थिए, ‘यो प्रतिवेदन तत्काल सार्वजनिक हुन्छ र प्रतिवेदनले औंल्याएका विषयमा कारबाही सिफारिससहित सरकारलाई भन्छौं ।’

    तर, थापा समितिले प्रतिवेदन बुझाएको ५ दिन बितिसक्दा पनि आयोगले सोमबार साँझसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन ।

    आयोगले बैठक बसेर प्रतिवेदन सार्वजनिक गर्ने र कार्यान्वयन गर्ने बाचा गरे पनि नयाँ सरकार कुर्ने नाममा प्रतिवेदन लुकाएर राखेको हो ।

    एक आयोग सदस्यका अनुसार आयोगको प्रतिवेदनले मानवअधिकार उल्लंघन अभियोगमा तत्कालीन सुरक्षा परिषद्का सबै सदस्य, जेलबाट बाहिर निकालिएका रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरका तत्कालीन मेयर तथा प्रधानमन्त्रीको शपथ कुरिरहेका बालेन शाहसहित सैयौँसँग सोधपुछ गरेर प्रतिवेदन तयार पारेको छ ।

    सोधपुछ गरिएकालाई आयोगले कुनै न कुनै रूपमा दोषी देखाएको तर चुनावी परिणामपछि जस्ताको तस्तै प्रतिवेदन सार्वजनिक गर्दा जनअनुमोदित व्यक्तिसमेत लाञ्छित हुने भएकाले आयोग प्रतिवेदन सार्वजनिक नगरी ‘पर्ख र हेर’को अवस्थामा पुगेको ती सदस्यको दाबी छ । -पत्रपत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images