images
images
  • कोलम्बियामा १२१ जना सवार सैनिक विमान दुर्घटना : ७७ जना घाइते, ४३ जनाको अवस्था बेखबर

    काठमाडौं- कोलम्बियाको दक्षिणी क्षेत्रमा १२१ जना सवार एउटा सैन्य विमान उड्ने बित्तिकै दुर्घटनामा परेको छ।

    पुटुमायो प्रान्तको पुएर्टो लेगुइजामोमा भएको यस दुर्घटनामा कम्तीमा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन्।

    रक्षा मन्त्री पेड्रो सान्चेजले अमेजन क्षेत्रको दुर्गम इलाकामा भएको यस घटनालाई ‘भयानक दुर्घटना’ को संज्ञा दिएका छन्।

    राष्ट्रपति गुस्ताभो पेट्रोका अनुसार दुर्घटनामा ७७ जना घाइते भएका छन् भने अन्य ४३ जनाको अवस्था अझै स्पष्ट हुन सकेको छैन।

    विमानमा ११० सैनिक र ११ जना चालक दलका सदस्य गरी कुल १२१ जना सवार थिए।

    हर्कुलिस सी–१३० मोडलको उक्त विमानले सैनिकहरूलाई पुटुमायो प्रान्तकै अर्को सहरमा लैजाँदै गर्दा विमानस्थलबाट मात्र दुई किलोमिटरको दूरीमा समस्या आएर भुइँमा खसेको थियो।

    वायुसेना कमाण्डर कार्लोस फर्नान्डो सिल्भाले दुर्घटनाको स्पष्ट कारण खुल्न नसकेको बताएका छन्।

    घाइतेहरूको उद्धारका लागि राजधानी बोगोटा र अन्य क्षेत्रबाट शय्यासहितका दुईवटा विशेष विमान घटनास्थल पठाइसकिएको छ।

    कोलम्बियाले सन् १९६० को दशकदेखि हर्कुलिस विमान प्रयोग गर्दै आएको छ र हालैका वर्षहरूमा अमेरिकाको सहयोगमा पुराना विमानहरूलाई आधुनिकीकरण समेत गरेको थियो। गत महिना मात्रै बोलिभियामा पनि यस्तै प्रकारको विमान दुर्घटना भएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images