images
images
  • तेलको पुनः निर्यातभन्दा बलिया नेपाली उत्पादनः चार महिनामा ६५ अर्बको स्वदेशी वस्तु निर्यात

    काठमाडौं – नेपालको कुल निर्यातमा भटमास, सूर्यमुखी र पाम तेलको पुनः निर्यातले आधाभन्दा बढी हिस्सा ओगटेको छ । तर, यही अवधिमा नेपालले आफ्नै कृषि उत्पादन, वन पैदावार, हस्तकला, घरेलु सीप र उद्योगबाट उत्पादित ६५ अर्ब २७ करोड रुपैयाँ बराबरका वस्तु अन्तर्राष्ट्रिय बजारमा पुर्‍याएको छ । गलैंचा, छुर्पी, अलैंची, फेल्ट, पश्मिना, प्लाइउड, सिन्थेटिक धागोदेखि औषधी र आँखाको लेन्ससम्मका उत्पादनले नेपाली वस्तुको अन्तर्राष्ट्रिय बजारमा बढ्दो उपस्थिति देखाएका छन् ।

    चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना अर्थात् साउनदेखि कात्तिकसम्म नेपालको कुल निर्यात ४३.४८ प्रतिशतले बढेर एक खर्ब ३४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार अर्जेन्टिना, ब्राजिललगायतका मुलुकबाट कच्चा तेल आयात गरी प्रशोधनपछि भारत निर्यात गरिने भटमास, सूर्यमुखी र पाम तेलले कुल निर्यातको ५१.३५ प्रतिशत हिस्सा ओगटेका छन् । चार महिनामा मात्रै ६८ अर्ब ८८ करोड रुपैयाँ बराबरका तेलजन्य वस्तु निर्यात भएका छन् ।

    तर, नेपालको निर्यातलाई तेलको पुनः निर्यातसँग मात्रै जोडेर हेर्न मिल्दैन । यही अवधिमा नेपालले आफ्नै उत्पादन र स्वदेशी उद्योगमा आधारित ६५ अर्ब २७ करोड रुपैयाँ बराबरका गैरतेलजन्य वस्तु निर्यात गरेको छ । यीमध्ये कैयौँ वस्तुको आयातभन्दा निर्यात बढी छ । यसले केही उत्पादनमा नेपालले वास्तविक व्यापार नाफा कमाइरहेको र स्वदेशी उत्पादनको अन्तर्राष्ट्रिय बजारमा सम्भावना रहेको देखाउँछ ।

    अमेरिकामा नेपाली छुर्पीको माग, गलैंचाबाट चार अर्बभन्दा बढी व्यापार नाफा

    नेपाली पशुपालन र परम्परागत सीपमा आधारित उत्पादनले अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान बनाउँदै लगेका छन् । विशेषगरी छुर्पी, गलैंचा, फेल्ट र पश्मिनाको निर्यातले स्वदेशी उत्पादनको सम्भावना देखाएको छ ।

    चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट आठ लाख ५८ हजार ८३४ किलो छुर्पी निर्यात भएको छ । यसको मूल्य एक अर्ब ६४ करोड १५ लाख रुपैयाँ छ । नेपाली छुर्पीको सबैभन्दा ठूलो बजार अमेरिका बनेको छ । अमेरिकाले मात्रै एक अर्ब ४२ करोड २१ लाख रुपैयाँ बराबरको छुर्पी खरिद गरेको छ, जुन कुल छुर्पी निर्यातको करिब ८७ प्रतिशत हो । क्यानडाले १३ करोड ८२ लाख र बेलायतले दुई करोड ८३ लाख रुपैयाँ बराबरको छुर्पी खरिद गरेका छन् । जापान र युरोपेली मुलुकमा पनि यसको बजार विस्तार भइरहेको छ ।

    नेपालको परम्परागत दुग्धजन्य उत्पादन छुर्पी विदेशमा विशेषगरी कुकुर तथा बिरालोका लागि बनाइने आहारका रूपमा लोकप्रिय हुँदै गएको छ । स्थानीय स्तरमा उत्पादित दूधलाई प्रशोधन गरी उच्च मूल्यको वस्तुका रूपमा निर्यात गर्न सके यसले ग्रामीण अर्थतन्त्र र पशुपालन व्यवसायलाई समेत टेवा पुर्‍याउन सक्छ ।

