काठमाडौं– साढे तीन वर्षअघि माओवादी केन्द्रले ‘अध्यारोबाट उज्यालोको यात्रा’ नारा दिँदै कुलमान घिसिङको तस्बिर पोस्टरमा राखे पनि आलोचनापछि हटाएको थियो ।
त्यतिबेला उनलाई स्वतन्त्र उम्मेदवारका रूपमा अघि सार्ने प्रयास सफल भएन ।
अहिले घिसिङ स्वयं ‘उज्यालो नेपाल पार्टी’ गठन गरेर काठमाडौं–३ बाट चुनावी मैदानमा छन्, तर उनको लोकप्रियता पहिले जस्तो देखिँदैन ।
लोडसेडिङ अन्त्यमा भूमिका खेलेर चर्चित बनेका घिसिङ मन्त्री बनेपछि राजनीतिक महत्वाकांक्षामा सक्रिय देखिए ।
रास्वपासँग हतारमा एकता गरेर १२ दिनमै छुट्टिएपछि उनीमाथि अस्थिर निर्णयको आरोप लाग्यो ।
पार्टी संस्थागत गर्न नसकेको, ग्राउन्ड राजनीति नबुझेको र संगठन कमजोर रहेको टिप्पणी भइरहेका छन् ।
उज्यालो नेपाल पार्टीले देशभर १२० क्षेत्रमा उम्मेदवार उठाए पनि धेरै स्थानमा अवस्था कमजोर छ ।
काठमाडौं–३ मा कांग्रेस, एमाले, रास्वपा लगायतसँग घिसिङको प्रतिस्पर्धा छ ।
यस क्षेत्रमा हरेक निर्वाचनमा फरक दल विजयी हुने प्रवृत्ति रहेकाले यसपटक पनि कडा प्रतिस्पर्धा देखिएको छ ।
घिसिङको मुख्य चुनौती भनेको संगठनको कमजोरी र रास्वपासँगको मिलन–विछोडबारे स्पष्ट जवाफ दिन नसक्नु बनेको छ ।























