काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ को उल्लङ्घन गरेको भन्दै १५ वटा व्यावसायिक फर्ममाथि कारबाही गरेको छ ।
विभागले आज अनुगमनका क्रममा ऐन विपरीत कार्य गरेकाले तीन फर्मलाई नगद जरिवाना र १२ फर्मलाई सामान्य निर्देशन दिइएको जनाएको छ ।
बजार अनुगमनका क्रममा विभिन्न किसिमका त्रुटिहरू भेटिएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ ।
ललितपुर महानगरपालिका-२२, बुंगमतीको सुवा ग्रोसरीले उपभोक्तालाई हानि पुर्याउने गरी विषादी वा रसायनको प्रयोग भएको वस्तु बिक्री गरेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।
यस्तै ललितपुर महानगरपालिका-१८, मगर गाउँको प्रमिसा खाद्यान्न स्टोरलाई वस्तु वा सेवाको वास्तविक लागतभन्दा बढी मूल्यमा बिक्री गरेको पाइएपछि १० हजार रुपैयाँ जरिवाना गरेको छ ।
सूर्यविनायक नगरपालिका-६, पाण्डु बजारको ए जे सप्लायर्सलाई पनि वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, लुकाई, छिपाई वा झुक्याई बिक्री गरेको पाइएपछि १० हजार रुपैयाँ जरिवाना तिराएको छ ।
साथै विभागले अनुगमनका क्रममा केही सामान्य त्रुटिहरू भेटिएका १२ वटा व्यावसायिक फर्महरूलाई भने सचेत गराउँदै तत्काल सुधार गर्न सामान्य निर्देशन मात्र दिएको छ।