    गलैंचा नेपाललाई सबैभन्दा बढी व्यापार नाफा दिलाउने उत्पादनमध्ये एक हो । चार महिनामा नेपालले चार अर्ब ३६ करोड रुपैयाँ बराबरको गलैंचा निर्यात गर्दा आयात भने २४ करोड ७५ लाख रुपैयाँको मात्रै गरेको छ । यसबाट गलैंचा व्यापारमा चार अर्ब ११ करोड रुपैयाँ खुद व्यापार नाफा भएको छ । यस अवधिमा करिब तीन अर्ब ९० करोड रुपैयाँ बराबरका हातले बुनेका ऊनी गलैंचा अमेरिका, जर्मनी, बेलायत, फ्रान्स र अस्ट्रेलियालगायतका देशमा निर्यात भएका छन् ।

    गलैंचा उद्योगले नेपाली श्रम, परम्परागत सीप र हस्तकलालाई अन्तर्राष्ट्रिय बजारसँग जोडेको छ । यसले रोजगारी सिर्जना गर्नुका साथै विदेशी मुद्रा आर्जनमा पनि योगदान दिँदै आएको छ । त्यस्तै, भेडाको ऊनबाट तयार गरिने फेल्टजन्य सजावटी सामग्री, उपहार तथा हस्तकलाका वस्तुबाट चार महिनामा दुई अर्ब ७० करोड रुपैयाँ बराबरको निर्यात भएको छ। यस क्षेत्रमा करिब एक अर्ब ८० करोड रुपैयाँ व्यापार नाफा रहेको छ ।

    ऊन तथा पश्मिनाका सल र स्कार्फ एक अर्ब ४९ करोड रुपैयाँ बराबरका निर्यात भएका छन् भने क्यास्मिर स्वेटरको निर्यात ८० करोड ३६ लाख रुपैयाँ पुगेको छ । ध्यान तथा संगीतमा प्रयोग हुने सिंगिङ बाउललगायतका बाजागाजाको निर्यात पनि ३७ करोड ८४ लाख रुपैयाँ पुगेको छ । नेपाली हस्तकलाका उत्पादनमा गुणस्तर, डिजाइन र ब्रान्डिङमा ध्यान दिन सके अन्तर्राष्ट्रिय बजारमा थप मूल्य प्राप्त गर्न सकिने सम्भावना छ।

    अलैंची, चिया र वन पैदावारबाट विदेशी मुद्रा

    कृषि तथा वन पैदावारमा आधारित उत्पादनले पनि नेपालको निर्यातमा उल्लेखनीय योगदान दिएका छन् । पूर्वी पहाडी जिल्लामा उत्पादन हुने अलैंची लामो समयदेखि नेपालको प्रमुख निर्यातजन्य कृषि वस्तुका रूपमा रहँदै आएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले दुई हजार २६६ टन अलैंची निर्यात गरेको छ । यसको मूल्य तीन अर्ब ४४ करोड रुपैयाँ छ ।

    त्यस्तै, कालो तथा ग्रिन चियाको निर्यात करिब एक अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने अदुवा करिब ३० करोड रुपैयाँ बराबरको निर्यात भएको छ। समग्रमा कफी, चिया तथा मसलासम्बन्धी समूहबाट पाँच अर्ब ७९ करोड रुपैयाँ बराबरको निर्यात भएको छ। आयात घटाउँदा यस समूहबाट नेपालले करिब एक अर्ब ६० करोड रुपैयाँ व्यापार नाफा कमाएको छ।

    अलैंची, चिया र अदुवाको निर्यात थप विस्तार गर्न उत्पादनको गुणस्तर, प्रशोधन, प्याकेजिङ र अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्रान्डको पहिचान बढाउनुपर्ने देखिन्छ । व्यवस्थित बजार तथा अक्सन प्रणाली विकास गर्न सके किसानले उत्पादनको उचित मूल्य पाउने सम्भावना पनि बढ्छ ।

    नेपालको वन तथा काठजन्य उद्योगले पनि निर्यात व्यापारमा योगदान दिन थालेको छ । चार महिनामा काठजन्य उत्पादन तीन अर्ब ३८ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । यसमा दुई अर्ब ५९ करोड रुपैयाँ बराबरको प्लाइउड र ७२ करोड रुपैयाँको भेनियर सिट छन् । काठजन्य उत्पादनको आयातभन्दा निर्यात बढी हुँदा यस क्षेत्रबाट करिब एक अर्ब ५२ करोड रुपैयाँ व्यापार नाफा भएको छ ।

    त्यस्तै, कत्था, अम्रिसोको कुचो, लोक्ता तथा अर्गेलीजस्ता वनस्पतिजन्य उत्पादनबाट चार महिनामा एक अर्ब ३७ करोड रुपैयाँ आम्दानी भएको छ । यस समूहमा करिब एक अर्ब ३२ करोड रुपैयाँ व्यापार नाफा रहेको छ । उच्च मूल्यको हिमाली जडीबुटी यार्चागुम्बा २१९ किलो निर्यात हुँदा १३ करोड ७७ लाख रुपैयाँ विदेशी मुद्रा भित्रिएको छ । यस्ता उत्पादनको व्यवस्थित संकलन, प्रशोधन र दिगो उपयोग गर्न सके ग्रामीण तथा हिमाली क्षेत्रको आम्दानी बढाउन सकिन्छ ।

