काठमाडौं – आन्तरिक राजस्व विभागले व्यावसायिक कारोबारमा वास्तविक मूल्यअनुसार बिल बिजक जारी गर्न करदातालाई निर्देशन दिएको छ । बजार मूल्यभन्दा कम रकमको बिल जारी गरी न्यून बिजकीकरण गर्ने प्रवृत्ति देखिएपछि विभागले ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
विशेषगरी निर्माण क्षेत्रलगायत केही क्षेत्रमा वास्तविक कारोबार मूल्यभन्दा कमको बिल जारी भइरहेको जानकारी प्राप्त भएपछि विभागले करदातालाई सचेत गराएको हो । निर्देशन पालना नगर्नेमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले चेतावनी दिएको छ ।
विभागका अनुसार मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १३ ले व्यावसायिक कारोबारमा बिल बिजक जारी गर्नुपर्ने व्यवस्था गरेको छ । तर केही करदाताले बजार मूल्यअनुसार कारोबार नदेखाई न्यून बिजकीकरण वा अवास्तविक बिजकीकरण गरिरहेको पाइएको विभागले जनाएको छ ।
यसरी वास्तविक कारोबार मूल्य लुकाउँदा कारोबारको आकार कम देखिने र सरकारले प्राप्त गर्नुपर्ने राजस्वमा समेत असर पर्ने विभागको भनाइ छ । त्यसैले कारोबार भएको वास्तविक मूल्य नै बिल बिजकमा उल्लेख गर्न विभागले सबै करदातालाई आग्रह गरेको छ ।
यसैबीच, विभागले मूल्य अभिवृद्धि कर (भ्याट) छुटसम्बन्धी अन्योल स्पष्ट पार्दै अर्को सार्वजनिक सूचना पनि जारी गरेको छ ।
आर्थिक ऐन, २०८३ ले मूल्य अभिवृद्धि कर ऐनको अनुसूची–१ मा संशोधन गरेपछि काठजन्य वस्तुको भ्याट छुटबारे अन्योल देखिएको थियो । विशेषगरी अनुसूचीको समूह ११ अन्तर्गत शीर्षक ४४.०१ मा समेटिएका सबै वस्तुले भ्याट छुट पाउने वा नपाउने भन्ने विषयमा डिभिजन वन कार्यालय, ब्रिकेट तथा पेलेट उत्पादन गर्ने उद्योग र सर्वसाधारणमा द्विविधा देखिएको थियो ।
विभागले चार अङ्कको एचएस कोडको शीर्षक उल्लेख हुँदैमा त्यसअन्तर्गत पर्ने सबै वस्तुले कर छुट नपाउने स्पष्ट पारेको छ । आठ अङ्कको एचएस कोडको उपशीर्षकमा स्पष्ट रूपमा किटान गरिएका वस्तु तथा सेवाले मात्र छुट पाउने विभागको भनाइ छ ।
शीर्षक ४४.०१ अन्तर्गत बाल्ने दाउरा, मुढा, काठका चोइटा, मसिना टुक्रा, काठको धुलो, अवशेष तथा रद्दी वस्तुका साथै ब्रिकेट र पेलेटसमेत पर्छन् । तर आर्थिक ऐन, २०८३ ले यीमध्ये उपशीर्षक ४४०१.३२.०० अन्तर्गत पर्ने ‘काठको ब्रिकेट’ मा मात्र भ्याट छुट दिएको विभागले जनाएको छ ।
यसअनुसार दाउरा, मुढा, काठको धुलो, काठका टुक्रा तथा काठको पेलेट बिक्री गर्दा भ्याट लाग्नेछ । ब्रिकेट र पेलेट दुवै उत्पादन गर्ने उद्योगले यी दुई वस्तुको कर व्यवहार फरक रहेको विषयमा विशेष ध्यान दिनुपर्ने विभागले जनाएको छ ।
विभागका यी सूचनाले करदातालाई वास्तविक कारोबार मूल्यअनुसार बिल जारी गर्न र भ्याट छुटको दाबी गर्नुअघि वस्तुको एचएस कोड तथा उपशीर्षक यकिन गर्न सचेत गराएका छन् । एउटै चार अङ्कको शीर्षकमा समेटिएको आधारमा सबै वस्तुलाई कर छुटको दायरामा राख्न नपाइने विभागको स्पष्टोक्ति छ ।






















