images
images
  • ट्रम्पको ‘अवैध युद्ध’ र भन्सार शुल्कले थ्याङ्क्सगिभिङ पर्वको खर्च बढेको अमेरिकी सिनेटरको आरोप

    काठमाडौं– अमेरिकी सिनेटर क्रिस भान होलेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि चलाएको युद्ध र भन्सार शुल्क (ट्यारिफ) का कारण खाद्यान्नको मूल्य बढेको आरोप लगाएका छन्। उनले थ्याङ्क्सगिभिङ पर्व मनाउने तयारीमा रहेका अमेरिकी परिवारले महँगीको थप मार खेप्नुपरेको बताएका छन्।

    थ्याङ्क्सगिभिङको अवसरमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोमा भान होलेनले धेरै अमेरिकी उपभोक्ता बजारमा सामानको मूल्य देखेर आश्चर्यचकित हुने गरेको बताएका छन्। उनका अनुसार खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढिरहेको छ।

    अमेरिकन फार्म ब्युरो फेडरेसनको तथ्यांक उद्धृत गर्दै उनले गत वर्षको तुलनामा यस वर्ष थ्याङ्क्सगिभिङ भोजको औसत खर्च ६ प्रतिशतले बढेको बताए।

    त्यस्तै टर्कीको मूल्य मात्रै १० प्रतिशतले वृद्धि भएको उनको भनाइ छ। ‘हामीलाई थाहा छ, यस्तो किन भइरहेको छ’, उनले भनेका छन्।

    उनले ट्रम्पले इरानमाथि चलाएको अवैध युद्धका कारण वस्तु तथा सेवाको मूल्य बढिरहेको र विभिन्न देशमाथि लगाइएको भन्सार शुल्कसम्बन्धी व्यापार युद्धले महँगीलाई थप बढाएको आरोप लगाए।

    सिनेटर भान होलेनले ट्रम्प र उनका धनी सहयोगीहरू भने सर्वसाधारण अमेरिकी परिवारले सामना गरिरहेको आर्थिक दबाबबाट अलग रहेको टिप्पणी गरेका छन्।

    उनले हालै सम्पन्न अमेरिकी निर्वाचनपछि राजनीतिक रूपमा सक्रिय भएर जनताका पक्षमा काम गर्ने समय आएको पनि बताएका छन्। ‘अब हामी सबैले आफ्नो जिम्मेवारी पूरा गर्ने समय आएको छ’, उनले भनेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images