    सिन्थेटिक धागो, जुट र तयारी खाद्यवस्तुको निर्यात

    नेपालको निर्यात कृषि र हस्तकलामा मात्रै सीमित छैन । स्वदेशी उद्योगबाट उत्पादित धागो, जुटका सामग्री, तयारी खाद्यवस्तु तथा औषधीले पनि अन्तर्राष्ट्रिय बजारमा स्थान बनाउँदै लगेका छन् ।

    नेपालका उद्योगले उत्पादन गर्ने पोलिएस्टर तथा एक्रेलिक धागोको निर्यात चार महिनामा पाँच अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। यस समूहमा आयात घटाउँदा पनि नेपाल करिब दुई अर्ब २१ करोड रुपैयाँ व्यापार नाफामा छ। यसले कच्चा पदार्थ प्रशोधन र उत्पादनमूलक उद्योगको सम्भावना देखाउँछ ।

    पूर्वी तराईमा सञ्चालित जुट उद्योगबाट उत्पादित बोरा, सुतली र कपडाको निर्यात तीन अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। यसबाट करिब ७९ करोड २५ लाख रुपैयाँ व्यापार नाफा भएको छ । वातावरणमैत्री प्याकेजिङ सामग्रीका रूपमा जुटका उत्पादनको अन्तर्राष्ट्रिय बजारमा माग विस्तार हुन सक्ने सम्भावना छ ।

    नेपाली तयारी खाद्यवस्तु पनि विदेशमा बिक्री हुने क्रम बढेको छ। चालु आर्थिक वर्षको पहिलो चार महिनामा १० हजार ८५८ टन चाउचाउ तथा पास्ता निर्यात भएको छ। यसको कुल मूल्य एक अर्ब ७७ करोड रुपैयाँ छ। विदेशमा रहेका नेपाली समुदायलाई लक्षित गरी सुरु भएको बजार विस्तार अन्य उपभोक्तासम्म पुग्ने सम्भावना पनि छ। खाद्य गुणस्तर र अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादन गर्न सके नेपाली तयारी खाद्यवस्तुको निर्यात अझ बढ्न सक्छ।

    प्रशोधित खाद्यवस्तुको निर्यातमा फलफूलको जुस तथा अन्य पेय पदार्थको योगदान पनि उल्लेखनीय छ। चार महिनामा यस समूहबाट दुई अर्ब ५९ करोड रुपैयाँ बराबरको निर्यात भएको छ। आयात घटाउँदा यस क्षेत्रले करिब एक अर्ब ५३ करोड रुपैयाँ व्यापार नाफा दिएको छ। यसले नेपालमा उत्पादित फलफूललाई कच्चा अवस्थामै बिक्री गर्नुको सट्टा प्रशोधन गरेर जुस तथा तयारी पेय पदार्थका रूपमा निर्यात गर्न सकिने सम्भावना देखाउँछ।

    नेपाली औषधी अफ्रिकासम्म, आँखाको लेन्स प्रशान्त क्षेत्रसम्म

    नेपालले निर्यात गरिरहेका उत्पादनमध्ये औषधी र चिकित्सा क्षेत्रमा प्रयोग हुने सामग्रीको निर्यात पनि उल्लेखनीय छ । यसले नेपालले परम्परागत कृषि तथा हस्तकलाका वस्तु मात्रै नभई प्रविधिमा आधारित उत्पादनसमेत विश्वबजारमा पुर्‍याउन थालेको संकेत गर्छ ।

    आयुर्वेदिक औषधी, च्यवनप्राश तथा एलोपेथिक औषधीसमेत समेटिएको औषधी समूहबाट चार महिनामा ७७ करोड २८ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । नेपाली औषधी भारतबाहेक अफ्रिकी मुलुकसम्म पुगेको छ । यस अवधिमा नाइजरमा मात्रै तीन करोड ८१ लाख रुपैयाँ बराबरको औषधी निर्यात भएको छ भने तान्जानियालगायतका देशमा पनि नेपाली औषधी पुगेको छ । औषधी उद्योगको निर्यात विस्तारका लागि गुणस्तर प्रमाणीकरण, उत्पादन मापदण्ड र नियामकीय स्वीकृति महत्वपूर्ण हुने भएकाले यस क्षेत्रमा सम्भावनासँगै चुनौती पनि छन् ।

