काठमाडौं – दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा लगातार दोस्रो हार बेहोरेपछि लुम्बिनी प्रदेश समूह चरणबाटै बाहिरिएको छ । बिहीबार भएको खेलमा मधेश प्रदेशसँग पाँच विकेटले पराजित भएपछि लुम्बिनीको प्रतियोगितामा अघि बढ्ने सम्भावना समाप्त भएको हो । यसअघि लुम्बिनी पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग पराजित भएको थियो ।
वीरेन्द्रनगरस्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७९ रन बनाएको थियो । लुम्बिनीका लागि ओपनर ऋतु रावलले ५६ बलमा पाँच चौकासहित अविजित ४१ रन बनाइन् । सीमा थापाले १० रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा मधेशकी सुस्मिता यादवले चार ओभरमा २० रन खर्चेर चार विकेट लिइन् । रोजी कडारीले दुई तथा कप्तान पूजा महतोले एक विकेट हात पारिन् । ८० रनको सामान्य लक्ष्य मधेशले १२।४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । मधेशकी ओपनर एलिषा यादवले ३६ बलमा आठ चौकासहित सर्वाधिक ४२ रन बनाइन् । कप्तान पूजा महतोले १५ र अनुराधा चौधरीले सात रनको योगदान दिइन् । लुम्बिनीका तर्फबाट सरु तिवारीले तीन तथा सुस्मिता भुषाल र सरस्वती पुनले एक–एक विकेट लिए । चार विकेट लिएकी मधेशकी सुस्मिता यादव खेलको प्लेयर अफ द म्याच घोषित भइन् ।






