    चिकित्सा प्रविधिसँग जोडिएको अर्को उल्लेखनीय उत्पादन मोतीबिन्दुको शल्यक्रियामा प्रयोग हुने इन्ट्राअकुलर लेन्स हो । चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट एक लाख ५२ हजार २३७ थान आँखाको लेन्स निर्यात भएको छ । यसको कुल मूल्य सात करोड ९२ लाख रुपैयाँ छ । यी लेन्समध्ये पाकिस्तानमा मात्रै छ करोड ४७ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । त्यस्तै, बंगलादेश, श्रीलंका, फिजी र सोलोमन आइल्यान्डसम्म नेपाली लेन्स पुगेका छन् । यसले निश्चित क्षेत्रमा नेपाली उद्योगले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गरिरहेको देखाउँछ ।

    भारत र चीनसँग ठूलो व्यापार घाटा, केही मुलुकसँग नाफा

    नेपालको समग्र वैदेशिक व्यापारमा भारत र चीनसँगको व्यापार घाटा ठूलो छ । चार महिनामा भारतसँगको कुल व्यापार तीन खर्ब ४९ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ भने चीनसँगको व्यापार एक खर्ब ६३ अर्ब २६ करोड रुपैयाँ रहेको छ । तर, सबै मुलुकसँग नेपालको व्यापार घाटा मात्रै छैन । नेपाली उत्पादनको निर्यातका कारण केही देशसँग नेपाल व्यापार नाफामा पनि रहेको छ ।

    उपलब्ध तथ्याङ्कअनुसार डेनमार्कसँग नेपालले १८ करोड सात लाख रुपैयाँ व्यापार नाफा कमाएको छ । त्यस्तै, प्युर्टो रिकोसँग १७ करोड ११ लाख, नेदरल्यान्ड्ससँग आठ करोड २२ लाख, नर्वेसँग पाँच करोड ८५ लाख र नाइजरसँग तीन करोड ८१ लाख रुपैयाँ व्यापार नाफा रहेको छ । अस्ट्रिया र आइसल्यान्डलगायतका मुलुकसँग पनि नेपाल व्यापार नाफामा छ ।

    नेपालको दोस्रो ठूलो निर्यात गन्तव्यका रूपमा रहेको अमेरिकामा चार महिनामा सात अर्ब ८५ करोड रुपैयाँ बराबरका नेपाली वस्तु निर्यात भएका छन् । यी तथ्याङ्कले नेपाली उत्पादनका लागि परम्परागत व्यापारिक साझेदारबाहेक युरोप, अमेरिका, अफ्रिका र अन्य क्षेत्रका बजारमा पनि सम्भावना रहेको देखाउँछन् ।

    चार महिनाको निर्यात तथ्याङ्कले नेपालसँग अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सक्ने उत्पादनको विविधता रहेको देखाएको छ । छुर्पी, गलैंचा, अलैंची, पश्मिना, फेल्ट, प्लाइउड, जुट, औषधी र आँखाको लेन्ससम्मका उत्पादनले नेपालको निर्यात सम्भावनालाई फराकिलो बनाएका छन् । तर, उत्पादन हुनु मात्रै पर्याप्त छैन । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गुणस्तर, उत्पादनको निरन्तरता, लागत, प्याकेजिङ, प्रमाणीकरण र ब्रान्डिङमा ध्यान दिन आवश्यक छ ।

    अलैंची र चियाका लागि व्यवस्थित बजार तथा अक्सन प्रणाली विकास गर्न सके किसानले उचित मूल्य पाउन सक्छन् । छुर्पी, गलैंचा र पश्मिनालाई अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्न सके तिनको बजार मूल्य र माग दुवै बढ्न सक्छ । त्यस्तै, प्लाइउड, जुस, औषधी र चिकित्सा सामग्री उत्पादन गर्ने उद्योगलाई गुणस्तर प्रमाणीकरण, प्रविधि हस्तान्तरण र निर्यात बजार विस्तारमा सहयोग आवश्यक छ ।

    नेपालले कच्चा पदार्थ मात्रै निर्यात गर्ने अवस्थाबाट बाहिर निस्केर स्वदेशमै प्रशोधन, उत्पादन र मूल्य अभिवृद्धि गर्न सके निर्यातबाट प्राप्त हुने आम्दानी अझ बढाउन सक्छ । अहिले कुल निर्यातको आधाभन्दा बढी हिस्सा तेलजन्य वस्तुले ओगटेको भए पनि बाँकी हिस्सामा नेपाली उत्पादन, सीप र उद्योगको सम्भावना स्पष्ट देखिएको छ । यही सम्भावनालाई व्यवस्थित रूपमा विस्तार गर्न सके नेपालको निर्यात व्यापारलाई पुनः निर्यातमा निर्भर नराखी स्वदेशी उत्पादनमा आधारित बनाउन सकिने आधार छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images